Logo

अन्तर्वार्ता

कोरोना महामारीबाट मुक्त हुनु नै अहिलेको मुख्य प्राथमिकता : अध्यक्ष भट्ट



गोरखा गण्डकी प्रदेशको ११ जिल्लामध्ये ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण जिल्ला हो । गोरखामा ११ स्थानीय निकाय अन्तर्गत दुई नगरपालिका, नौ गाउँपालिका छन् भने दुई निर्वाचन क्षेत्र छन् । भौगोलिकरूपमा मध्यपहाडीदेखि उत्तरी हिमाली क्षेत्रसम्म फेलिएको जैविक विविधताले सम्पन्‍न गोर्खाको सुन्दर ठाउँ हो,  बारपाक सुलिकोट गाउँपालिका । माओवादीबाट निर्वाचित भएका बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष हुन्, विष्णुप्रसाद भट्ट । गोरखा ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पर्यटकीय महत्व बोकेको ठाउँ भए पनि यहाँको भौगोलिक विटकता कहालिलाग्दो नै छ । सुन्दर दृश्यले भरिएको ठाउँको विकासमा अझै पनि सरकारको आँखा गएको छैन । अध्यक्ष भट्टले स्वास्थ्य, शिक्षा, बाटोघाटोलगायतका विकास निर्माणहरुको काम गर्ने प्रतिबद्धता गरेका थिए । विकट पहाडी जिल्ला र कोरोना महामारीको कहरका कारण जनताले अपेक्षा गरेअनुसार गरेका छन् या छैनन् ।  कस्तो विकास भइराखेको छ, स्थानीय तहले के गरिरहेको छ लगायतका विषयमा गोरखा बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष बिष्णु प्रसाद भट्टसँग अनलाइनपानाकर्मी सुजाता अम्गाईले गरेको कुराकानी : 

कोरोना नियन्त्रणका लागि के-कस्ता कार्यहरू गर्दै आउनुभएको छ ? क्‍वारेटाइन र आइसोलेसनका सुविधा कस्तो छ ?

कोरोना भाइरसबाट नागरिकलाई बचाउन हामीले सक्दो प्रयास गरेका छौं । हामीले बाहिरबाट आउनेलाई र कोरोना संक्रमितलाई आइसोलेसन बनाएर राखेका थियौं। तर यो विकटताका कारण जति गर्न चाहेका हुन्छौं, त्यही अनुरुप भने काम गर्न सकिएको छैन । यतिसम्म समस्या निम्तियो कि खाना बनाएर खुवाउने मान्छे भएनन् । अहिले कोरोना संक्रमितको संख्या घट्दै गइरहेको छ । अहिले धेरैजसो होमआइसोलेसनमा हुनुहुन्छ । आजसम्म हामीले १८ सय ३८ जनाको एन्टिजेनबाट र ५१८ जनाको पीसीआर विधिबाट परीक्षण गरायौँ । हालसम्म संक्रिय संक्रमित २५ जना छन् भने पाँच जनाको मृत्यु भएको छ । हामीले कोरोना संक्रमितको लागि चाहिने आवश्यक स्वास्थ सामाग्रीहरु उपलब्ध गराइसकेका छौं । विकटताको कारणले गर्दा कतिपय कुराहरुको अभावमा नै छ । 

विकासका कामहरुलाई के-कसरी अघि बढाउनु भएको छ ? 

कोरोना महामारीको कारण अहिले विश्‍व नै थला परेको छ । कोरोना भाइरसले काम गर्ने, एउटा जुन उर्जा हुन्छ, त्यसलाई अलि खस्काइदिएको छ । तर पनि यो महामारीलाई नियन्त्रण गर्ने पहल सँगसँगै हामीले खानेपानी, बाटो भौतिक पूर्वधारहरुलगायतका कामहरु गरिरहेका छौं । हाम्रो काम भनेको नै आफ्नो ठाँउको विकास गर्नु हो । अहिले हामीले ठूला-ठूला कामहरु भने गर्न सकेको छैनौँ । किनकी अहिलेको अवस्थामा कोरोना भाइरसको नियन्त्रणलाई नै पहिलो प्राथमिकतामा राखेका छौं । कसरी हुन्छ यो भाइरसको कहरबाट यहाँको नागरीकलाई मुक्त गर्न पाए बाकीँ भनेको त छँदैछ । 

स्थानीय तह र नागरिकहरू बीचको सम्बन्ध कस्तो छ ?

कुनै पनि काम गर्नको लागि नागरिकको साथ निकै महत्वपूर्ण हुन्छ । नागरिकको सहयोग, सल्लाह र सुझाव आवश्यक पर्छ । यहाँ जति पनि विकास भएका छन्, त्यो स्थानीय तह र नागरिकहरुको समन्वयको सकरात्मक परिणाम हो । नागरिकसँगको सम्बन्ध बलियो र समधुर छ । 

चालु आर्थिक वर्षमा कति बजेट खर्च भयो ?

अहिलेसम्ममा ७० प्रतिशत जति बजेट खर्च भइसकेको छ । बाँकी बजेटबाट रोकिएका कामहरु गर्ने तयारी गरिरहेका छन् । 

कार्यकाल सकिँदै छ । यो समयमा गर्न छुटेको काम केही छ जस्तो लाग्छ ?

काम बाकीँ छन् । मैले अघि पनि भने एक त हाम्रो विकट पहाडी क्षेत्र, हरेक चिज जुटाउन गाह्रो नै हुन्छ । दास्रो भनेको कोरोना भाइरसको कारणले गर्दा पनि केही कामहरु पछाडि धकेलिएका छन् । छुटेका कामहरु र नागरिकसँग गरेका प्रतिबद्धताहरु अबको एक वर्षमै पूरा गर्छौं । 

संघ सरकार र प्रदेश सरकारबाट कस्तो सहयोग पाइरहनुभएको छ ?

संघ सरकारबाट सहयोग भएको छ तर प्रदेश सरकारबाट भने अलि टाढा नै छौँ । प्रदेशबाट आवश्यक सहयोग प्राप्त छैन नै भनौं । 

बाढी पहिरोको रोकथामका लागि के-कस्तो पूर्वतयारी गर्नुभएको छ ? 

पहाडी भेगमा बाढी पहिरोको प्रभाव त पर्ने नै भयो । यहाँको बाटोहरु समेत कतिपय ठाउँहरुमा कालोपत्रे गरेको छैन जसले गर्दा गाडी फस्ने , पल्टिने जोखिम बढी छ । यसको लागि हामीले आवश्यक पर्ने जेसीबी पहिरो खुलाउने आवश्यक सामाग्रीहरुको जोहो गरेका छौं । कतिपय ठाउँहरुमा पहिरोले बाटो थुनिने भएको कारण मानिहरुको आवतजावत नै रोकिन्छ । यसको व्यवस्थापनको लागि हामीले आवश्यक साम्रगी र त्रिपालको उपलब्ध गराएका छौं ।
 
करिब चार वर्षको कार्यकालमा स्थानीय तहमा बस्दा के-कस्ता चुनौतीको सामना गर्नुपर्ने रहेछ ?

काम गर्नलाई खासै चुनौतीको रुपमा मैले लिएको छैन । आफ्नै ठाउँमा बसेर नागरिकहरुको सेवा गर्न पाएकोमा सौभाग्य ठान्छु । काम गर्ने क्रममा अप्ठयारो परीस्थितिहरु त आउँछन नै, तर पनि सबैजनाको सहकार्य र साथले अझै अगाडि बढ्ने हौसला प्राप्त गरेको छु । 

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार १३:०३   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।