Logo

अनलाइनपाना बुलेटिन : देश-विदेशमा कहाँ के भयो ?



दिनभरका मुख्य समाचारहरु :

ढुंगा, गिट्टी, बालुवा निकासी गर्ने सरकारको निर्णयमा सर्वोच्चद्वारा रोक

Congress-111.jpg

ढुंगा, गिट्टी, बालुवा निकासी गर्ने सरकारको निर्णयमा सर्वोच्च अदालतले रोक लगाएको छ । सर्वोच्चले शुक्रबार ढुंगा, गिट्टी तथा बालुवा निकासी गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ सम्मिलित संवैधानिक इजलासले शुक्रबार अन्तरिम आदेश जारी गरेको हो ।

सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटको बुँदा नम्बर १९९ मा व्यापार घाटा कम गर्नका लागि गिट्टी बालुवा निकासी गर्ने उल्लेख गरिएको थियो । यो व्यवस्था उत्प्रेष्णको आदेशद्वारा बदर गर्न माग गर्दै सर्वोच्चमा सातवटा रिट दर्ता भएका थिए । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरु शैलेन्द्र प्रसाद अम्वेडर, रामबहादुर शाही, पुण्यप्रसाद खतिवडा, हरिराम वलजु, अतिस कार्की र विक्रम नगरकोटीले छुट्टाछुट्टै रिट दायर गरेका थिए । 

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत, पक्षमा ३१ र विपक्षमा २७ मत

Krishna-Chandra-Pokherel.jpg

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले प्रदेश सभामा विश्वासको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री पोखरेलले प्रदेश सभा बैठकमा संविधानको धारा १६८ को उपधारा ६ बमोजिम विश्वासको मतसम्बन्धी राखेको प्रस्ताव बहुमतले पारित भएको हो । मुख्यमन्त्री पोखरेलको पक्षमा ३१ मत परेको छ भने २७ मत मत परेको छ । ५९ जना प्रदेश सभा रहेको गण्डकीमा विश्वासको मत प्राप्त गर्नका लागि ३० मत आवश्यक पर्छ ।

प्रदेश सभामा शुक्रबार ५८ प्रदेशसभा सदस्यहरुले मतदान गरेका थिए । ६० प्रदेश सभा सदस्य रहेको गण्डकीमा राष्ट्रिय जनमोर्चाले पार्टीका नेता कृष्णकुमार तामाङलाई यसअघि नै कारबाही गरेको थियो । पृथ्वीसुब्बा गुरुङले जेठ २७ गते विश्वासको मत गुमाएपछि पोखरेल जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई प्रदेश प्रमुख सीतकुमारी पौडेलले जेठ ३० गते मुख्यमन्त्री पोखरेललाई पोखरेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी थिइन् । 

पार्टीको आधिकारिता दाबी गर्दै आयोगमा पुग्यो उपेन्द्र यादव समूह, ३० सांसद्को हस्ताक्षर

Congress-111.jpg

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव समूहले निर्वाचन आयोगसमक्ष पार्टीको आधिकारिकता माग गरेका छन् । पार्टी कार्यकारिणी समितिका बहुमत सदस्यले गरेको निर्णयसहित यादव समूह शुक्रबार निर्वाचन आयोग पुगेको हो । यादव समूहले निर्वाचन आयोगको पछिल्लो निर्णयले पार्टी संगठन सञ्चालनमा बाधा पुगेको भन्दै आधिकारिकता आफूलाई दिन माग गरेको हो । यादव समूहले दलको विधान, संविधान र राजनीतिक दलसम्बन्धी कानुनअनुसार आधिकारिकता दाबी गरेको भन्दै त्यसमा निर्णय गरिदिन माग गरेको हो ।

यसअघि निर्वाचन आयोगले उपेन्द्र यादव समूहले महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई गरेको कारबाहीसम्बन्धी विवरण अद्यावधिक गर्न अस्वीकार गरेको थियो । त्यस्तै, ठाकुर पक्षले उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको निर्णयलाई पनि मान्यता दिएको थिएन । आयोगको उक्त निर्णयले पार्टीमा विवाद निरुपण नभएकाले कार्यकारिणीको बहुमतले आधिकारिकता दाबी गर्ने निर्णय भएको यादवले बुझाएको पत्रमा लेखिएको छ ।

एमाले र माओवादीका नेता पनि पालैपालो पुगे निर्वाचन आयोग, पार्टी छोडेकालाई दल त्याग गरेको सूचना निकाल्न माओवादी नेताको माग

