Logo

अन्तर्वार्ता

शिक्षा, स्वास्थ्य र सडकलाई प्राथमिकता दिनेछौँ : राजु गुरुङ [अन्तर्वार्ता]

कृषि र पशुपालनमा युवाहरुलाई सकृय बनाउने हाम्रो योजना



संघीयतामा स्थानीय तह निकै प्रभावकारी बनेको छ । स्थानीय सरकारलाई अझै बढि अधिकार दिनपर्छ भन्ने आवाजहरु पनि आएका छन् । केही पालिकाहरुले भने संघीयताको मर्म र भावना अनुसार काम गर्न सकिरहेका छैनन् ।

अबको पाँच वर्षे कार्यकालका लागि जनताले स्थानीय जनप्रतिनिधि चयन गरेका छन् । केही जनप्रतिनिधिहरुले भटाभट निर्णय गर्न सुरु गरिसकेका छन् । केही पालिकाहरुले राम्रा योजनाहरु अगाडि सारिसकेका छन् । गोरखाको आरुघाट गाउँपालिकामा नेपाली कांग्रेसका राजु गरुङ निर्वाचित भएर कार्यभार सम्हालेका छन् । आरुघाट गाउँपालिकामा अबका योजनाहरुको विषयमा अध्यक्ष गुरुङसँग अनलाइनपानाकर्मी रामनाथ कुँवरले गरेको कुराकानी ।

आरुघाट गाउँपालिकामा कस्ता योजनाहरुलाई अगाडि सार्नुहुन्छ ?
हामी यहाँ पहिलो प्रथामिकतामा निर्वतमान सरकारले गरिरहेका अधुरा कामहरुलाई पूरा गर्नेछौँ । पालिकाको सबै वडाका टोल-टोलमा नै सडक जोडिएको छ । अब हामी त्यसलाई स्तरउन्नती गरेर ग्राबेलिङदेखि कालोपत्रेसम्मको योजना छ । शिक्षाको क्षेत्रमा सबै विद्यालयहरुलाई व्यवस्थित गरेर भौतिक रुपमा मात्रै होइन शैक्षिक रुपमा पनि गुणस्तरीय शिक्षा प्रदान गर्ने विद्यालयहरुको व्यवस्थापन गर्नेछु ।

सबै वडाहरुमा स्वास्थ्य इकाईहरु स्थापना गर्नेछौं । सबै ठाउँमा स्थास्थ्य केन्द्रका भवनहरु निमार्ण गर्ने जस्ता योजनाहरु छन् । हामी विशेषगरि स्वास्थ्य, शिक्षा र सडकलाई नै बढि प्राथमिकतामा राखेका छौं । त्यसैगरी खानेपानीको क्षेत्रमा कुरा गर्दा, हाम्रो पालिकामा एक घर एक धारा केही वडाहरुमा सञ्चालनमा छ । अब हामी सबै ठाउँमा यो योजना पुराउनका लागि प्रदेश सरकार र संघ सरकारसँग समन्वय गरिरहेका छौं । यो क्रामगत योजनाहरुमा परेको छ ।

कृषि र पर्यटनमा कस्ता योजनाहरु छन् ?
हाम्रो पालिकामा धान खेती राम्रो हुन्छ । मंगलटार र सिमखोलाको एरियालाई धान खेतीको पकेट क्षेत्र नै घोषणा गरिएको छ । त्यसैगरी हाम्रो पालिकामा प्याज, लसुन लगायतका धेरै तरकारीहरु पनि राम्रो उत्पादन हुन्छ । ती उत्पादनको भण्डारणका लागि हामीले कोल्ड स्टोरको स्थापना गर्ने योजना बनाएका छौं । उत्पादित वस्तुहरु समयमा निर्यात भएन, बिक्री भएन भन्ने यहाँका किसानहरुको गुनासो छ । त्यही गुनासोलाई मध्यनजर गर्दै कोल्ड स्टोर बनाउन लागिएको हो । हामी स्टोर बनाएर व्यवस्थापन गर्नेछौँ । कृषि तथा पशुपालनमा हामी अनुदानका योजनाहरु पनि ल्याउने छौं ।

त्यसैगरी पर्यटनमा हाम्रो अरुघाट गाउँपालिका ४ थुमिडाँडा भन्नेमा भ्युटावरको डिपिआर भएको छ । त्यसमा निर्माण कार्य सुरु भैसकेको छ । त्यहाँबाट हाम्रो छिमेकी गाउँपालिका धार्चे हुँदै चुमिनुम्री गाउँपालिकासम्म जाने ट्रयाकका लागि डिपिआर भएर काम अगाडि बढिरहेको छ । त्यस्तै आरुघाटको रमाइलो डाँडालाई पर्यटकीय हिसाबले निर्माण गर्दैछौँ । त्यो ठाउँ आरुघाट बजारको नजिक पर्छ । त्यहाँ हामीले भर्खरै इन्दे्रणीको टिमलाई लगेर रमाइलो पनि गरियो ।

