Logo

राजनीति

विमानस्थलको नाममा नेपालको सुरक्षा व्यवस्थामा भारत प्रवेश गर्नसक्ने ‘२५ प्लस समूह’को चेतावनी 



नेपालका पूर्व सचिव र उच्च सुरक्षाकर्मीसहितको ‘२५ प्लस समूह’ समूहले नेपालको सुरक्षा व्यवस्थामा भारत प्रवेश गर्नसक्ने चेतावनी दिएको छ ।  यस समूहले त्रिभुवन विमानस्थलमा उर्जा प्लान्ट जडान भारतलाई दिने निर्णयको विरोध गर्दै यही माध्यमबाट नेपालको सुरक्षा व्यवस्थामा भारत प्रवेश गर्न सक्ने चेतावनी दिएको हो ।

भारतले यसअघि पनि नेपालको विमानस्थलमा आफ्नो सुरक्षा उपस्थिती चाहेको उल्लेख गर्दै  २५ प्लस समूहले पछिल्लो निर्णयले देशको सार्वभौमिक सुरक्षा र भौगोलिक अखण्डता झन झन जोखिममा पर्न सक्ने जनाएको छ ।

समूहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सामरिक उद्देश्यलाई हासिल गर्न भारतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्थामा छिर्न विमानस्थलनिम्ति सौर्य उर्जा प्लान्ट जडान गर्ने कार्ययोजना काम चलाउ उर्जामन्त्रिहरुद्धारा नेपाल विधुत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यमार्फत भारतको नेसनल पावर कर्पोरेसन लिमिटेडसँग भएको कथित समझधारीपत्रमा हस्ताक्षरसमेत भइसकेको भनेर मिडियामा आइसकेको छ ।”
 
समूहले यो समझदारी पछाडि भारतीय नियतबारे पनि बुँदागत स्पष्ट पारेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन्चार उपकरणसहितका सौर्य उर्जा प्लान्ट जडान गरि नेपालभित्र र नेपालका परराष्ट्र, आर्थिक र सुरक्षा सम्बन्धमा छिर्ने, नेपालको सबै जलविधुत् र उर्जा क्षेत्रको परामर्शदातामा एकाधिकार कायम राख्ने, पहिला विदेशी निम्ति निषेध गरिएको र नेपाललाई सेन्ट्रल एसियासँग जोड्ने नेपालको सामरिक रहँदै आएको मुस्ताङ जिल्लामा उर्जा र जलविधुत् प्लान्ट स्थापना गरि त्यहाँबाट चिनियाँ गतिविधि नजिकबाट नियमित नियाल्नेलगायत भारतीय नियत रहेको २५ प्लस समूहको दाबी छ ।

समूहमा पूर्व जलस्रोत सचिव भुवनेश्वरकुमार प्रधान, पूर्व सचिव शरदचन्द्र पौडेल, राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख देविरमण शर्मा, अख्तिायर दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सुर्यनाथ उपाध्याय, सर्वोच्च अदालतका पूर्व रजिष्ट्रार श्रीप्रसाद पण्डित, तत्कालिन राज दरबारका पूर्व सचिव चिरनशमसेर थापा, पूर्व सैनिक सचिव विवेक शाहसहित वरिष्ट पत्रकार आदित्यमान श्रेष्ठलगायत छन् ।

तर, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र शाक्यले भने विमानस्थलमा सोलार तथा वैकल्पिक उर्जा प्लान्ट जडान गर्ने विषयमा भारतसँग कुनै सम्झौता नभएको प्रष्ट पारेका छन् । उनले सोमबार विभिन्‍न सामाजिक अभियन्ताहरुसँगको कुराकानीमा भने, “सार्वजनिक भएको डकुमेन्टको कुनै बुँदामा विमानस्थल भन्‍ने शब्द प्रयोग गरिएको छैन । भारतले चासो राखेको भए पनि हामीले त्यसलाई पन्छाएका हौं । सोलार र वैकल्पिक उर्जाका विषयमा छलफल भएको हो । विमानस्थलको बारेमा कुनै पनि सम्झौता भएको छैन ।” 

प्रकाशित मिति : १ असार २०७८, मंगलवार ११:३३   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।