जनकपुरधाम । मधेश सरकारले साना किसानको बैंक खातामा सिधै १० हजार रुपैयाँ पठाइदिने भएको छ । प्रदेशका सीमान्तकृत तथा न्यून आर्थिक अवस्था भएका किसान र कृषि मजदूर वर्गको खाद्य सुरक्षा तथा गरिबी निवारणमा सहयोग पुर्याउन भन्दै प्रदेश सरकारले मुख्यमन्त्री किसान उत्थान कार्यक्रम कार्यान्वयन कार्यविधि बनाएको छ ।
एक साताअघि मन्त्रिपरिषद्को बैठकले यो कार्यविधि स्वीकृत भएपछि सरकारले किसानको खातामा सोझै १० हजार रुपैयाँ पठाउनेछ । मानव विकास सूचकांकमा पछाडि रहेका वर्ग तथा सहीद परिवार, राजनीतिक आन्दोलनका गम्भीर घाइते, फरक क्षमता भएका व्यक्ति, सीमान्तकृत, दलित, अल्पसंख्यक समुदाय, एकल महिला तथा कृषि पेशाबाहेक निर्वाहको अन्य कुनै साधन÷उपाय नभएका साना किसानलाई प्राथमिकता दिएर यो रकम पठाइने प्रदेश सरकारले जनाएको छ ।
तत्काल एक जिल्लाको एक पालिकामा परीक्षणको रुपमा यो कार्यक्रम सञ्चालन गरिने प्रदेश सरकारका प्रवक्ता एवं अर्थ मन्त्री शैलेन्द्र साहले जानकारी दिए । उनका अनुसार बिउविजन, मलखाद, सिँचाइ, विषादी तथा अन्य उत्पादन सामग्रीको व्यवस्थापन गर्न रकम अभाव हुने किसानलाई नगद सहयोग गर्न लागिएको हो ।
यो अनुदान पाउन साना किसानले केही कागजातसहित आवेदन दिनुपर्छ । घरमुलीको नागरिकता, एकाघरका सदस्यको नाममा भएको सम्पूर्ण जग्गाको लालपूर्जाको प्रतिलिपी वा जग्गा भाडामा लिएको भए जग्गा धनीसँगको सम्झौता पत्रको प्रतिलिपी पेश गर्नुपर्नेछ ।





















प्रतिक्रिया