गाउँमै रोजगारको अवसर सृजना गर्न कुनै योजना छ ?
पहिलो कार्यकालमा पनि आरुघाटमा विभिन्न तालिमहरु भएका थिए । साबुन बनाउने, झुल बनाउने, अचार बनाउने, मालाहरु बनाउने, सिलाई बुनाई जस्ता विभिन्न तालिमहरुलाई हामी निरन्तरता दिने छौँ । यसलाई अझै व्यवस्थित बनाएर व्यवसायिक रुपमा काम गर्न सक्ने बनाउने छौं । हामी कुखुराको दाना उत्पादन गर्ने ह्याचरीको तालिम दिएर उद्योग स्थापना गर्ने योजना छ । त्यसैगरी हाम्रोमा दूग्ध विकास केन्द्र पनि स्थापना भएको छ । त्यसलाई थप बजेट विनियोजन गरेर सुधारेर राम्रोसँग सञ्चालन गर्ने रोजनगारको सृजना गर्ने । त्यसैरी दूध उत्पादनमा जोड दिएर नियाृत गर्ने पक्षमा छौं । यसरी हामीले यहाँ सञ्चालन गर्न सकिने साना उद्योगहरु, कृषि र पशुपालनलाई महत्व दिँदा आफैँ रोजगारीको अवसर सृजना हुन्छ । भन्ने मान्यतामा हामी अगाडि बढेका छौं । युवाहरु विदेश जाने समस्या हाम्रो देशको जटिल समस्या हो । तर हामीले यसलाई झ्याप्पै रोक्न हुँदैन् । युवाहरुमा विदेशमा गएपछि धेरै कमाई हुन्छ भन्ने परेको छ । त्यसलाई चिर्न हामीले यहाँ काम गर्न सक्ने राम्रो आम्दानी गर्न सक्ने स्थिति निर्माण गर्ने छौं । कृषि र पशुपालनमा नै युवाहरुलाई सकृय बनाउने हाम्रो योजना छ ।

स्थानीय सरकारमा अनियमितता भएका छन् । यसरी अनियमितता हुन नदिन कस्ता योजना छन् ?
अघिल्लो कार्यकालमा के के भएको छ ? कसरी भयो ? भन्ने विषयमा पनि हामी छानबिन गर्नेछौँ । त्यसैगरी हामीले भ्रष्टचार हुन नदिन सबैले नियम र नीतिमा रहेर आ-आफ्नो जिम्मेवारी पूरा गर्न पर्छ । ठेकेदार कम्पनीले समयमा काम गर्ने, समयका बिल भुक्तानी गर्न पर्छ ।

त्यसैगरी कर्मचारी साथीहरुले पनि काम रोक्दिने, घुस लिने गरेको रहेछ भने हामी कारवाही गर्ने छौं । कर्मचारी भनेको लोकसेवाबाट जनताको सेवा गर्न आएका हुन भने हामीलाई पनि जनताले पठाएका हुन् । यी दुवै तत्व मिलेर समस्याहरु समाधान गर्नुपर्छ । यसमा हामी छलफलको क्रममा छौं । हामीले उपभोक्ता समिति, निर्माण कम्पनीहरु सबैलाई बोलाएर राम्रोसँग छलफल गर्ने छौं । यसरी हामी आरुघाटलाई भ्रष्टचारमुक्त पालिका बनाउने छौं । जहाँसम्म समग्र स्थानीय सरकारले भ्रष्टचार गर्यो भन्नेमा कुनै-कुनै पालिकामा भ्रष्टचार भएका छन् । त्यहाँ छनमिन गरेर दोषीलाई नियम बमोजिमको कारवाही हुन पर्छ ।

योजना बनाउँदा, बजेट विनियोजन गर्दा जनसहभागिता भएन भन्ने छ । यसमा तपाईँको योजना के छ ?
मैले निर्वाचन जितेर सपथ लिए लगतै कार्यपालिकाको बैठकमा पालिकाका जनप्रतिनिधिहरुलाई भनेको छु, कि धेरै भन्दा धेरै जनसहभागिता गराउने, टोलटोलमा गएर योजना छनोट गर्ने । सबै राजनीतिक दलसँग परामर्श गर्ने । सबैको आवाज आउनेगरि योजना छनोट हुन पर्छ भनेर भनेका छौं । त्यसरी जनताबाट आएको योजनालाई कार्यपालिकामा ल्याएर हामी छलफल गर्छौं । छलफलपछि आवश्यक्ता र महत्वको आधारमा निर्णय गर्ने छौं ।

संघ र प्रदेशसँग कसरी समन्वय गरेर, सहकार्य गरेर जानुहुन्छ ?
हाम्रो पालिकामा गत आर्थिक वर्षमा पनि खासै राम्रा योजनाहरु संघ र प्रदेशबाट परेन् । यो आर्थिक वर्षमा पनि संघले यहाँ कुनै पनि योजना हालेको छैन् । त्यसैगरी हामीले प्रदेशसँग छलफल गरिरहेका छौं । हाम्रो पालिकामा राम्रा योजनाहरु नपरेकोले गुनासो पनि गरिरहेका छौं । यसरी हामी भ्याएसम्म केन्द्र र प्रदेश दुवैसँग समोन्वय गरेर अगाडि जान्छौं ।

प्रकाशित मिति : जेष्ठ २५, २०७९ बुधबार  ५ : ४५ बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।