कञ्चनपुर । कञ्चनपुरका दुई सिमावर्ती सहर आर्थिक गतिविधिको केन्द्र बन्ने भएका छन् । आगामी आर्थिक वर्ष २०७९|८० को बजेटमा दोधाराचाँदनी नगरपालिका र बेलौरी नगरलाई आर्थिक गतिविधिका केन्द्र बनाउन घोषणा गरिएको हो ।
यी दुईसहित देशभर अन्य सिमावर्ती सहरलाई आर्थिक गतिविधिका केन्द्र बनाउन बजेट विनियोजन गरिएको छ । बेलौरी कञ्चनपुरको पुरानो सदरमुकाम हो । यसै क्षेत्र भएर पहिला नेपाल भारतको कारोबार हुने गरेको थियो । बेलौरी बजारका व्यसायीबाट भारतीय व्यापारीले जडीबुटीदेखि कपडा आयात गर्ने गर्दथे । भारतबाट खाद्यान्न र तयारी पोशाक, मेसिनगरी लगायतको वस्तु ल्याइने गरिन्थ्यो । हाल यस क्षेत्रमा छोटी भन्सार कार्यालय सञ्चालनमा रहेको छ ।
यसै छोटी भन्सार कार्यालयबाट थोरै मात्रै वस्तुको आयात र निर्यातको कार्य हुने गरेको छ । जिल्ला सदरमुकाम महेन्द्रनगरमा सरेपछि भारतसँगको मुख्य नाकाका रुपमा गड्डाचौकी नाका सञ्चालनमा रहेको छ । बेलौरी बजारलाई आर्थिक गतिविधिको केन्द्र बनाउन सङ्घीय सरकारले बजेटमै व्यवस्था गरेकाले यसलाई सकारात्मक रुपमा लिइएको नगर प्रमुख पोतिलाल चौधरीले बताए । कार्यक्रम लागू भएपछि यस क्षेत्रको आर्थिक गतिविधि बढने र रोजगारीका अबसर सिर्जना हुनेमा आशावादी भएको उनले बताए ।
आर्थिक गतिविधि बढे नगरवासीको आयस्तर बढछ उनले भने, बेलौरीलाई समृद्ध नगरका रुपमा परिचित गराउन सक्छौँ । भारतको उत्तर प्रदेशसित जोडिएको यस सहरलाई भारतसित जोड्न भन्सार नाका बनाउन विगतदेखि माग हुँदै आएको छ । सरकारले यस वर्ष भन्सार नाका बनाउने माग सम्बोधन नगरी आर्थिक गतिविधिको केन्द्र बनाउने घोषणा गरेको हो ।
महाकाली नदी पारीको दोधाराचाँदनी नगरमा सुख्खा बन्दरगाह निर्माणकार्य अघि बढेको छ । सरकारले विसं २०६६ मा घोषणा गरेको १० वर्षपछि दोधाराचाँदनी नपा–१ मा सुख्खा बन्दरगाह बनाउन थालिएको हो । यसको सम्भाव्यता अध्ययनका लागि समेत बजेटमा व्यवस्था गरिएको छ ।
दोधराचाँदनी नगरलाई आर्थिक गतिविधिको केन्द्र बनाउन स्थानीयले भारतसँगको सीमा नाकालाई व्यवस्थित बनाइ भन्सार कार्यालय स्थापना गर्नुपर्ने बताएका छन् । यो क्षेत्र परवल खेतीका लागि प्रसिद्ध रहेको छ ।
भारतको उत्तर प्रदेश र उत्तराखण्ड दुबै राज्यसित जोडिएको यो नगरलाई जोड्न महाकाली नदीमा निर्माणाधीन चार लेनको पुलका लागि आगामी आर्थिक वर्षमा पनि रु ४१ करोड बजेट विनियोजन गरिएको छ । पुल क्षेत्रसम्म पुग्ने पहुँच मार्ग नदीको बाढीले भत्काइ दिएपछि निर्माणकार्य अगाडि बढाउन कठिन भएको थियो ।
नदीमा पर्यटकीय गतिविधिलाई बढावा दिन बनाइने संरचना बनाउनसमेत बजेट अभाव थियो । बजेटको व्यवस्थापछि पुल निर्माणकार्यले गति लिनेमा यस क्षेत्रका बासिन्दाले विश्वास लिएका छन् ।





















प्रतिक्रिया