Logo

टिप्पणी

प्रकाशमानको श्रीमतिको हारले गठबन्धनमा तनाव भएको हो ?



सिर्जना सिंहको हारले गठबन्धनमा तनाव उत्पन्न भएको छ ।

नेपाली कांग्रेसको काठमाडौं महानगर समितिले वैशाख ७ मा नगर प्रमुखका लागि पाँच जनाको नाम सिफारिस गर्दा पहिलो नम्बरमा नीलकाजी शाक्य र पाँचौं नम्बरमा प्रगतिमान रन्जित थिए । पार्टीको गत असोजमा सम्पन्न नगर अधिवेशनमा सिंह समूहमा रहेका शाक्य अर्को समूहका रन्जितलाई पराजित गरेर महानगर सभापति बनेका थिए ।

महानगर प्रमुखको टिकट भने दोस्रो नम्बरमा रहेकी सिर्जना सिंह पाइन् । उनको आफ्नै राजनीतिक धरातल रहे पनि पार्टीका पूर्वउपसभापति प्रकाशमान सिंहकी श्रीमती हुनुले उनलाई टिकट पाउन सहज भयो । त्यसैले काठमाडौं महानगरमा कांग्रेस पराजयको सबैभन्दा बढी प्रभाव सिंहको राजनीतिक जीवनमा पर्ने भएको छ ।काठमाडौंको राजनीतिमा सिंहको बलियो पकड छ ।

करिब दुई दशकयता पार्टीका आन्तरिक निर्वाचन होस् वा आमनिर्वाचन, सिंहको रुचिभन्दा बाहिर गएको छैन । त्यसैले यस पटक स्थानीय तह निर्वाचनमा सिंह–पत्नी सिर्जनाले

टिकट पाउँदा विरोधको स्वर बाहिर कतै सुनिएन तर नेता–कार्यकर्ताको मनभित्र गुम्सिएको असन्तुष्टिले चुनाव हराउन भने भूमिका खेल्यो । ‘उहाँ (सिंह) माथि आफ्नो वरिपरिका कार्यकर्तालाई अवसर दिन कन्जुस्याइँ गर्ने गरेको आरोप लाग्दै आएको थियो, यस पटक श्रीमतीलाई मेयरको टिकट दिलाएर थप असन्तुष्ट बनाउने काम गर्नुभयो,’ काठमाडौं कांग्रेसका नेता हरिहर अधिकारी भन्छन्, ‘सायद यही कारण महानगरमा कांग्रेसको अवस्था मजबुत हुँदार गठबन्धन दलको समर्थन पाउँदा पनि चुनावको नतिजा गलत आयो ।’ पार्टीको गत महाधिवेशनमा जिल्ला र स्थानीय तहमा भएको अस्वस्थ प्रतिस्पर्धाले पनि असर पारेको उनले बताए ।

अधिकारीका अनुसार स्वतन्त्र उम्मेदवार वालेन्द्र साहप्रतिको माहोल हारको प्रमुख कारण होइन । बरु उम्मेदवारी तय गर्दा जनता र कार्यकर्ताको रुचि ख्याल गर्न नसक्नु हारको आधारविन्दु हो । कांग्रेसका नगर प्रमुख र वडाध्यक्षहरूले पाएको मतको विश्लेषण गर्दासमेत अधिकांश कांग्रेसी मतदाताले प्रमुखमा आफ्नै दललाई मत नदिएको देखिन्छ ।

३२ वडा रहेको महानगरमा कांग्रेसले १९ वडाध्यक्ष जितेको छ । सबै वडाका वडाध्यक्ष ९वडा नं ३२ मा वडाध्यक्ष नहुँदा खुला सदस्य० उम्मेदवारले ६७ हजार ९ सय ९१ मत पाएका छन् । नगर प्रमुखमा भने श्रेष्ठले ३८ हजार ३ सय ४१ मत मात्रै पाएकी छन् । ‘यति ठूलो मतान्तर हुनुले कांग्रेसको मेयर उम्मेदवार र उम्मेदवार तय