Congress-111.jpg

एमाले र माओवादीका नेताहरु पालैपालो निर्वाचन आयोग पुगेका छन् । माओवादी छोडेर एमाले बनेका नेता र माओवादीकै नेताहरु शुक्रबार निर्वाचन आयोग पुगेका हुन् । माओवादी पृष्ठभूमिका एमाले नेताहरुले निर्वाचन आयोग पुगेर आसन्न निर्वाचनबारे आयोग पदाधिकारीसँग छलफल गरेलगत्तै माओवादी नेताहरु निर्वाचन आयोग पुगेका हुन् । माओवादी नेताहरुले स्थानीय तहमा आफ्नो पार्टी छोडेकाहरूलाई दल त्याग गरेको सूचना प्रकाशित गर्न आयोगलाई ध्यानाकर्षण गराएका छन् ।

माओवादी छाडेर एमाले बनेका टोपबहादुर रायमाझी र प्रभु शाह आयोग पुगेर आयोग पदाधिकारीसँग छलफल गरेका हुन् । उनीहरु आयोगबाट निस्के लगत्तै माओवादी केन्द्रका नेता लीलामणि पोखरेल र दिनानाथ शर्मा लगायतको टोली पनि पनि निर्वाचन आयोग पुगेर आयोग पदाधिकारीसँग छलफल गरेका छन् । माओवादी नेताले स्थानीय तहमा पार्टी छोडेर अन्यत्र गएकाहरुलाई पार्टीले कारवाही गरेको छ । कारबाहीमा परेकाहरुलाई दल त्याग गरेको सूचना प्रकाशित गर्न ओयोगलाई आग्रह गरेका छन् । 

कर्णाली सरकारमा सहभागी तीनजना मन्त्रीलाई राजीनामा दिन नेकपा एमालेको निर्देशन   

Congress-111.jpg

नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारका सहभागी तीन मन्त्रीलाई तत्काल पदबाट राजीनामा दिन निर्देशन दिएको छ । पार्टी ह्विप विपरीत फ्लोर क्रस गरेका नेता प्रकाश ज्वालासहित शुक्रबार बसेको दलको बैठकले तीन मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको हो । गत वैशाख ३ गते एमाले प्रदेशसभा सदस्य ज्वालासहित अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले माओवादी केन्द्रका नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएर फ्लोर क्रस गरेका थिए ।

फ्लोर क्रस गरेपछि एमालेले प्रदेशसभा सदस्य र पार्टीको साधारण सदस्य नरहने गरी उनीहरु चार जनालाई निष्कासन गरेको थियो । सर्वोच्च अदालतले एमाले संसदीय दलकै सदस्यका रुपमा काम गर्न दिनू भन्ने अन्तरिम आदेश दिएपछि उनीहरु पुनस्र्थापित भएका हुन् । दलका नेता यामलाल कँडेलको अध्यक्षतामा बसेको बैठकले मन्त्रीत्रय भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री थापा, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शाही र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बुढालाई राजीनामा दिएर प्रतिपक्षी भूमिकामा बस्न निर्देशन दिएको हो । 

 

अबको दुई महिनापछि पनि मेलम्चीको पानी काठमाडौं नआउने, बढ्यो अन्योलता

Melamchi.jpg

दुई महिनाका लागि वितरण रोकिएको भनिएको मेलम्चीको पानी काठमाडौं बासीले पाउने अझ धेरै समय लाग्ने भएको छ । मेलम्ची खानेपानी आयोजनाले दुई महिनाका लागि रोकिएको भनिएको वितरण दुई महिनाको अवधिमा पनि आउनेमा अन्योलता बढेको हो । मेलम्ची खानेपानी आयोजनाको उद्घाटन गर्ने हतारोमा गरिएको गल्तीका कारण पानी आउने समय बढी लाग्ने भएको छ । सुरुङमार्गको परीक्षण कार्यविधि पूरा गर्न सुरुङमा असारदेखि पानी पठाउन बन्द गरिएको छ ।

असार १ देखि पानी भर्न बन्द गरे पनि १५ दिन सुरुङको पानी खाली गर्न समय लाग्ने र त्यसपछि विज्ञ र प्राविधिकले सुरुङभित्र गएर अवस्थाको अध्ययन गर्ने भएकोले करिब दुई महिनामा पानी नआउने आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिएका थिए । तर, यी काम समयमै नहुने भएपछि पानी वितरणको काम अनिश्चित भएको हो । यो काम काठमाडौंमा खानेपानी वितरण सुरु गर्नुअघि नै गर्नुपर्ने भए पनि उद्घाटनको हतारोका कारण काम पछि सारेर सुरुङ परीक्षणविनै पानी पठाइएको थियो । मेलम्चीको १० फागुनमा सुरुङमा पानी भर्न थालिएको थियो । साढे २६ किलोमिटर लामो सुरुङ भरिएपछि फागुन २२ गते सुन्दरीजलमा खसालिएको थियो । सुरुङबाट सफा पानी आउन थालेपछि वितरण केन्द्रबाट पानी प्रशोधन गरेर चैत १५ गतेबाट वितरण लाइनमा पठाउन थालिएको थियो ।

