काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल जसरी पनि निर्माण गरेरै छाड्ने बताएका छन् । शनिबार वीरगञ्ज उद्योग वाणिज्य संघको ४६औं साधारणसभामा बोल्दै मन्त्री शर्माले निजगढ विमानस्थल यसै वर्ष निर्माण सुरु गर्ने प्रतिवद्धता जनाएका हुन् ।
‘निजगढ विमानस्थल बनाउने हो, बन्छ, यसै वर्ष सुरु गर्ने हो । यसको लागि म जे पनि गर्न तयार छु । यो जनार्दन शर्माको प्रतिवद्धता हो । यो अहिलेको शेरबहादुर देउवा सरकारको प्रतिबद्धता हो’ उनले भने ।
हालै सर्वोच्च अदालतले निजगढ विमानस्थल निर्माण गर्न सरकारले गरेका सबै निर्णय बदर गरिदिएको छ र विमानस्थल बनाउनै पर्ने भएमा विकल्प खोज्न आदेश दिएको छ । तर उक्त फैसलाको पूर्णपाठ सार्वजनिक नहुँदै अर्थमन्त्री शर्माले निजगढ विमानस्थल निर्माण गर्ने दाबी गरेका हुन् ।
अर्थमन्त्री शर्माले वीरगञ्ज चिनी मिल चलाउने कुरा बजेटमा उल्लेख गरिएको भन्दै त्यसलाई मजाकको रुपमा नलिन पनि आग्रह गरे । उनले ५–७ महिनादेखि निरन्तर यसबारे गरेको अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा सो चिनी मिल चलाउन सरकार तयार रहेको बताए ।





















प्रतिक्रिया