काेराेना भाइरस महामारीबाट प्रताडित भारतमा तेस्राे लहर आउन सक्ने चेतावनी दिइएकाे छ। समाचार संस्था रोयटर्सले स्वास्थ्य विशेषज्ञहरूसँग गरेको एक सर्वेक्षणमा ८५ प्रतिशत सहभागीले कोभिडको तेस्रो लहर भारतमा अक्टोबरमा देखिन सक्ने ठानेका हुन्।
४० विज्ञ सहभागी उक्त सर्वेक्षणमा झन्डै दुईतिहाइले उक्त लहरमा बालबालिका र १८ वर्ष मुनिका मानिस सबैभन्दा जोखिममा हुने कुरा स्वीकारेका छन्।
तर विज्ञहरूले उक्त लहर नियन्त्रण गर्न सकिने खालको हुने बताउँदै कोभिड अझ एक वर्षका लागि खतराका रूपमा रहने बताएका छन्।
जुन १३ देखि १७ बीचमा गरिएको उक्त सर्वेक्षणमा विश्वभरिका स्वास्थ्य स्याहार विशेषज्ञ, चिकित्सक, वैज्ञानिक, भाइरसविद्, इपिडिमियोलजिस्ट र प्राध्यापकहरू छन्। उल्लेख्य रूपमा खोप कार्यक्रम अघि बढेका कारण नयाँ लहरको प्रभाव केही कम हुने उनीहरूले बताएका छन्।
भारतमा शनिबार झन्डै १९ लाख वटा नमुनाको परीक्षण हुँदा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ६० हजार ७५३ देखिएको छ। भारतमा दैनिक लगातार एक लाखभन्दा कम सङ्क्रमित पाइएको यो बाह्रौँ दिन हो।
विश्वव्यापी महामारीको केन्द्रमा रहेको भारत कोरोनाभाइरसबाट अतिप्रभावित देशको सूचीमा अमेरिकापछि दोस्रो स्थानमा छ। एजेन्सी

















प्रतिक्रिया