मकवानपुर । बागमती प्रदेशसभाको बैठक फेरि स्थगित भएको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रम माथि छलफलका लागि बिहीबार बसेको बैठकमा सांसदहरुले आफ्नो धारणा राखेका थिए ।
बैठकमा सरकारको नीति तथा कार्यक्रम माथि ३१ जना सांसदहरुले धारणा राखेका थिए । सांसदहरुले धारणा राखेपछि प्रदेश सभाकी उपसभामुख राधिका तामाङले प्रदेशसभाको अर्को बैठक एक घण्टापछि बस्ने गरी स्थगित गरेकी हुन् ।
उक्त बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले जवाफ दिनेछन् । त्यसपछि सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तयारी रहेको छ ।
बिहीबार बिहान ८ बजे आह्वान गरिएको बैठक बसे लगत्तै एमालेको अवरोधपछि १० मिनेटका लागि स्थगित भएको थियो । बैठक स्थगित भएपछि सभामुख सानुकुमार श्रेष्ठले सर्वदलीय बैठक आह्वान गरेका थिए ।
करिब २ घण्टाको सर्वदलीय छलफल पछि बागमती प्रदेशसभाको बैठक पुनः सुरु भएको थियो । एमालेले उठाएका विषयमा सरकारको तर्फबाट मुख्यमन्त्री पाण्डेले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने समयमा त्यस विषयलाई पनि समेटेर जवाफ दिने र उक्त विषयमा प्रदेशका मुख्य सचिवको संयोजकत्वमा ४ सदस्यीय छानविन समिति गठन गर्ने सहमतिपछि प्रदेशसभाको बैठक सुरु हुने भएको थियो ।
सरकारको नीति तथा कार्यक्रममाथि छलफलका लागि बागमती प्रदेशसभाको बैठकमा सांसदहरुले कार्यविधि मिचेर अनुदान कार्यक्रम आफ्नालाई दिन कर्मचारीलाई दवाव दिएको र आफू अनुकुल काम नगरेको भन्दै केही कर्मचारीलाई सरुवा गरेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका विरोध गरेपछि बैठक स्थगित भएको थियो ।





















प्रतिक्रिया