Logo

टिप्पणी

युरोकपको आर्थिक पाटो : कोरोनाले थलिएको अर्थतन्त्र उकास्‍ने अस्‍त्र बन्ला ?



युरोपियन फुटबल एसोसिएसन (यूईएफए) द्वारा आयोजना गरिएको १६ औं संस्करणको यूईएफए युरोपियन च्याम्पियनसिप युरोकप को नामले चर्चित छ । युरोपियन एसोसिएसनअन्तर्गत युरोपका विभिन्न ११ सहरमा आयोजना हुँदै आएको उक्त प्रतियोगिता १२ जुनदेखि १२ जुलाई २०२० सम्मका लागि तय गरिएको थियो तर कोभिड १९ महामारीको कारण स्थगित गरिएको थियो । सारिएको प्रतियोगिता ११ जुनदेखि सुरु भएको छ भने ११ जुलाई २०२१ सम्म सम्पन्न हुनेछ । 
 
युरोकपको डिफेन्डिंग च्याम्पियन पोर्चुगल हो । यानीकी १५ औँ संस्करणको यूरो वीजेता पोर्चुगल थियो । सन् १९६० मा पहिलो पटक युरोकप आयोजना गरिएको थियो । फ्रान्सको राजधानी पेरिसमा यूरोकपको पहिलो फाइनल प्रतियोगिता भएको थियो । जसको साविक विजेता सोभियत संघ थियो । ६ दशकभन्दा लामो इतिहास बोकेको युरोकपले पछिल्लो चार दशकहरुमा उल्लेखनीय ख्याती कमाएको छ । युरोकपलाई मिनी विश्वकपको रुपमा यूईएफएले परिचित गराउन सफल भएको छ । 

सन् १९६० को पहिलो युरोकपमा चार वटा देशहरुबीच फाइनल खेल भएको थियो । त्यसपछिको चौथो संस्करणसम्म युरोकप सोहि ढाँचामा अगाडि बढ्यो । सन् १९८० मा खेललाई विस्तार गरियो । चार टोलीको फाइनलबाट आठ टोलीमा पुर्‍याइयो । सन् १९८० देखि नै युरोकप गु्रप स्टेजबाट सुरु गरियो । त्यसको १६ वर्ष अर्थात सन् १९९६ मा १६ टोलीबिच युरोकप खेल्न थालियो । जसलाई पुन परिमार्जन गर्दै सन् २०१६ मा २४ देशबीच प्रतिस्पर्धा गराइयो । सन् २०१६ पछिको अर्को खेल २०२१ मा पनि सोहि ढाँचा अपनाइएको छ । 
जारी १६ औँ संस्करणको युरोकपमा २४ देशबीच ५१ खेलहरु भइरहेका छन् । 

युरोकपको विजेता मुलुकले कति पाउँछन् ?

पछिल्लो चार दशकमा युरोकपको आर्थिक पाटो हेर्दा निकै लोभ लाग्दो देखिन्छ । युनियन अफ युरोपियन फुटबल एसोसिएसन (यूइएफए)ले आयोजना गरिरहेको युरोकपकमा १९९२ को संस्करणदेखि आर्थिक लाभ देखिन थालेको थियो । सन् १९९२ को स्विडेनमा आयोजित युरोकपमा ४१ मिलियन युरो आर्जन भएको थियो । जसमा २८ मिलियन युरो भने विजेताहरुलाई छुट्याइएको थियो । 

त्यसको अर्को संस्करण १९९६ मा बेलायतले युरोकप आयोजना गर्दा अघिल्लो संस्करणभन्दा तीन गुणा धेरै आर्जन गर्न सफल भएको थियो । जसमा विजेता टोलीका लागि ६६ मिलियन युरो छुट्याइएको थियो । आक्रमक प्रचार र लोकप्रियता कमाइरहेको युरोकपले सन् २००० को संस्करणमा अर्को फड्को मार्‍यो र आम्दानी दुई सय २९ मिलियन युरो पुग्यो । विजेता टेलीका लागि ७७ मिलियन युरो पुर्‍याइयो । हरेक संस्करणमा पुरानो रेकर्ड तोड्दै अगाडि बढिरहेको युरोकपले सन् २००४ को पोर्चुगल संस्करणमा आठ सय ५५ मिलियन डलरको आम्दानी गर्‍यो । जसमा एक सय २९ मिलियन डलर विजेताका लागि छुट्याइएको थियो । 

