लगातारकाे झरीले मुलुकका कयाैं जिल्लामा बाढीपहिराेका घटना बढ्न थालेपछि सरकारले अलर्ट जारी गरेकाे छ। जल तथा माैसम विज्ञान विभाग र राष्ट्रिय विपद् जाेखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले क्रमश: सचेत रहन र पूर्वतयारी, प्रतिकार्यका लागि अलर्ट जारी गरेका हुन्।
२८ जेठमा भित्रिएकाे मनसुनले डेढ दर्जन जिल्लामा बाढीपहिराे निम्त्याइसकेकाे छ। बुधबार पनि कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका केही ठाउँमा भारी र अतिभारी पानी पर्ने आँकलन गरिएकाे छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार पनि देशभर पानी पर्नेछ । त्यसमा पनि ती प्रदेशमा धेरै पानी पर्ने भएकाले सचेत रहन भनिएकाे छ।
‘पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाले भनेकाे छ।
बुधबार बिहान गण्डकी, लुम्बिनी प्रदेशका अधिकांश र बाँकी प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ ।
दिउँसाे देशभर बदली रहनेछ भने देशका अधिकांश स्थानमा वर्षाको सम्भावना छ। कर्णाली प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना र लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेकाे छ।
बिहीबार पनि देशका अधिकांश स्थानमा वर्षा हुनेछ। सुदूरपश्चिम, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। साेही राति सुदूरपश्चिम, प्रदेश १ र बागमती प्रदेशमा ठूलाे पानी पर्ने आँकलन गरिएकाे छ।
महाशाखाका अनुसार शुक्रबार पनि देशका अधिकांश स्थानमा पानी पर्नेछ।















प्रतिक्रिया