Logo

प्रमुख समाचार

अनेक वृत्तहरूमा जिन्दगीको लेखाजोखा



एउटा विन्दुबाट आरम्भ भएको मान्छेको जिन्दगी, समयको रथमा सवार भएर अनेक आकार, आकृति, अनुभव र अनुभूति हुँदै एउटा मुकाममा पुग्दछ । जिन्दगीको मुकाम केलाई भन्ने, त्यो तर्कको विषय हो । जीवन र जगतका गुह्य रहस्यहरूबारेको बुद्धत्व पाउनु कसैका लागि जिन्दगीको मुकाम हुनसक्छ भने कसैलाई सम्पूर्ण आवश्यकताहरूको सहज पूर्ति जिन्दगीको मुकाम हो । कतिपयका लागि नश्वर देहबाट प्राणको सहज मुक्ति नै जिन्दगीको मुकाम हो । परिभाषा जे पो होस्, जीवनको बोधबाट ओतप्रोत हुनु, अनुभवहरूबाट परिपक्व हुनु, र ती बोध र अनुभवलाई कलाको अनुपम संयोजनमार्फत् सिर्जनमा उतार्नु पनि, एक अर्थमा, एउटा मुकामको प्राप्ति हो ।

यसरी हेर्दा, लामो समयदेखि आफूलाई सिर्जनाको आरनमा खार्दै आएका, र जीवनका अनुभव र अनुभूतिबाट पनि परिपक्व भएका विनयशील कवि विष्णु पादुकोको कवितासङ्ग्रह ‘बिन्दुकोृ वृत्त’ एउटा सुन्दर मुकाम हो, एउटा अर्थपूर्ण प्राप्ति हो । समथर र सुविधासम्पन्न कोहलपुर र दुर्गम र अभावग्रस्त डोल्पाबीच उनको समय विभाजित छ, र यसै विभाजनको बीचबाट उनको जीवनदृष्टि आवरणबाट गहिराइतिर, दृश्यबाट दर्शनतिर तथा धारणाबाट ध्यानतिर उन्मुख भएको देखिन्छ । पाठकलाई ध्यानको तहमा उचाल्ने, र एक उच्च विन्दुबाट जीवन र जगतका गुह्य यथार्थको दर्शन गराउने उनका कविताको ल्याकतले भन्छ— विष्णु पादुका कविहरूको भीडमा थपिएको अर्को एक कविको नाम मात्र चाहिँ कदापि होइन । उनलाई पढ्नु र बुझ्नु, सरल शब्दमा जटिल यथार्थलाई सम्झनु र बुझ्नु हो । अँ, सधैँ केन्द्रबाट, विशेष गरी राजधानीबाट, त्यो पनि होहल्लापूर्ण मठ र मिडियाका आँखाबाट सिर्जनालाई हेर्न पल्केका हाम्रा आँखाले कोहलपुरको मैदान र डोल्पाका पहाडहरूमा उनलाई सामन्यताबाट असामान्यता उघाउँदै गरेको कत्तिको देख्छन्, त्यो अर्कै बहसको कुरा हो । तर, एउटा कुरा पक्का हो— कविताको वृत्तमा विष्णु पादुकाको उपस्थिति एउटा विराट प्रतिभाको उपस्थिति हो, र उनको ‘बिन्दुको वृत्त’ यसको प्रत्याभूति हो ।

‘बिन्दुको वृत्त’ भित्रका कविताको विवेचना गर्न त्यति सरल छैन । उमेर, अनुभव, अध्ययन र अनुभूतिको आरनमा खारिएर आएका पादुकाका कवितालाई बोध गर्नु र विश्लेषण गर्नु एउटा कटमेरो उमेरको मजस्तो समीक्षकका लागि निःसन्देश एउटा जोखिम र दुष्प्रयास हो, तथापि, उनका कविताको झङ्कारबाट आह्लादको बिस्कुन उठाउने हक हामी सबैलाई छ !

