Logo

टिप्पणी

‘पुरुषबाट म यसरी स्त्री भएँ’



म जन्मिँदा पुरुष भएर जन्मिएँ । कैलाश श्रेष्ठ मेरो वास्तविक नाम । मेरो यौनांग पुरुषकै थियो, तर लैंगिक चेतना आएपछि मैले आफूलाई महिला महसुस गर्न थालेँ । सलवार, कुर्ता, सारी, चोलोमा सजिएर हिँड्न थालेँ । लिपिष्टिक, क्रिम, पाउडर लगाउने, मुहारमा दाह्री, जुँगा आउन नदिने हरेक प्रयास गर्न थालेँ । महिलाको जस्तो स्तन बनाउन हर्मोन खाएँ, तर नआएपछि थाइल्याण्ड पुगेर स्तन प्रत्यारोपण गराएँ । काठमाडौंकै एक निजी अस्पतालमा सर्जरी गरेर अण्डकोष फालिदिएँ । यसरी म हरसम्भव महिला बन्‍न उद्धत छु । मेरो जस्तो मानसिकता र व्यवहार अन्य पुरुष तेस्रो लिंगीमा पनि हुने गर्छ ।    

हाम्रो समाज लैंगिकताको आधारमा व्यवहार गर्न चाहन्छ । सृष्टिमा महिला र पुरुष मात्र छन् भन्‍ने धारणा राख्छ । त्यसैले जैविक रुपमा एउटा र व्यवहारमा ठिक विपरीत यौन आचरण देखाउने मानिसहरु पारिवारिक र सामाजिक विभेदको सिकार बन्छन् । तेस्रो लिंगी भएकै आधारमा घरपरिवारबाट बहिष्कारमा पर्छन् । विद्यालयमा साथी र शिक्षकले गिज्याउँछन् । उनीहरु चैनले पढ्न पाउँदैनन्, कोर्ष पूरा नगरी विद्यालय, कलेज छोड्न बाध्य हुन्छन् । छिमेक, गाउँ, टोलमा उनीहरुलाई जिस्क्याउने, हेयभावले हेर्ने गरिन्छ । उनीहरु आत्मसम्मानित भएर बाँच्ने ठाउँको खोजीमा भौंतारिन्छन् । यसरी धेरै तेस्रो लिंगीलाई मानसिक तनाव, र डिपे्रसनले सताउँछ । उनीहरुको व्यक्तिगत चाहनामा यस्तो फरक यौन व्यवहार देखिनु कुनै हालतमा सम्भव छैन र चाहना राख्ने पनि सायदै हुन्छन् । तर परिवार र समाजले बुझ्न नचाहँदा धेरै तेस्रो लिंगीहरु सहाराविहीन भएर सडकमा आइपुगेका छन् । 

विक्षिप्त अवस्थामा रहने तेस्रो लिंगीहरुलाई मनोवैज्ञानिक परामर्श र उपचारको सर्वाधिक खाँचो हुन्छ । तेस्रो लिंगी स्वास्थ्यको क्षेत्रमा कार्यरत संस्थाहरुले सुझाए अनुसार मनोवैज्ञानिक उपचार यसरी गर्न सकिन्छ : 

– दक्ष मनोचिकित्सकद्वारा परामर्श दिलाउने । 
– तेस्रो लिंगीको रुपमा जीवन व्यतित गरिरहेकाहरुसित भेटाउने र अन्तरक्रिया गराउने । 
– उपलब्ध मेडिकल उपचारको विकल्पहरु खोजी गर्ने । 
– फिजिसियन, थेरापिष्टहरुसित अन्तरक्रियात्मक उपचार गराउने । 
– आफूलाई कस्तो लैंगिक विशेषता देखाउन मनलाग्छ सोही अनुसार हर्मोन सेवन गर्ने । 
– आत्मविश्वास र आर्थिक व्यवस्थापन गर्नसके अनुहारको कस्मेटिक सर्जरी गर्ने । स्तन, यौनांगहरुको सर्जरी गर्ने, आवश्यकता अनुसार ट्रान्सप्लान्ट गर्ने । 