गर्ने नेतृत्वप्रति थुप्रै प्रश्न उठेका छन्,’ अधिकारी भन्छन्, ‘यसले स्वाभाविक रुपमा सबैभन्दा बढी काठमाडौंको राजनीतिमा प्रभाव राख्ने सिंहलाई धक्का लागेको छ ।’

श्रेष्ठलाई सबैभन्दा पहिले नेपाल महिला संघ काठमाडौं कार्यसमितिले नगर प्रमुखको उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको थियो । त्यसपछि काठमाडौंका अन्य भ्रातृ संस्थाले सोही निर्णयलाई बल पुग्ने गरी श्रेष्ठको पक्षमा पार्टीभित्र जनमत निर्माणको काम गरेका थिए ।

यी काम नेता सिंहको इसारा र रुचिमा भए पनि उनी बेखबरझैं देखिन्थे । अहिलेको अवस्थामा काठमाडौं कांग्रेसभित्र सिंहको रुचिविरुद्ध जाने अवस्था छैन । पार्टी सभापति शेरबहादुर देउवासमेत सिंहकै रुचिअनुसार श्रेष्ठलाई टिकट दिन सकारात्मक भएका थिए । देउवा श्रेष्ठप्रति सकारात्मक हुनुका प्रमुख दुई कारण थिए ।

पहिलो– काठमाडौंमा नेता सिंहको इच्छाविपरीत अर्को व्यक्तिलाई उम्मेदवार बनाउँदा हार्ने जोखिम हुनु, दोस्रो– श्रेष्ठलाई टिकट दिँदा नेता सिंह आफूप्रति थप निकट हुने अवस्था बन्नु । ‘त्यसैले सिर्जना (श्रेष्ठ) जीको नाम चर्चामा आउनेबित्तिकै सभापतिले अन्य आकांक्षीलाई निराश बनाइसक्नुभएको थियो,’ देउवानिकट एक केन्द्रीय सदस्यले भने, ‘आखिर टिकट पनि निर्विवादजस्तै पाउनुभयो तर परिणाम उल्टो भइदियो ।’

पत्नी सिर्जनालाई जिताएर सिंह काठमाडौंको राजनीतिमा थप बलियो हुन चाहन्थे । यसबाट उनले आफ्नो राष्ट्रिय राजनीति पनि सुदृढ हुने अपेक्षा गरेका थिए । सिर्जनाले जितेकी भए देउवा–सिंह सम्बन्ध पनि थप गाढा हुने निश्चित थियो ।

पराजयले सिंहलाई काठमाडौंको आमराजनीतिमा धक्का लाग्नुका साथै पार्टीभित्र पनि प्रश्न उठेका छन् । २०७४ को निर्वाचनमा कांग्रेसबाट काठमाडौं महानगर प्रमुखमा उम्मेदवार रहेका सिंहनिकट नेता राजुराज जोशी विरोधीका लागि यो निर्वाचन आलोचनाको अस्त्र बनेको बताउँछन् ।

‘सिर्जनाजी मेयरको उम्मेदवार हुनका लागि योग्य व्यक्ति हुनुहुन्थ्यो, अर्को व्यक्ति उम्मेदवार भइदिएको भए पनि बालेनको बहाबलाई रोक्न गाह्रो थियो,’ उनी भन्छन्, ‘तर उहाँ का विरोधीहरूले श्रीमतीलाई उम्मेदवार बनाएका कारण पार्टी पराजित भयो भन्न पाउने भए ।’

नेता अधिकारी यही कारण आगामी संसदीय निर्वाचनमा समेत सिंहलाई असजिलो हुने बताउँछन् । सिंह काठमाडौंको निर्वाचन क्षेत्र १ बाट चुनाव लड्दै आएका छन् । उक्त क्षेत्रमा महानगरका वडा नं. १०, ११, २९ र ३१ पर्दछन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार १२:१३   :  बजे

342
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।