सन् २००८ को स्विट्जरल्याण्ड र अष्ट्रियामा आयोजित युरोकपले एक हजार तीन सय ५१ मिलियन यूरो आम्दनी गर्‍यो । जुन समयमा विजेताको धनराशी एक सय ८४ मिलियन डलर रहेको थियो । त्यससमय डलर र यूरोको विनिमयदर १ बराबर १ को रहेको थियो । 

सन् २०१२ मा पोल्याण्डमा आयोजित युरोकपले एक हजार तीन सय ९१ मिलियन युरो आर्जन गर्‍यो । जसमा विजेताको धनराशी एक सय ९६ मिलियन युरो रहेको थियो । त्यसको चार वर्ष अथार्त सन् २०१६ को फ्रान्समा भएको संस्करणमा आम्दानी ३७ प्रतिशतले बढेको थियो । फ्रान्समा एक हजार ९१६ मिलियन युरोको आम्दानी भएको थियो । जसमा धनराशी पनि तीन सय एक मिलियन यूरोको रहेको थियो । 
जारी १६ औँ संस्करणमा २५ सय मिलियन युरो आम्दानी गर्ने आयोजकको लक्ष्य रहेको छ । जसमा विजेताका लागि तीन सय ७१ मिलियन युरो छुट्याइएको छ । 

सन् २०१२ को संस्करणमा प्रतियोगिताले ६ सय ६९ मिलियन यूरोको मुनाफा कमाएको थियो । त्यसको चार वर्षपछि उक्त रकम आठ सय ४७ मिलियन युरोमा कायम भएको थियो । हाल अनुमानित २५ सय युरोको आम्दानीमा एक हजार यूरो भन्दा धेरैको मुनाफाको परिकल्पना गरिएको छ । 

यूनियन अफ युरोपियन फुटबल एसोसिएसन (यूईएफए) अन्तर्गत ५५ मुलुकहरु छन् । जारी युरोकपको लक्ष्य प्राप्ती भयो भने ५५ मुलुकमध्ये हरेकले १८ मिलियन भाग लगाउने छन् । सन् २०१८ को रुसमा आयोजित विश्वकपमा रुसले फिफाका दुई सय ११ राष्ट्रलाई औसतमा १६.७४ मिलियन यूरो बाँडफाँट गरेको थियो । 

विश्वकप जित्नेलेभन्दा कम पैसा पाउँछन् ?

यूरोपियन च्याम्पियनसिपका विजेताले परम्परागत रूपमा विश्वकप विजेताभन्दा कम पैसा घर लिएर जाने गरेका छन् तर त्यो आर्थिकभन्दा पनि बढी राजनीतिक निर्णय भएको आयोजकहरुको ठम्माइ छ । सन् २००४ देखिको तथ्यांकलाई हेर्ने हो भने सन् २००४ को युरोकप विजेताले १८.८ मिलियन युरो पाएका थिए । सन् २००६ को विश्वकप विजेताले २०.६ मिलियन युरो पाएका थिए । सन् २००८ को युरोकप २३ मिलियन घर लग्दा सन् २०१० का विश्वकप विजेताले २७.३ मिलियन यूरो कमाएका थिए । 

सन् २०१२ मा युरोकप विजेताले २३ मिलियन युरो पाउँदा सन् २०१४ को विश्वकप विजेताले ३१.८ मिलियन यूरो कमाएका थिए । त्यस्तै यसअघिको युरोकप विजेताले २५.५ मिलियन यूरो पाएका थिए भने सन् २०१६ को विश्वकप विजेताले ३४.५ मिलियन युरो कमाएका थिए । 

यरोकपमा कुन स्टेजसम्म पुग्‍नेलाई कति रकम ?

जारी युरोकप विजेताले कति पाउँछन अहिले ठम्माउन सकिँदैन तर यसपालीको युरोकप विजेता टोलीले ३४ मिलियन यूरोभन्दा धेरै भने आर्जन गर्न सक्ने छैनन् । जारी युरोकपको विजयी टोलीको धनराशी सन् २०१८ को फेब्रुअरीमा नै तोकिएको थियो । क्वालीफाई भएर अन्तिम २४ मा पर्न सफल हरेक टोलीलाई ९.२५ मिलियन युरोको तोकिएको छ भने ग्रुप स्टेजमा जित निकाल्ने टोलीलाई १.५ मिलियन यूरो र टाई भएको अवस्थामा ७ लाख ५० हजार यूरो दुई टोलीले पाउने छन् । राउण्ड अफ १६ मा खेल्ने १६ टोलीले २ मिलियन यूरो पाउने छन् । 