पादुकाका कविताभित्र विभिन्न वृत्त छन् । ती तिनै वृत्तहरूसँग समाञ्जस्य राख्छन्, जसलाई दर्शनशास्त्रीहरूले एउटा मान्छेसँगको निकटता र क्रमिक रूपमा बढ्दै जाने दूरीसँगको सापेक्षतामा सैद्धान्तिक्रीत गरेका छन् । आन्तिमक वृत्त, निजी वृत्त, समाजिक वृत्त र वैश्विक वृत्तमा मान्छेका सम्बन्धहरू र तिनको सापेक्षित दूरीको मापन गरिएको हुन्छ । आत्मिक वृत्तभित्र खासमा मान्छेको आन्तिरिक व्योम अटाउँछ, र ती थोरै मान्छे अटाउँछन्, जससँग मान्छे कुनै पनि प्रकारको दूरी राख्नुपर्ने आवश्यकता नै ठान्दैन । उदाहरणका लागि एउटा पुरुषलाई लिऔँ । ऊ आफैँसँग, आफ्नी श्रीमतीसँग, एउटा उमेरसम्म आफ्नी आमा र छोराछोरीसँग, र ध्यानदृष्टिले छोएको उसको भित्री संसारसँग कुनै दूरी अनुभव गर्दैन, वा गर्नुपर्ने आवश्यता महसुस गर्दैन । त्यो उसको आत्मिक वृत्तको परिधि हो । निजी वृत्तमा परिवारजन र निकटस्थहरू रहलान्, र समाजिक वृत्तमा छरछिमेक र साथीभाइ । वैश्विक वृत्तमा त्यो जगत छ, जससँगको मान्छेको सम्बन्ध सधैँ एउटा निश्चित दूरीकै आधारमा परिभाषित हुन्छ । यसै वृत्तमा दर्शन, कला, सिर्जना, पराभौतिक र आध्यात्मिक अनुभूति र सिद्धान्तहरूको व्योम पनि अवस्थित हुन्छ सायद । अब विष्णु पादुकका कविताले अँगालेका एकएक वृत्तको सर्सती विवेचनातिर लागौँ ।

आत्मिक र निजी वृत्त भनेका एकअर्कासँग जोडिने–छुटिने वृत्त हो । त्यसैले, यी दुईलाई एउटै परिभाषाभित्र समेटौँ । यस वृत्तभित्रका पादुका कविता आफू, आफ्ना बा र आमा, छोराछोरी, प्रेमिका र साथीभाइ, तथा आफ्नो ध्यानदृष्टिले स्पर्शित भाव, ज्ञान वा बोधको भित्री संसार हो । यस संसारका बारेमा लेख्न के नै बाँकी छ र, वा कुन नयाँ कुरा लेखिएला भन्ने प्रश्न उठ्ला, तर त्यस प्रश्नलाई नै परास्त पर्ने गरी कवि पादुकाले यस वृत्तको अन्वेषण गरेका छन्, र त्यहीँ सूक्ति वा दृष्टिको अविष्कार गरेका छन् । केही कवितालाई साक्ष्यका रूपमा लिऔँ । ‘आमा’ शीर्षकको कवितामा भन्छन्— हामी त÷तिमी थुनिएको÷जेलका भित्ता पो भएछौँ ।’ आमालाई सम्बोधन गर्दै अगाडि भन्छन्— ‘पहरामा लहरो बन्दै परसम्म जाऊ न÷म तिमी हिँडिरहेको हेर्न चाहन्छु ।’ यानि, आमाको महानताको परम्परागत ढर्रालाई एकातिर मिल्क्याएर उनी हामी कसरी आमाको व्योम खुम्च्याउँछौँ, र हाम्रो मातृभक्तिको दिशा कस्तो हुनुपर्छ भन्ने कुरामा बढी केन्द्रित छन् । ‘बा’ शीर्षकको कवितामा पनि उनी बाका बारेको हाम्रो समान्य अपेक्षा भत्काउँछन् । भन्छन्—

रहरहरू खल्तीमा
पैसाभन्दा सुरक्षित हुने रहेछन् ।
भोक खाएर पनि छाक टर्ने रहेछ ।
निद्रा बेचेर सपना किन्नु पर्ने रहेछ ।


सुन्दा समान्यतया उस्तै लाग्ने
सुत्नु र निदाउनु फरक हुने रहेछ ।

यसै कवितामा अगाडि लेख्छन्— ‘पितृलोकबाट एउटा मात्र सन्देश आओस्— छोराछोरी र सन्तानमा के फरक छ? कति फरक छ?’ यस प्रश्नको उत्तरमा एउटा बृहत् आकारको महाकाव्य लेख्न सकिन्छ सायद । ‘छोरीसँग’ आत्मिक वृत्तको उनको अर्को कविता हो, जसमा छोरीको भविष्को चिन्ता गरिएको छ र उसलाई अन्याय भएको खण्डमा ‘आँसुको समुद्र होइन आक्रोशको ज्वाला बोल्नू’ भनेर उपदेश दिइएको छ । ‘दोसाँध’ जिम्मेवारी काँधमा लिँदाको बोधको कविता हो । कवितामा बाको समय, र कविको आफ्नो समयको तुलना छ । बा बितेपछि बाले बोक्ने गरेका जिम्मेवारी आइलाग्दा, आफू बा हुनु, तर आफूले बा गुमाउनुको, यानि, बा हुनु र नहुनुको दोसाँधमा आफू उभिँदाको अनौठो अनुभूतिलाई कलात्मक रूप दिइएको छ । ‘तिमी’ भनेर सम्बोधन गरिएकी प्रेमिकालाई पनि उनले आफ्ना कविताको परिधिभित्र अटाएका छन् । प्रेमको एउटा उदात्त विन्दुबाट निर्मित यस कवितामा भनिएको छ, ‘तिमी’ कलम हुँदी हौ त, जीवनका धेरैे बेमेलहरू मिलेर आउँदा हुन् । तर कविको तिक्तता के छ भने, उनकी ‘तिमी’ कलम भएर आइनन् । र नै, मनको बगैँचा तहसनहस हुन पुग्यो । लाक्षणिक अर्थमा, सामान्य कुरा सिर्जनाको मूल बनेर आयो भने, जीवनका धेरै वैषम्यहरू आफैँ सुन्दर बनेर आउँछन् भनेर पनि यस कवितालाई बुझ्न सकिन्छ ।