सबैले मनोचिकित्साको सहयोग लिन आवश्यक छैन । आत्मविश्वास भइदिए मनोचिकित्सा आवश्यक पर्दैन । आफ्नो रुचिअनुसारको लैंगिक पहिचान देखाउने चाहना भने धेरैमा हुनसक्छ । त्यसैले हर्मोनको नियमित सेवन उचित हुनसक्छ । महिला तेस्रो लिंगीले ‘एस्ट्रोजन’ सेवन गर्न सक्छन् । यसले महिलापना बढाउँछ, मानसिक र शारीरिक दुबै रुपमा आफूलाई महिला भएको महसुस गराउँछ । पुरुष तेस्रो लिंगीले ‘टेस्टोस्टेरोन’ हर्मोन सेवन गरे मानसिक र शारीरिक दुबै रुपमा आफूलाई पुरुष भएको महसुस गर्न सक्छन् । तर, जथाभावी हर्मोन सेवन गर्नु भने ठीक होइन । विशेषज्ञको परामर्श र निगरानीमा हर्मोन सेवन गर्नुपर्छ । चिकित्सकले आफूले दिएको हर्मोनको सेवनले ल्याएको प्रभाव र साइड इफेक्टको बारेमा नियमित मूल्यांकन गर्छन् । कतिपयलाई हर्मोनको सेवनले ठीक विपरीत र शारीरिक रुपमा निकै हानिकारक प्रभाव ल्याउँछ । त्यसैले चिकित्सकको परामर्श र निगरानीविना हर्मोन सेवन उचित हुँदैन । 

कृत्रिम स्तन 

मैले पनि आफ्नो महिलापना बढाउन वर्षौंदेखि एस्ट्रोजन हर्मोन सेवन गरिरहेकी छु । यसले मेरो दाह्री, जुंगा आउन रोकेको छ । छाला मुलायम बनाएको छ । कपाल पनि  सर्लक्क परेको छ । तर अरुलाईजस्तो हर्मोनको सेवनले मेरो स्तन भने सोचेजस्तो वृद्धि भएन । त्यसैले मैले बैंककमा गएर कृत्रिम स्तन जडान गरेकी हुँ । 

कृत्रिम स्तन राख्दाको पनि लामो कहानी छ । हाम्रो समुदायको धेरै साथीलाई जन्मिँदा पाएका यौन अंगहरु बोझ लाग्छन् ।  केटाको अंग छ, भावना केटीको । केटीको अंग छ, भावना केटाको । जो साथी पनि यो अंग आफूसित नभइदिए हुन्थ्यो चाहना राख्छन् । ममा पनि यो भावना आइरह्यो । म त झन् हरेक क्षण ‘हे भगवान भोलि उठ्दा मेरा सबै पुरुष अँग गायब भइदियोस्, स्त्रीको जस्तो अंग र स्तन मेरो शरीरमा सजिएको होस्’ भन्दै पुकारिरहन्थें । बिहान—बेलुका पूजा गर्थें । मन्दिर जान्थें । व्रत बस्थें । तर अहँ, भगवानले मेरो गुनासो कहिल्यै सुनेनन् । 

भगवानले नसुनेर के भयो त ? वैज्ञानिकहरुले हाम्रा लागि धेरै अनुसन्धान गरिदिएका रहेछन् । आत्मबल चाहियो, पैसा पनि हुनुपर्‍यो, सबथोक सम्भव रहेछ यो दुनियाँमा । मेरो धेरै साथीहरु हर्मोन सेवन गर्छन् । आफ्नो इच्छा अनुसार महिला वा पुरुषको शारीरिक आकृति र हाउभाउ बनाउने प्रयास गरिरहेका छन् । महिला शरीर भएका धेरै साथीहरुले पुरुषको जस्तो दाह्रीजुँगा उमारेका छन् भने पुरुषकोजस्तै कडा छाला र मोटो स्वर बनाएका छन् । 

यता, पुरष शरीर भएका मजस्ता धेरैले बोझ लागेको दाह्रीजुँगा नियन्त्रण गरेका छन् । महिलाको जस्तो कोमल छाला बनाएका छन् । कतिले आफ्नो पुरुष स्तनलाई महिलाको जस्तो बनाएका छन् । मेरो दाह्रीजुँगा सानैदेखि खासै आएन । छाला नरम बन्यो, तर स्तन भने अरुको जस्तो खासै वृद्धि भएन । पुष्ट स्तन नभई आफूलाई केटीजस्तो देखाउन गाह्रो भइरहेको थियो । त्यही भएर म फोमवाला ब्रा लगाएर हिँड्थें ।

मिडियाबाट एकदिन खबर सुनियो, थाइल्याण्डमा ब्रेष्ट इम्प्लान्ट (कृत्रिम स्तन) देखि यौनाङ परिवर्तनसम्मको सुविधा छ रे । जान पाए हुने भन्ने सोचिरहेकी थिएँ । केही महिनापछि ट्रान्सजेण्डरसम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रमको निम्तो आयो । कार्यक्रम बैंककमा हुन लगको रहेछ । नीलहीरा समाजको प्रतिनिधित्व गर्दै म र एउटी साथी बैंकक पुग्यौं । 

