Logo

टिप्पणी

गठबन्धनका शीर्ष नेताहरुको आ-आफ्नै दाउ



स्थानीय निर्वाचनअघि सत्तारुढ पाँचदलीय गठबन्धनको सक्रियता उत्कर्षमा थियो । निर्वाचनपछि भने गठबन्धनको गति सुस्त बनेको छ । दैनिक पटक–पटक संवादमा रहने शीर्ष नेताहरु हप्तादिनसम्म भेटिन छाडेका छन् ।

गठबन्धनको गति घट्नुको मुख्य कारण शीर्ष नेताहरुको आत्मकेन्द्रित ‘दाउ’ पनि मुख्य हो । प्रधानमन्त्री देउवा संसदीय निर्वाचनसम्म जसरी पनि गठबन्धन र तालमेल जोगाउन चाहन्छन् । चुनावपछि पनि प्रधानमन्त्री बन्ने चाहनाका कारण उनी गठबन्धनभित्र ‘शान्त र निरीह’ देखिन्छन् ।

कांग्रेसकै वरिष्ठ नेता रामचन्द्र पौडेल गठबन्धनको समन्वय समितिका संयोजक छन् । चुनावी तालमेल यथावत राखेर चुनावपछि एक पटक प्रधानमन्त्री बन्ने धोको पूरा गर्न उनी सक्रिय छन् ।

माओवादी अध्यक्ष प्रचण्ड राष्ट्रिय राजनीतिको कमान आफ्नै हातमा राख्न चाहन्छन् । त्यसका लागि संसदीय निर्वाचनबाट माओवादीलाई निर्णायक शक्ति बनाउने स्वार्थ उनले बोकेका छन् । स्थानीय निर्वाचनको परिणामबाट उत्साहित हुँदै माओवादीले संसदीय निर्वाचनका लागि आफ्नो ‘बार्गेनिङ पावर’ बढाएको छ । माओवादी जता ढल्क्यो, उतै पल्लाभारी हुने ‘हैसियत’ निर्माण गर्ने र चुनावपछि सरकारको नेतृत्व गर्ने प्रचण्डको दाउ छ ।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनालको पनि आ-आफ्नै दाउ छ । एमाले विभाजन गरेर बनाएको पार्टीलाई संसदीय निर्वाचनबाट स्थापित गराउने उनीहरुको योजना छ । निर्वाचनपछि राष्ट्रपति बन्ने खनालको धोको यथावत छ । त्यस्तै नेकपा एसलाई सत्ता समीकरणमा निर्णायक पार्टी बनाए चुनावपछि प्रधानमन्त्री बन्ने धोको अध्यक्ष नेपालले पनि छाडिसकेका छैनन् ।

स्थानीय निर्वाचनमा गृहजिल्लामा एमालेसँग समीकरण गरेका जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई सबै सम्भावित समीकरणका लागि खुला देखिन्छन् । अध्यक्ष यादवलाई हटाएर जसपालाई आफ्नो कमानलाई ल्याउन चाहेका भट्टराई राजनीतिक समीकरण मिलाएर पूनः एकपटक सत्ताको नेतृत्वसम्म पुग्न चाहन्छन् ।

जसपा अध्यक्ष उपेन्द्र यादव पनि पार्टीभित्र असन्तुष्ट समूहलाई ‘पाखा लगाएर’ निर्णायक हैसियतको पार्टी बनाउन चाहन्छन् । त्यसका लागि माओवादी र नेकपा एससँग होस् वा एमालेसँग सहकार्यका लागि समानान्तर संवादमा यादव व्यस्त छन् ।

प्रकाशित मिति : असार ८, २०७९ बुधबार  ५ : ५६ बजे

270
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।