आत्मिक वृत्तकको अर्को पाटो चिन्तनको हो, जसका लागि मान्छे अन्तर्मुखी हुन्छ, र आफ्नै मूर्त–अमूर्त अस्तित्वतिर फर्कन्छ । स्वभावले पनि अलि अन्तर्मुखी कवि विष्णु पादुका — यस बान्कीका कविताबाट दूर रहने त कुनै भएन । उनका कविता, माथि प्रवेशविन्दुमा उल्लेख गरिए झैँ दर्शनको जगमा उभिएका छन् । त्यसैले पनि ध्यानमय र चिन्तनशील छन् नै । ‘ढुङ्गाको मुटु’ मा निकटस्थले साथ छोडिदिँदा चेनाशून्य भएको कुनै एक्लो मान्छेको चित्रण छ, जसलाई विछोडको पीडा यति असह्य छ कि, ऊ संवेदनाशून्य जस्तो लाग्छ, र जगत उसलाई ढुङ्गा भन्छ । तर, भित्र धड्किरहने मुटु बोकेको हुँदा ऊ अन्य ढुङ्गासँग पनि त बाँच्न सक्दैन ।

‘मेरो ईश्वर’ आत्मस्वीकृतिको एउटा सुन्दर कविता हो, जसमा अनेकौँ ईश्वरमध्ये आफ्ना लागि भाग लगाइएको कुनै ईश्वर छ भने ऊ आफूजस्तै दोमनको, रुन्चे, घमण्डी, मर्म दिएर धर्म निभाउने, अन्तर्मुखी र एक्लै रमाउने खालको छ । यानि, ईश्वरभन्नु मान्छेले आफ्नो स्वभावअनुकूल कल्पना गरेको एउटा अमूर्त सत्ता हो । यो आफैँमा एउटा सैद्धान्तिक विद्रोह हो, एउटा फरक मत हो । ‘पाठ’ पनि आफ्नै आत्मनिरीक्षणको कविता हो, जसमा अनेकन विषम स्वभावका कारण एउटा व्यक्ति आफ्नै लागि पनि चिनिनसक्नुको हुन्छ । र नै कविको निचोड छ— ‘आफैँलाई नचिन्नु नै जिन्दगी हो ।’ कवि पादुका कहिलेकाहीँ मृत्युचिन्तन पनि गर्छन् । ‘मृत्युपत्र’ मा उनी मर्न मन लागेका अनेक क्षणको क्रमिक चित्रण गर्छन्, जब उनलाई संसारका अनेक मोहपासले मर्नबाट रोकेको छ । कहिले बाका कुराले, कहिले नर्सका कुराले, कहिले जन्मेको मुहूर्तको सम्झनाले, त कहिले आफू मरे पनि संसारमा विद्यमान समस्या र स्वभाव नफेरिने, र जगत पुनः आफ्नै लयमा फर्कने बोधले मृत्यु स्थगित गर्न पुगेको कुरा छ । ‘म मर्दैमा यी कुरा मर्दैनन्’ कविको बुझाइ छ । भन्छन्— ‘म दुनियाँ छोड्छु÷फेरि पनि दुनियाँ मेरोे पछि लाग्ने छ ।’ एक वा अर्को विरक्तिका कारण मर्न उद्यत कसैका लागि पनि यो कविता एउटा गतिलो जवाफ हो र जीवनमा फर्कने आधार हो ।

आफैँलाई खोज्नु, अथवा आफ्नो पहिचानको उत्खनन गर्नु पनि आत्मिक व्योमको एउटा अनिवार्य अनुष्ठान हो । ‘परिचयपत्र’ मा कवि पादुका आफ्नो विकट र दूरस्थ अस्तित्वको उत्सव मनाउँछन्, र इमन्दार आत्मस्वीकृतिमार्फत् आफ्नो परिचय एउटा देशभक्त र सुदूरमा रमाउने शिक्षकको रूपमा प्रस्तुत गर्छन् । ‘सिउँडी’ मा आफूलाई केवल रातो रगत बोक्नुमा मात्रै सिउँडी भन्दा फरक पाउँछन् । नत्र, अनुहारभरि तीखो सुन्दरता सजाएर, मौसमी रूपमा मुस्काउन नसक्ने, र त्यसै कारण कसैसँग नजिक हुन नसक्ने स्वभावको उद्घाटन गर्छन् । यसरी उनका निकटस्थहरू, अथवा उनीभित्रकै भाव र उछ्वासहरूलाई विषय बनाएर कवि पादुकाले कविता लेखेका छन् ।