क्वार्टरफाइनलमा प्रवेश गरेका आठ टोलीले ३.२५ मिलियन युरोका दरले पाउने छन् भने सेमीफाइनलमा प्रवेश गर्ने चार टोलीले पाँच मिलियन यूरो पाउनेछन् । त्यसैगरि यूरोकप विजेता (प्रथम)का लागि १० मिलियन यूरो र फाइनल खेलेर दोस्रो हुनेलाई सात मिलियन यूरोको धनराशी राखिएको छ । 

जारी युरोकप २०२० यूरोपको विभिन्न ११ वटा सहरहरुमा आयोजना भइरहेको छ । इटालीको रोममा यूरो २०२०, सन् २०२१ मा उद्घाटन भएको थियो । वेम्बले स्टेडियममा फाइनल खेल हुने भएको छ । 
आयोजक देशहरुले युरोकपले स्थानीय अर्थतन्त्र उकास्न उल्लेखनीय भूमीका खेल्ने विश्वास लिएका छन् ।    

आयोजक देशले कति कमाउँछन् ?

डब्लिन कमिसनले सार्वजनिक गरेको विवरणमा युरोकपका चार खेल (३ समूह चरण, १ राउण्ड अफ १६) आयोजना गर्दा उक्त देशको आर्थिक गतिविधि थप एक सय ६ मिलियन यूरोले बढाउने उल्लेख गरेको छ । यूइएफएले जुन ११ देखि जुलाई ११ सम्म युरोकप आयोजना गने भने पनि कोभिड १९ को विश्वव्यापी महामारीले एक वर्ष पछाडि धकेलिएको हो । १६ औँ संस्करणको युरोकप २०२० सन् २०२१ को जुन ११ मा मात्र सुरु भएको हो । 

करिब ११ दिन मंगलबारसम्मको तथ्यांकलाई हेर्दा हालसम्म ३२ खेल भएका छन् । जसमा ७६ गोल गरिएका छन् । ३२ खेलमा पाँच लाख ५६ हजार १५५ जना दर्शकले खेल अवलोकन गरेका छन्, जुन औसत एक खेलमा १७ हजार ३८० जना दर्शक बराबर हो । 

कोभिड महामारीका कारण यूइएफएले आयोजक देशहरुलाई स्थानीय स्वाथ्य निकायसँग समन्वय गरि आ-आफ्नो योजना बनाउन सुझाएको थियो । ठूलो जमात एक ठाउँमा जम्मा हुन नहुने स्थितिमा यूईएफएले हरेक आयोजकलाई आफ्नै योजना बनाउन सुझाएको हो । कुनै पनि स्टेडियम पूर्ण क्षमतामा सञ्चालन गर्न नसक्ने बताउँदै यूईएफए २५ देखि १०० प्रतिशतको सीमा भित्र दर्शकहरुलाई प्रवेश गराउने नीति बनाउन आग्रह गरेको थियो । 

यूईएफएको सुझावअनुसार आयोजक देशहरुले २५ देखि १०० प्रतिशतसम्म दर्शकलाई स्टेडियम छिराउने योजना सार्वजनिक गरेका हुन् । तर पनि खेलमा तोकिएको क्षमताभन्दा पनि कम दर्शको सहभागीता रहेको छ । अघिल्लो इंग्ल्यान्ड र क्रोयसियाबीचको खेलमा १८ हजार ४९७ जनाको सहभागीता रहेको थियो । जबकी उक्त स्टेडियमको क्षमता २२ हजार ५ सय तोकिएको थियो । 

एमस्टरड्याम स्टेडियमले ५४ हजार ९९० पूर्ण क्षमता रहेकोमा ३३ दशमलव तीन प्रतिशत अर्थात १६ हजार दर्शक मात्र राख्न पाउने व्यवस्था गरेको छ भने बुडापेस्ट सहरमा रहेको स्टेडियममा ६७ हजार २१५ को पूर्ण क्षमतामा दर्शक राख्न मिल्ने व्यवस्था गरिएको छ । सबैभन्दा कम म्यूनिखथित एलिनाज एरिना स्टेडियममा सबैभन्दा थोरै ७० हजारको २० प्रतिशत अर्थात १४ हजार दर्शकले मात्र खेल हेर्न पाउने व्यवस्था गरेको छ ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार ११:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।