यो सन् २०११ को प्रसँग हो । म र साथी दुबैले यहींबाट पैसा जोहो गरेर गएका थियौं । बैंकक पुगेपछि हामी खोज्दै खोज्दै ब्रेष्ट इम्लान्ट गर्ने क्लिकनिकमा पुग्यौं । सर्जरीका लागि नाम टिपायौं । हामीलई भोलिपल्ट आउन भनियो । क्लिनिकमा थरिथरिका पोष्टर टाँसिएका थिए । पोष्टरमा ब्रेष्ट हालेपछि प्रशन्‍न भएका तेस्रो लिंगीका अनुहार थिए । म पनि पोष्टरमाजस्तै खुसी पाउने लोभले पुलकित भइरहेको थिएँ । भोलि कहिले आउला र टमक्क बे्रष्ट हालौंला भनेर हतारिँदै पर्खिरहें । 

जति हर्मोन खाएपनि ब्रेष्ट नआउँदा म खिन्न थिएँ, अब मेरो खुसी भरिने भयो । अरु स्त्रीजस्तै सेक्सी देखिने भएँ । पोटिलो स्तनले पुरुषको ध्यान सक्ने भएँ भन्ने कल्पनामा डुबिरहें । नाम टिपाएर आएको रात मलाई निन्द्र्रै लागेन । भोलिपल्ट डाक्टरले बोलाएको समयभन्दा पनि अलि अगाडि नै पुगें । साथी पनि सँगै थिइन् । 

हाम्रो पालो आयो । हामी सर्जरी कक्षभित्र पस्यौं । नर्सले गाउन लगाउन दिइन् । सुई लगाएर पेटदेखि माथि र घाँटीदेखि तलको भाग लठ्याइन । पूर्ण बेहोस बनाइनन् । आँखा खुल्लै थियो । डाक्टरले धमाधम मेरो काखीमुनि चिर्न थाले, मेवा चिरेजसरी । खासै दुःखेको त थिएन, तर आँखा खुल्लै भएकोले त्यसरी चिरिरहँदाको विभत्स दृश्य देखेर तर्सिएँ । हल्लिन खोज्थें, डाक्टर ‘स्लिप, स्लिप’ भन्थे । म डरले थर्कमान हुँदै भन्थे, ‘आई एम विइङ अफ्रेड’ ।

सायद म ज्यादा तर्सिरहें भने सर्जरी बिग्रिनसक्ने अनुमान लगाए होलान् । फेरि अर्को सुई थपिदिए । मेरो बेहोसी एकैछिनमा बढ्यो, आँखा चिम्म गरेछु । करिब एक घन्टा सर्जरीमा लाग्यो । मेरा आँखा अलिअलि खुले, म आंशिक चेतनामा आएँ । 

मेवाजसरी चिरिएको काखीमुनि त डाक्टरले बोराजस्तो पो बनाउँदा रहेछन् । त्यहींबाट धमाधम सिलिकन भरेछन्, बोरामा बालुवा भरेजसरी । टाँका लगाएर काखीमुनिको भाग टमक्क टालेछन् । डाक्टर र नर्स दुबैले बोकेर मलाई अर्को बेडमा सारे । चिरेको ठाउँमा ब्याण्डेज लगाइदिए । जुस पिउन दिए । 

‘नाऊ यु सिम्स अ पर्फेक्ट लेडी’, डाक्टरले मुस्काउँदै भने । होश पूरा खुलेपछि ढाड असाध्यै दुखेको महसुस भयो । डाक्टरलाई भनें । उनले पेन किलर दिए, अलि सञ्चो महसुस गरें । करिब चार घन्टापछि हामीलाई ‘आराम गर्न होटल गए हुन्छ’ भनियो । 

‘कम आफ्टर वान वीक्’, डाक्टरले विदा गर्दै भने, ‘टेक केयर’ ।

तर मलाई बेडबाट उठेर हिँड्न साहै्र गाह्रो भयो । छाती ढुँगाजस्तो साह्रो भएको थियो । मोटरसाइकल हाँक्दा अगाडि व्याग बोकेकोजस्तो भारी भयो । निकै अप्ठ्यारो र पीडा झेल्दै हामी होटल आयौं । दुखाइका कारण साथी र म दुबैलाई केही रुचेन । त्यही जुसको भरमा रात कटायौं । 