जहाँसम्म सामाजिक वृत्तको प्रश्न छ, त्यसमा कवि पादुकाले चिनाजानाहरू, साथीभाइ र आफूले देखेको समाजको मिहिन चित्रण गरेका छन् । ‘साथी’ शीर्षकको कवितामा मित्रताका ती तमाम अदृश्य र अमूर्त आयामहरूको चित्रण गरिएको छ, जसलाई समान्यतः उपेक्षित गरिएको हुन्छ, तर वास्तवमा तिनैले मित्रताको जग जोगाइरहेका हुन्छन् । मित्रता, कवितको बुझाइमा त्यो एउटा ‘न्यानो स्पन्दन’ हो, जो मान्छेलाई खुसी दिन पर्याप्त छ । कवि लेख्छन्—

त्वचा स्पर्शको लालचदेखि पर
नदेखिने नभेटिने एउटा खुसीमा
पागल हुन कोही सक्छ त
सायद उही साथी हुनुपर्छ

‘बौलाही’ यसै वृत्तको एउटा अर्को अनौठो कविता हो, जसमा एउटी सुन्दरीको चित्रण छ, जो हेर्नेहरूका तीक्ष्ण आँखाका अङ्कुसले दिन दिन दुख्दै गएकी छे, र क्षत–विक्षत बन्न पुगेकी छे । अहिले उसको सहनशीलताले सीमा नाघेको छ, र हिजो सुन्दर देखिने उसका आँखमा आज ऊ बौलाही देखिएकी छे ।

वैश्विक वृत्तमा तीन प्रकारका कविता भेट्टाउन सकिन्छ — संसार सम्बन्धी, सिर्जना सम्बन्धी र दर्शन सम्बन्धी । केही कविता उनले स्पर्श गरेका भूगोलका छन्, जसलाई देश वा समयले सम्यक दृष्टिले हेरन पनि, र चिनेन पनि । ‘वृत्त बाहिरदेखि’ शीर्षकको कवितामा उनले कर्णालीबाहिरका मान्छेले कर्णालीलाई हेर्ने खोटी दृष्टिकोणको चिरफार र भत्र्सना गरेका छन् । ‘दुर्गमको कोटामै मख्ख’ पर्ने बानी, ‘ठेक्काकै खालमा बसेको नेतृत्व’, ‘सहरमा फसेर’ बिग्रने गाउँले युवा’ जस्ता विकृतिका कारण कर्णाली अझै पनि ‘उस्तै छ’ । ‘हितको हिमाल’ मा पनि यस्तै दुर्गम भेगको चित्रण छ जहाँको यार्सागुम्बा अन्यत्रै लगिन्छ, जहाँका चौँरी अझै पनि लडेरै मर्छन्, जहाँ छोरीहरू कलिलो उमेरमै बिहे गर्छन्, र बच्चा जन्माउँदा ज्यान गुमाउन अभिशप्त छन्, जहाँ बालकहरू स्कुलमा गयल भइरहन्छन्, जहाँ भोटका बेला आउँछ भनेको सडक कहिल्यै आउँदैन, जहाँ बाटैमा आफन्त हराउँछन् र घोडा रित्तै घर फर्कन्छ, जहाँ पुलको अभावमा अझै पनि खुट्टैले चिसो खोला तर्छन् गाउँलेहरू, र जहाँ चल्ने सिरेटोले कहिल्यै विकास बारे कुनै खबर ल्याउँदैन ।

अहिले हामीले बाँचिरहेको संसारको मूलभूत परिचय भनेको, हामीले माने पनि नमाने पनि मूल्यहरूको क्रमिक ह्रास, बढ्दो असमानता र विरोधाभास, र विभिन्न विभाजन रेखावरिपरि संसारको क्रमिक क्षयीकरण हो । यी विषयका वरिपरि कवि पादुकाका अनेक कविता आएका छन् । उनलाई क्रान्तिका नाममा भएको मारकाट पटक्कै मन पर्दैन । संभवतः बामपन्थको आडमा भएको विद्रोहको कुरा हो, ‘श्वेत क्रान्ति’ शीर्षकको कवितामा आफूलाई ‘रातो बिरामी’ यानि, रगतका खेलहरूबाट आहत मान्छन् । परिवर्तन र क्रान्तिको विरोधी नभए पनि रक्तपातको विरोधी हुँ भन्ने पादुका, त्यसैले भन्छन्— आऊ, रगत नबगाई क्रान्ति गरौँ । उनलाई समयको नेतृत्व गर्छु भनेर अगि आएका अगुवाहरूको चालप्रति पनि विमत्ति छ । ‘अगुवा’ शीर्षकको कवितामा उनले गरेको अगुवाको चित्रण र त्यसभित्र निहित व्यङ्ग्यचेत पढ्न लायक छ—

