Logo

कोशी प्रदेश

विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित



विराटनगर । प्रदेश नं १ प्रदेशसभाको आज बसेको बैठकमा आर्थिक विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको छ ।

सो प्रस्ताव प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सदनमा पेस गरेका थिए ।

यसअघि सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको वार्षिक राजश्व र व्ययको अनुमानित बजेट माथिको सैद्धान्तिक छलफलमा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री आङ्बोले बजेटले प्रदेशको सन्तुलित विकासमा विशेष ध्यान दिएको बताए । उनले दिगो विकास नै प्रदेश सरकारको लक्ष्य एवं उद्देश्य रहेको धारणा राख्दै सरकारले विगतका सरकारका ७० प्रतिशत योजनामा बजेट व्यवस्था गरेको जानकारी दिए ।

आर्थिक वृद्धि दर छ दशमलव ४८ प्रतिशत रहने सरकारको अनुमान रहेको बताउँदै मन्त्री आङ्बोले बजेट हावादारी नभएर वास्तविकताको धरातलमा रहेको जिकिर गरे । बजेट खुला किताब जस्तो पारदर्शी रहेको प्रस्ट पार्दै मन्त्री आङ्बोले बजेटले उत्पादन र उत्पादकत्व बढाउने, निर्यात प्रवद्र्धन गर्ने र आयात घटाउने कुरामा केन्द्रित छ भने ।

विशेष समय

प्रदेशसभाको बैठकमा नेकपा एमाले संसदीय दलका तर्फबाट विशेष समयमा बोल्दै प्रदेशसभा सदस्य जीवन घिमिरेले सरकारले इन्धनमा बढाएको मूल्यले घरदेखि बाहिरसम्म असर परेकाले इन्धनको मूल्य तुरुन्त घटाउनुपर्ने माग गरे । उनले किसानलाई सहज रुपमा मल, बीउबिजन उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउँदै विराटनगर विमानस्थलको स्तरोत्रति गर्न बजेट विनियोजन नभएकामा आपत्ति जनाए । उनले विमानस्थलको स्तरोत्रति गर्न विगतमा सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहसँग त्रिपक्षीय सम्झौता भएको अवस्थामा बजेट विनियोजन नहुनु दुःखद हो भने ।

उनले भारत सरकारको सहयोगमा भारतको बथनहादेखि मोरङको कटहरीसम्म चल्ने रेलको विषयमा नेपाल सरकारले गर्नुपर्ने काम समयमै नगरेकाले नेपालतर्फको काममा अवरोध आएको जानकारी दिँदै रेलको सम्पूर्ण काम गर्न सरकारको ध्यानाकर्षण गराए । यसैगरी, बैठकमा आर्थिक विधेयक, २०७९ माथि छलफल सुरु भएको छ । छलफलमा प्रदेशसभा सदस्य उमिता विश्वकर्मा र वसन्तीदेवी यादवले आ–आफ्ना धारणा राखेका थिए । प्रदेशसभाको अर्को बैठक भोलि बिहान ११ः३० मा बस्नेछ ।

प्रकाशित मिति : असार ७, २०७९ मंगलबार  ४ : ४६ बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।