Logo

निरन्तर हावाहुरी, पानीका कारण बेपत्ता सात जनाकाे खोजी अझै हुन सकेन, जाजरकाेट सदरमुकामदेखि बाहिर फोन सेवा अवरुद्ध



भैँसी, गाई र बाख्रा लिएर चरिचरन क्षेत्र जलजला पाटनमा गएर बेपत्ता भएका सात जनाको अझै खोजी हुनसकेको छैन।

मंगलबारदेखि हराइरहेका  कुशे गाउँपालिका–८ र ९  औलरिजाका ३५ वर्षीय दिलबहादुर खड्का, २५ वर्षीय विक्रम खड्का, २८ वर्षीया चन्द्रा खड्का, १८ वर्षीय  भविन्द्र खड्का, १२ वर्षीय मीम खड्का, १७ वर्षीया धनसरा खड्का र वडा नं ९ का ४० वर्षीय कृष्ण रोकाय अझै सम्पर्कमा आएका छैनन् ।

हावाहुरी, पानीसहित आएको बहुकाले उडाएर बेपत्ता भएका उनीहरूको खोजीका लागि प्रहरी टोली र स्थानीयवासीलाई घटनास्थलतर्फ पठाए पनि त्यहाँ पुग्न नसकेको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले बताए। सोही घटनामा परी बच्न सफल ४४ वर्षीय भक्तबहादुर रोकाय, १० वर्षीय ईश्वर रोकाय, १४ वर्षीय दुर्गा रोकाय र ५५ वर्षीया गङ्गा खड्का सम्पर्कमा आएर प्रहरीलाई खबर गरेका थिए।

त्यस्तै जलजला पाटनमा २२ गाई, १० भैँसी र ५० बाख्रा मरेको प्रहरीले बताएको छ। बुधबार बिहान मात्र घटनाका विषयमा जानकारी आएपछि प्रहरी र स्थानीयवासीलाई घटनास्थलतर्फ पठाएको थियो। यो समाचार तयार पर्दासम्म प्रहरी र स्थानीयवासी भैँसी ओडारमा पुगेर लेक लागी बिरामी भएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले बताए।

घटनास्थल पुग्न पाँच घण्टाभन्दा बढी लाग्ने स्थानीयवासीको भनाइ छ । बेपत्ताको उद्धारका लागि गृहमन्त्रालय, प्रदेशको आन्तरिक मामिला मन्त्रालयमा पत्राचार गरिएको छ । उद्धार टोली बिरामी पर्नुका साथै पानी, हावाहुरीसहितको बहुकाले माथि जान नसकेको उनले बताए।  घटनास्थल समुद्र सहतदेखि चार हजार ८०० मिटर उचाइमा छ ।

सदरमुकामदेखि बाहिर फोन सेवा अवरुद्ध

सदरमुकामदेखि बाहिर टेलिफोन सेवा अवरुद्ध भएको छ । सौर्य ऊर्जा प्रणालीले काम नगर्दा फोन सेवा अवरुद्ध भएको हो । सदरमुकामदेखि बाहिरका सबै टावर सौर्य उपकरणको भरमा सञ्चलन हुँदै आएका कारण लगातारको वर्षाले चार्ज नहुँदा टावर बन्द भएको नेपाल टेलिकम जाजरकोटले जनाएको छ । स्थानीय सडकसमेत अवरुद्ध भएको छ । जुनिचाँदे गाउँपालिकामा सबै सडक अवरुद्ध भएको गाउँपालिकाका कावाध्यक्ष शिवा आचार्यले जानकारी दिइन्। रासस

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार ०७:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।