आँधी बनेर पनि आउँछ ऊ
मन लाग्दो उनको तनसँग खेल्छ
सुकुटी सम्झेर ढुकुटीसँग खेल्छ
अनि थाहा नदिई सुटुक्क भाग्छ
अतृप्ति लिएर आउँछ अनि कृतघ्न भएर जान्छ ।

यी र यस्तै अगुवाहरूले हाँकेको देश र समाजमा, त्यसैले, अव्यवस्था हुनु पनि स्वाभाविकै हो । कवि पादुकाका आँखा पनि त्यस्तै व्यथितिपूर्ण व्यवस्थाबाट आक्रान्त छन् । उनी दिक्क छन् । यो वा ऊ तर्कमा एकपछि एक परिवर्तनहरू आए । देश, लोकतन्त्र हुँदै गणतन्त्रसम्म आइपुग्यो । तर पनि, नयाँ भनिएका परिवर्तनमा फगत प्रयोग भेटिन्छ । तिनमा पुरानै विचार र अभ्यासको धङधङी भेटिन्छ । त्यसैले, ‘व्यवस्था’ शीर्षककोको कवितामा भन्छन्— ‘मुढाको आगो खरानीभित्र÷साँच्चिकै ननिभेको हो त?’ हो भन्नुजस्तो प्रश्न छ । र, हो नै । जगत अन्याय र अत्याचारको आगोमा जलेर आक्रान्त छ, तर शासक यति क्रूर छ कि न्याय र अधिकार खोज्नेलाई नै ठुटा बनाएर बालिदिन्छ । ‘आगो’ शीर्षकको कविताले चित्रण गरेको समयचित्र हो यो । मन्छेले जन्मसिद्ध लिएर आएको यो विद्रोहको आगोलाई यद्यपि पनि, आश्वासनले वा दमनले मार्न खोजिन्छ । तर, पादुका भन्छन्— ‘आगो सल्किन समय लाग्ने मात्र हो ÷सल्केपछि निभाउन सजिलो हुने छैन ।’ अगाडि लेख्छन्— ‘यतै कतै हस्तान्तरण भनई ÷यो आगो कहिल्यै निभ्ने छैन ।’ निभ्न दिनु पनि हुँदैन । यही सन्देश दिन्छ हामीलाई उनको ‘आगोसँग आउँदै–जाँदै’ शीर्षकको कविताले ।
मान्छे आडम्बर र ढोँग बाँच्छ, र सतही ज्ञानमा घमण्ड गर्छ । वास्तवामा ऊ फेरिँदो समयको वास्तविक मूल्याङ्कन गर्न सक्तैन वा जन्दैन । यो भाव ‘यार्चा’ शीर्षकको कवितामा व्यक्त भएको छ । मान्छे कतिसम्म गिरेको छ, त्यसलाई एक झटकामा कवि पादुकाले ‘न्यूटन’ शीर्षकको कवितमा उतारेका छन् । एउटा अर्को न्युटन आइदिओस् भन्छन् ता कि ‘मान्छे किन यति धेरै गिर्दैछ, पत्ता लागोस् ।’

विकृतिको अर्को एउटा पाटो लैङ्गिक हिंसा र असमान अस्तित्व पनि हो । ‘विन्दुको वृत्त’ शीर्षकको कवितमा एउटा यस्तो वृत्तको चर्चा गरिएको छ, जुन यस्तै हिंसाको खुड्किला चढेर अगाडि बढ्छ । फगत माटोजस्तो प्रतिक्रियाविहीन मानिने स्त्री शरीरमा वीर्यपात गराइन्छ लोग्ने मान्छे, तर सन्तान जन्मियोस् भन्ने इच्छा राखिँदैन । तर पनि, सन्तान त जन्मन्छ नै । त्यसपछि, उक्त स्त्री शरीर झनै उपेक्षाको सिकार बन्छ । उनी जसोतसो सन्तान हुर्काउँछिन् । उनलाई पिताता भन्छ समाज, तर उनी अझै पनि ‘बिन्दुको वृत्त’ यानि, आफूले जन्माएको शिशुको पूर्ण जीवनको कल्पना गरिरहेकी छिन् ।