बाहिर कतै हिंड्न सकिएको होइन् । सास फेर्नै गाह्रो भयो । कहिल्यै नबोकेको भारी बोकेर होला, साताभरि नै होटलको रुममा बितायौं । डाक्टरले बोलाएको दिनमा फेरि पुग्यौं । नर्सले उत्तानो परेर बेडमा सुत्न लगाइन् । दुबैको व्याण्डेज खोलिदिइन् ।  स्तन झर्ने हो कि, डल्लो पो पर्ने हो कि ? यही सोचेर हलचल नगरी बेडमा सुतिरहें । डाक्टर आइपुगे । साथीको स्तन छामछुम पारे । ‘पर्फेक्ट’, उनले उज्यालो अनुहार बनाए । 
मेरो हेरे । उनले निधार खुम्च्याए । 

लौ फसाद, फेरि के आइलाग्यो भन्दै म तर्सिएँ । डाक्टर अंग्रेजी खासै नबोल्ने न त बुझ्‍ने । चुपचाप मनमनै केके बोल्थे । मलाई पनि डर लागिरह्यो । मेरो स्तनमा सिलिकन भरेको मिलेनछ । फेरि अर्को सर्जरी बेडमा लगे । पशुलाई लगाउनेजस्तो ठूल्ठूला चार वटा सुई फेरि लगाए । म बेहोश भएँ । उनले त फेरि काखीमुनि चिरेछन् अनि ओल्टाइपोल्टाइ गर्दै सिलिकन सारेछन् । पिठो मुछेजसरी स्तनको सबैतिर थिच्दै आकृति मिलाएछन् । दुई दिनपछि हामी नेपाल फर्कियौं ।
 
स्तन भरिएपछि मेरो मनोवैज्ञानिक त्रास बढिरह्यो । डाक्टरले ६ महिनासम्म ब्रा, कसिलो लुगा नलगाउनू भनेका थिए । म स्कुटीमा हिँड्थे । झ्याप्प ब्रेक लगायो, बालुवा भरिएकोजस्तो ब्रेष्ट एकैपोका परेर भूँइमा खस्‍ने हो कि ? यता उता सरेर विरुप बन्ने पो हुँ कि ? भन्ने डर लागिरहन्थ्यो । महिनौंसम्म सुत्न सकिनँ, रातभरि उत्तानो परेर जागाजस्तै रहन्थें । बरु पहिलाकै जस्तो फोमवाला ब्रा नै ठीक भन्ने भावना पनि मनमा जाग्थ्यो । तर के गर्नु, दुई लाख नेपाली रुपैंयाँ खर्चेर यत्रो पीडा सहँदै ब्रेष्ट इम्प्लान्ट गरेकी थिएँ । फेरि निकाल्न गाह्रो थियो । नेपालमा त्यो बेला सुविधा पनि त थिएन । 

मेरो पुरुष छातीमा झण्डै दुई केजीको ब्रेष्टको भारी थपिँदा एडजष्ट हुन गाह्रो भएको थियो । अहिले भने एडजष्ट भइसकेको छ । अरु केटीजस्तै मेरो स्तन टम्म मिलेको छ । ३२ नम्बरको ब्रा लगाउँछु । फिटिङ सामान्य भइसक्यो । अब मलाई आफ्नो ब्रेष्ट भारी लाग्दैन । तर अरु केटीको जस्तो मेरो पुट्ट उठेको निप्पल चाँही छैन, अलिक सानै छ । यो ब्रेष्टले स्तनपान पनि गराउन सक्दैन । तर, कृत्रिम भएपनि मलाई यो ब्रेष्टले सहवासको बेला उत्तेजना दिन्छ । यौन पार्टनरले समाइदिँदा वा खेलाइदिँदा मेरो ब्रेष्ट उत्तेजनाले अलिक कडा भएको महसुस हुन्छ । हामी दुबै खुसी हुन्छौं । 

खुशीको कुरा, अहिले त नेपालमा पनि बैंककमाजस्तो बे्रष्ट इम्लान्ट सुविधा भित्रिसकेको छ । स्तनको साइज घटाउन र बढाउन सकिन्छ । कस्मेटिक सर्जरी गर्ने अस्पतालहरुमा आफूले चाहेको साइजमा ब्रेष्ट जडान गर्न सकिन्छ । तर बैंककमा भन्दा अलिक महँगो छ यहाँ । बैंककमा नेपाली दुई लाख रुपैंयाँ खर्च हुन्छ भने यहाँ करिब २ लाख ७५ हजार । 

