Logo

समाचार

ब्राजिलमा एकैदिन २५ लाख ६१ हजार जनालाई कोरोनाको खोप लगाइयो



ब्राजिलमा एकै दिनमा २५ लाखभन्दा बढी नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइएको बताइएको छ । समाचारअनुसार यहाँ शुक्रबार मात्र २५ लाख ६१ हजार ५५३ जनालाई खोप लगाइएको हो । 

यहाँ केही महिनायतादेखि नै कोरोनाका विरुद्धको खोप लगाउने व्यापक अभियान नै सञ्चालन गरिएको छ । तर एकै दिनमा यो नै सबैभन्दा बढी खोप लगाइएको बताइएको छ । ब्राजिलमा अहिलेसम्म यहाँका ८ करोड ४० लाख मानिसले पहिलो खोप लगाएका छन् भने ६ करोड भन्दा बढीले दोस्रो मात्रा खोप पनि लगाएका छन् । ब्राजिलले यही वर्षको जनवरीदेखि यहाँका नागरिकलाई कोरोना विरुद्धको खोप दिन थालेका हुन् । 

ब्राजिलमा कोरोना भाइरसले असर गर्ने विश्वकै सबैभन्दा बढी प्रभावित गर्ने देशहरुको सुचीमा दोस्रो स्थानमा  पर्दछ । यहाँ अमेरिकापछि सबैभन्दा बढी नागरिकको ज्यान गएको छ ।  ब्राजिलमा कोभिड– १९ को सङ्क्रमणका कारण चार लाख ९५ हजार भन्दा बढी नागरिकको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको समाचारमा जनाइएको छ ।     

कोरोना भाइरसको सङ्क्रमण सुरु भएबाट ब्राजिलमा हालसम्म १ करोड ७६ लाख जनाभन्दा बढीमा सो सङ्क्रमण भएको बताइएको छ । यस देशमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राज्यका रुपमा साओ पाओलो रहेको छ । साओ पाओलोमा मात्र एक लाख जना भन्दा बढी नागरिकको ज्यान गएको छ । 

त्यसैगरी सो राज्यमा करिब ४० लाख भन्दा बढी नागरिक कारोना भाइरसबाट सङ्क्रमित भएका छन् । ब्राजिलमा अमेरिकापछि विश्वमै सबैभन्दा धेरै नागरिकको ज्यान गएको छ ।     

प्रकाशित मिति : ५ असार २०७८, शनिबार १८:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।