यस्तो छ भूगोल, जगत र समय । र यस बेला कवि पादुका कविता लेखिरहेका छन् । यस्तोमा, उनको कवितादृष्टि के होला? यत्तिको लामो विवेचनामा उनका कविता कतै पनि पूर्ण रुमानी देखिएनन् । कुनै स्वेरकल्पनाको बाटो काल्पनिक सुखको व्योम खोजेका पनि भेटिएनन् । उनी खुकुरीको धारजस्तो यथार्थमा उभिएका छन्, र कुर्कुच्चाबाट रगत चुहाउँदै भए पनि हाम्रै समयका कुरा बोलिरहेछन् । यस्तोमा, उनमा समयचेत प्रचूर मात्रामा छ, र उनको आलोचनात्मक मस्तिष्क निकै सक्रिय छ । त्यसैले, उनको कविता दृष्टि पनि आलोचनात्मक दृष्टि हो ।

सङ्ग्रहमा धेरे कविता उनले कविताकै बारमा लेखेका छन् । यानि, उनको अधिकवितात्मक चेत अत्याधिक छ । नहोस् पनि कसरी? उनी कवि मात्रै होइनन्, एउटा तीव्र चेतनाका समीक्षक पनि हुन् । कवितसम्बन्धी उनका केही कविताको विवेचना गरौँ । व्यङ्ग्यचेतले भरिएको ‘शक्तिहाली कविता’ शीर्षकको कवितामा उनी कविता लेखन, विषेश गरी विषय छनोटमा देखिएको विसङ्गति र विचलनमाथि कटाक्ष गर्छन् । स्तुति, भजन वा प्रर्थाना लेखेरै कवित्व दावी गर्ने कविहरूको हूलमा अभाव र पीडा, आम मान्छेका दैनन्दिन सरोकारका कुरा आदिलाई कविता नमान्ने, तर अलिकति नामको लेपन, अलिकति दुःख, पीर र वेदनाको उधारो अभिव्यक्तिमाथि आकर्षक र वरिष्ठ प्रकाशन गृहको कलेवर लागेपछि कविता बन्छ भन्ने भ्रमखेती गर्ने प्रवृत्ति उनको कटाक्षको निशानामा छ ।

‘कवि र कविता’ मा भने उनले कविता र कविको स्वभावको बीच बढ्दै गरेको दूरीलाई विषय बनाएका छन् । सुदूरको निम्नभन्दा तल्लो स्तरको मान्छेको कविता राष्ट्रिय कविता मानिँदैन र हेयका दृष्टिले हेरिन्छ भन्ने गुनासो उनको ‘कतै म पो गलत छु कि?’ शीर्षकको कवितामा छ । ‘यादहरूको गन्तव्य’ को सार छ— मनको आँखाले सुन्न सकियो भने कविता बोल्छ । मुस्कानहरूको बिस्कुनलाई आँसुको भेलले भण्डारन गर्ने ठाउँ पनि, सायद, कविता नै हो । ‘कृत्रिम कविता’ मा भन्छन्— आलाप, कुण्ठा, आसक्ति र भजनले दिनदिन कवितालाई कृत्रिम बनाइरहेको छ । ‘अरूको कविता लेख्न सक्दिनँ’ भन्ने कवि पादुकाका लागि आफ्नै सुख र दुःखको भूगोल कविताको निजी संसार हो ।

विष्णु पादुकाको कवित्वको उच्चतम प्राप्ति तिनको दार्शनिक ओज हो । वैश्विक वृत्तको उच्चतम गन्तव्य पनि दर्शन हो, र त्यसलाई अनेक कवितामार्फत कवि पादुकाले स्पर्श गर्ने प्रचेष्टा गरेका छन् । आफ्नो जीवन दर्शनलाई उनले दर्शनको कुनै केरा सिद्धान्तमा अथवा अध्यात्म बोकेर उभिने ग्रन्थमा बलात् उभ्याएका भने होइनन् । साना साना कुराहरूको योगबाट उनको जीवन दर्शनको जग खडा हुन्छ । उदारहणका लागि, एउटै मान्छे आफैँभित्र विविध आग्रहहरूमा विभाजित छ र ती परस्पर विरोधी आग्रहहरू एक अर्कालाई निषेध गर्छन् र बदला लिन्छन् भन्ने भाव उनको ‘ऊ’ शीर्षकको कवितामा छ । आफ्नो अति नै निकट रहने यथार्थले छोडिगएका प्रश्नहरूको उत्तर नपाउनु नै जीवन हो । यो दर्शन उनको ‘निद्रा युद्ध’ भन्ने कवितामा छ ।