पछिल्लो २४ घण्टामा दुई हजार ७६८ कोरोना संक्रमित थपिए, चार हजार २० संक्रमणमुक्त  

Congress-111.jpg

पछिल्लो २४ घन्टामा दुई हजार ७६८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । देशभरका विभिन्न प्रयोगशालामा परीक्षण गराएका १३ हजार ३७ नमूनामध्ये दुई हजार ७६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घन्टामा चार  हजार २० जना संक्रमणमुक्त भएका छन् ।

यही अवधिमा देशभर ४४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । देशभर हालसम्म कोरोना संक्रमितको संख्या ६ लाख १७ हजार ९४७ पुगेको छ । हालसम्म आठ हजार ६४१ कोरोना संक्रमितको मृत्यु भएको छ । 

सोमबारदेखि बैंकहरु पूर्णरुपमा खुला गर्ने बैंकर्स संघको निर्णय

Congress-111.jpg

कोरोना संक्रमणले गर्दा झन्डै दुई महिना खुम्चिएको बैंक तथा वित्तीय संस्थाको सेवा असार ७ गते सोमबारदेखि भने पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ । नेपाल बैंकर्स संघकोे बिहीबार सम्पन्न कार्यसमितिको बैठकले बैङकिङ कारोबार खुला गर्ने सहमति भएको हो ।

संघका कार्यकारी निर्देशक अनिल शर्माका अनुसार स्थानीय प्रशासनको निर्देशनलाई हेरेर बैंकहरूलाई पूर्ण रूपमा चलाउने निर्णय भएको हो । सरकारले पछिल्लो समय असार ७ गतेसम्म निषेधाज्ञा थप  गरे पनि खुकुलो बनाएको छ ।  अहिले  निषेधाज्ञा  कारण  शाखाहरू  पनि  आलोपालो छ भने निक्षेप झिक्ने  र राख्ने सेवा मात्र छ । 

नयाँ विशेषता थप गर्दै फेसबुक, टिकटकमा ३ मिनेटसम्मको भिडियो राख्न पाइने

facebook-tiktok.jpg

विश्वभरी लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले नयाँ विशेषता थप्ने तयारी भएको छ । फेसबुकले अडियो सामग्री बज्ने सुविधा थप्ने लागेको जनाएको छ । फेसबुकमा यो सेवा आगामी जुन २२ देखि सुरु हुने जनाइएको छ । कम्पनीका अधिकारीहरुका अनुसार अप्रिलमा नै नयाँ विशेषताका बारेमा परीक्षण गरिएको थियो । परीक्षणबाट नतिजा सकारात्मक आएपछि अहिले पुरै तयारीका साथ जोड्न थालिएको हो । पोडकास्ट सेवा जोडिएपछि फेसबुक एपमा नै सिधै अडियो सामग्रीहरु सुन्न मिल्ने भएको फेसबुकले जनाएको छ । 

त्यसैगरि पछिल्लो समय लोकप्रिय बनेको टिकटकले पनि एक मिनेटबाट बढाएर तीन मिनेटको भिडियो अपलोड गर्न मिल्ने बनाएको छ । सुरुमा टिकटकमा १५ सेकेण्डको मात्रै भिडियो पोस्ट गर्न मिल्ने बनाएको थियो । पछि यसको समय बढाएर एक मिनेटसम्म बनाइएको थियो ।  

गण्डकी र सुदूरपश्चिम प्रदेशमा आज राति वर्षाको सम्भावना, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह 

facebook-tiktok.jpg

देशको पश्चिमी भू–भाग नजिक मनसुन न्युन चापिय रेखा छ । शुक्रबार राति गण्डकी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जन, चट्टयाङसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यसैगरि शनिबार पनि देशभर सामान्य देखि पूर्ण बदली रहने जनाइएको छ । प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशमा चट्टयाङसहित भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । आगामी २४ घण्टामा देशका अधिकांश स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने सम्भावना रहेकोले उक्त प्रदेशहरुको पहाडी भू–भागमा पहिरो बाढीको जोखिम रहेको र नदीनालाको तटीय क्षेत्रमा सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । 

 

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार १९:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।