अण्डकोषबाट मुक्ति 

ब्रेष्ट इम्लान्टपछि बल्ल मैले झट्ट हेर्दा केटीको जस्तो आकृति पाउन सकें । अनि मलाई यौनाङ्ग पनि फाल्न पाए हुन्थ्योजस्तो लाग्न थाल्यो । सोधखोज गरें । काठमाडौंको एउटा अस्पतालमा यो सुविधा उपलब्ध रहेछ । मैले पुरुष यौनांग हटाउने निर्णय गरेँ, तर पुरै यौनांग हटाएर स्त्रीको जस्तो आकृति बनाउन गाह्रो र खर्चिलो रहेछ यहाँ । त्यही भएर डाक्टरको परामर्शमा मैले अण्डकोश (टेष्टिज) मात्र फालिदिएँ । 

हुन त पुरुषपना ल्याउने मुख्य अंग अण्डकोश नै रहेछ । यसलाई फ्याँकेपछि अहिले मेरो शुक्रकिट आउँदैन । मैले अरु स्त्रीसँग सहवास गरेपनि गर्भाधान हुन सक्दैन, तथापि, अरु स्त्रीसँग सहवास गर्ने मेरो कल्पना छैन र हुँदैन पनि । अण्डकोश निकालेपछि मेरो महिलापना अझै बढ्दै आएको छ । छाला स्त्रीको जस्तो नरम र चहकिलो बनेको छ । नारीको जस्तो मसिनो स्वर र भावनात्मक कोमलता बढेको महसुस भइरहेको छ । म हरक्षण आफूलाई महिला भएको महसुस गर्न थालेको छु । 

मैले महिलापना बढाउने हर्मोन अहिले पनि नियमित खाइरहेको छु । खर्च त खासै होइन, महिनाको एक प्याकेट भए पुग्छ । प्याकेटको पाँचसय रूपैँया पर्छ । प्रकृतिले दिएको मानसिक अनुभव, नश्ल र स्वभावलाई नियन्त्रण गर्नु प्राकृतिक नियमविपरीत छ । यो हर्मोनले पनि व्यापक साइड इफेक्ट ल्याउँछ । हड्डी कमजोर हुँदै जान्छ । ग्याष्टिक, दम, थाइराइड, उच्च रक्तचापजस्ता रोग निम्तिन्छ, तैपनि हर्मोन खानु हाम्रो बाध्यता हो । कतिपय तेस्रो लिङ्गी साथीहरु विभिन्न गर्भ निरोधक औषधिसमेत खाइरहन्छन् । यसको अनियन्त्रित र अव्यवस्थित प्रयोगबाट क्यान्सर, पाठेघरको संक्रमणजस्ता जटिल समस्या आउने गर्दछ । यसमा हामी सजग हुनैपर्छ । हार्मोन प्रयोगले ममा नारी लुक त उभार  हुन्छ, साथसाथै एण्टिवायोटिक पनि प्रयोग गर्नुपर्छ । अन्यथा हर्मोनले धेरै नकारात्मक असर गर्छ । । कतिपय साथीहरु परिवार नियोजनका लागि प्रयोग हुने निलोकन चक्की पनि प्रयोग गर्छन् । मैले हर्मोन मात्र प्रयोग गरिरहेको छु । सहवासको बेलामा चाँही कण्डम प्रयोग गर्न रुचाउँछु, कति औषधिमात्र खानू ? 

म नेवार परिवारभित्रकी तेस्रो लिङ्गी महिला हुँ, त्यसैले मैले आफूलाई नेवार्नी मानेकी छु । भित्रैदेखिको इच्छा पूरा गर्न मैले आफुलाई सकेसम्म बढी श्रृङ्गारले छोप्ने प्रयास गर्छु । सायद हामी तेस्रो लिङ्गीहरूको मनबाहेक सबै कुरा प्राकृतिक नै हुन्छ । तसर्थ तेस्रो लिङ्गी पुरूषले महिलाको रूप दबाउन र तेस्रो लिङ्गी महिलाले पुरूषको रूप दबाउन श्रृङ्गारको बढी सहयोग लिने गर्दछन् । नारी स्वभावअनुरूप मलाई श्रृङ्गार असाध्यै मन पर्छ । म श्रृङ्गारका सामग्री क्रिम, पाउडर, लिपिष्टिक, फेसियलको प्रयोग नियमित गर्छु । नाकमा फुली लगाएकी छु, हरक्षण महिलाकै पहिरनमा हुन्छु । म भेराइटी–भेराइटीका व्याग, स्याण्डल र ड्रेस चेन्ज गर्न मन पराउँछु । कपडा, जुत्ता धेरै फेर्न मन लाग्छ । 

(भूमिका श्रेष्ठसँग कुसुम भट्टराईले गरेको कुराकानीमा आधारित)

 

प्रकाशित मिति : ७ असार २०७८, सोमबार १२:१९   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।