वास्तवमा निद्रा, सिरानी, तन्ना, परेली र शरीर आफैँसँग त छन् । तर पनि, हामीभित्र छटपटीको एउटा अविराम शृङ्खला विद्यमान छ । त्यो किन? हामीसँग उत्तर छैन । गहिराइ किन डरलाग्दो हुन्छ? के टाउकोभित्र पनि गहिरो समुद्र छ, जहाँ नुन बग्छ र आँखामा मिसिन्छ? ‘निरुत्तर म’ मा सोधिएको यस प्रश्नको पनि त उत्तर छैन । यस्ता अनुत्तरित प्रश्न र अविराम दुःख जीवनका पाटा हुन् । सुख भन्नु त त्यति नै क्षणिक हो, जति फूलमा बसेको पुतलीको वास, अथवा घाम डुब्नुअघिको छायाको उपस्थिति हुन्छ । नत्र, उनको ‘सुख’ शीर्षकको कविता हेरौँ । दीर्घकालीन र दिगो भनेको त दुःख नै हो । तर, दुःख छ भन्दैमा आत्महत्या गर्नु हुँदैन भन्ने कवि पादुकाको दर्शन हो । ‘कारण’ शीर्षकको कवितामा भन्छन्— दुःख चपाएर पचाउनेहरूलाई हेर । सगरमाथा भन्दा साना हिमाल केही होइनन् । यसरी जित्नलाई विश्वासको जग चाहिन्छ । हुन त पादुकालाई थाहा छ, विश्वासमा पनि बेलाबेला प्रकृतिबाट वा मान्छेबाट कहर बर्षन्छ, तर पनि, ‘विश्वासको बोट’ मा भनिएजस्तो ‘जतिसुकै चर्को भए पनि घाम, बिरुवामा विश्वास र विश्वासमा बिरुवा हुर्कन्छ ।’ यसै विश्वासका साथ हिँडिरहनु जीवन हो । हुन त समयको खियाले काटिरहन्छ आयुको धागो, तर चेतको चुच्चोले समयलाई पनि प्रतिरोध गर्नुपर्छ, र हिँडिरहनुपर्छ । ‘समयः सियो र धागो’ मा यही त सार छ ।

विद्रोहको यो चेत प्रतिकारका लागि हो, सुरक्षाका लागि हो । आक्रमणका लागि होइन । आक्रमण वा हिंसामा कवि पादुकाको विश्वासै छैन । कारण, उनी रक्त क्रान्तिको सट्टा श्वेत क्रान्ति खोज्ने कवि हुन् । उनलाई लाग्छ, मनहरू जोडिरहने पुल हुनुपर्छ । ‘पुल’ मा उनको ठहर छ— ‘जीवन जोड्ने त आखिर पुल नै रहेछ ।’ उसो भए, यत्तिको होहल्ला, निरोध, विद्रोह, र आलोचना गरेर जीवनका पक्षमा उभिने कवि पादुकाको, समयको अदालतमा, अन्तिम बयान के हो त? उनी श्वेत क्रान्तिका पक्षपाती हुन । उनी मौतनाका पक्षधर हुन् । मौनता, उनका लागि यस्तो शक्ति हो, जसले सूर्यलाई चिस्याउने सामथ्र्य राख्छ । ‘मौनता’ शीर्षकको कवितामा उनले, आफ्नो सम्पूर्ण जीवन दर्शन, र यस कविता सङ्ग्रहको अन्तिम निचोड दिएका छन्ः यहाँ के भेटिँदैन?

सारा संसार भेटिन्छ,
सारा संसार देखिन्छ ।

सङ्ग्रहको अन्त्यतिर ‘केही वृत्तहरू’ शीर्षकमा केही सूक्ष्म कविताहरू राखिएका छन् । ती सबै कविता दर्शनको उच्चताले ओतपोत छन् । ‘भ्रम’ मा प्रश्न छ— ‘फूल बोक्नेहरूका पाइला ÷ चिहानसम्म हो कि मन्दिरसम्म?’ ‘खुल्ला जाहेरी’ मा पात्रको जाहेरी छ कि उसले, आफ्नोे हत्याको बदलामा सयौँ इच्छाको बलिदानी दिएको छ । ‘नुन’ शीर्षकको कविताको निचोड हो— सस्तो भनिएको नुनको मूल्य चुकाउँदा चुकाउँदा मान्छेको जीवन सकिन्छ । ‘मलाई थाह छ’ मा कवि भन्छन् मुस्कानको बिरुवा उमार्ने आसमा सकिन्छ जिन्दगी । ‘अपराध’ मा भन्छन्, प्रतिकूल समयमा सपना देख्नु पनि अपराध हो । ‘स्वतन्त्रता’ मा उनी भन्छन् मान्छे सदैव चाहन्छ चरी पिञ्जडामै बाँचिरहोस् । उता, ‘नियति’ को मूल कथ्य हो— शरणमा परेको निरीहलाई बचाउनु वा मार्नु मान्छेको आफ्नो निजी कुरा हो । तर उनको सङ्केत, विवेकशील निर्णय लिनुको आवश्यकतातिर छ । ‘आग्रह’ मा कवि भन्छन् समय एउटा हातबाट फुत्केर अर्कोमा पुग्न सक्छ, र त्यसो नुहँदै त्यसको भरपूर उपयोग गर्नुपर्छ । ‘समय यात्रा’ मा आमाको मृत्युको चित्रण छ । भनिएको छ— ‘कहाँ पुग्नुभो आमा नहिँडिकनै? हामी हिँडेर पनि कहीँ कतै पुग्दैनौँ ।’ यस खण्डको अन्तिम कविता हो ‘बुद्ध’ । यसको सार छ— बाहिर आँखा हुनेले नदेख्नु बुद्धका लागि कुनै आश्चर्यको कुरा होइन । वास्तविक दृष्टि त भित्री आँखाबाट आउने हो ।

विषयको विविधता, कलाको उच्चता र चिन्तनको अतिशय गहिराइ र उचाइमा उभिएका कवि विष्णु पादुकाका कवितामा, तर पनि, त्यस्ता कतिपय दोष पाइन्छन् जो उनको सुन्दर काव्यिक अनुहारमा अवाञ्छित दागहरू हुन् । अरूका रचनामा भाषा अशुद्ध भयो भनेर तीखा प्रहार गर्ने पादुका, आफ्नो किताबमा बग्रेल्ती देखापर्ने त्रुटिहरू बारे के भन्दाहुन्, त्यो सुन्नु छ । कविताको बुनोट र वैचारिक खेलकै तहमा पनि कमजोरी निकै छन् । ‘आमा’ शीर्षकको कवितामा बाहरूले बन्दुकसँगै परेड खेले पनि बालकसँग खेल्न ‘सकेनन्’ भनिएको छ । भ्याएनन् भनेको भए पत्याउने आधार हुन्थ्यो । फेरि सबै बाको कुरा पनि हुन सक्दैन यो । मुटु भएको ढुङ्गा भएँ भनेर गुनासो पोखिएको कविता ‘ढुङ्गाको मुटु’ मा मन्दिरको केन्द्रमा पुगेको पनि कुरा छ, जुन एउटा ढुङ्गाका लागि राम्रो कुरा हो । उसो भए, किन भँडास? फेरि कविताको अन्त्यमा, दुख्नु र नदुख्नुमा कुनै अन्तर देखिनँ भन्नु त त दुःखबाट निर्वाण प्राप्त गर्नु पनि हो ।

कवितामा यस प्रकारको ध्वनिको सिफ्ट त्यति वाञ्छनीय मानिँदैन । यसले पाठकलाई अल्मल्याउँछ । ‘तिमी कलम’ शीर्षकको कविताको सार अर्कै हो, तर बीचमा, मौका पाउनसाथ अरू कविहरूलाई ‘एक दुई पाने’ र ‘भित्ते र सडकछापे’ कवि भनिएको छ । यसो गर्दा कविको विनयशीलता स्खलित हुँदैन र? ‘निरुत्तर म’ भन्ने कवितामा ‘नुन कहाँबाट आउँछ?’ भन्ने थाहा नपाउने नादान छोरीले ‘गहिराइ किन डरलाग्दो हुन्छ बाबा?’ भनेर यति गहन प्रश्न सोध्नु बेमेल हो । उता ‘कारण’ शीर्षको कवितामा भनिएको छ, दुःख चपाएर पचउनेहरूका लागि सगरमाथाभन्दा साना हिमाल केही होइनन् । किन सगरमाथाभन्दा साना मात्रै? उनीहरूका लागि त सगरमाथा नै पनि दुसाध्य हो र? किन? ‘शक्तिहीन कविता’ मा केवल र केवल नेपथ्यमा परेका कवित्वका कारण कविमा विकसित भएको असन्तुष्टि व्यक्त भएको जोकोहीले बुझ्न सक्छ । कविता राष्ट्रिय किन भएन भन्दै पूरा कविता लेख्ने कविले बीचमा पुगेर ‘कविता राष्ट्रिय नहुनुलाई मैले ठूलो मुद्दा बनाइनँ’ भनिरहँदा पत्याउने ठाउँ छैन । ‘ती सबै स्वरूप नलिएका मेरो भावलाई कसैले कविता नभनिदिँदैमा म सहानुभूतिको अपेक्षा कदाचित गर्दिनँ’ भन्दा थोरै अभिमान र अलिकति कुण्ठा त चुहिएकै हो ।

यस्ता किरिङमिरिङलाई आफ्नो उन्नत कविताको क्यान्भासबाट कवि विष्णु पादुकाले हटाउनै पर्ने हुन्छ । उनको विराट कवित्वको अगाडि यस्ता त्रुटि र असावधानी वास्तवमै भद्दा लाग्छन् ।

बिन्दुको वृत्त (कविता–सङ्ग्रह)
कविः विष्णु पादुका
प्रकाशकः हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान, कोहलपुर
पृष्ठः १०६

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार १०:२८   :  बजे

246
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।