Logo

अन्तर्वार्ता

‘टेकु अस्पताललाई सरुवा रोग एकेडेमीको रुपमा विकास गर्ने योजना छ’



१३ वर्षदेखि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालको कार्यरत डा. अनुप बास्तोला निर्देशकमा नियुक्त भएका छन् ।  कोरोना महामारीका बेला टिमसँग दिनरात खटेर काम गरेका बास्तोला हालै मात्र अस्पतालको निर्देशक बनेका हुन् ।  अस्पतालको निर्देशक हुनुभन्दा अगाडि उनले प्रवक्ताको भूमिकामा रहेर काम गरेका थिए ।  टेकु अस्पतालको भावी योजना, यसको समस्या र समाधान, कामका चुनौतीहरूको विषयमा रहेर डा. बास्तोलासँग अनलाइनपानाकर्मी सुजाता अम्गाईंले गरेको कुराकानी : 

निर्देशकमा नियुक्त भएपछि आगामी योजनाहरु के बनाउनु भएको छ ? 

अब आगामी योजनाहरू धेरै छन् । टेकु अस्पताल पढ्ने र पढाउने अध्ययन संस्था बन्‍नुपर्छ । यहाँ तालिम हुनुपर्छ, रिसर्चहरू हुनुपर्छ । त्यसका लागि हाम्रोतर्फबाट पनि प्रयास गरेका थियौँ । मेरो नेतृत्वमा म पनि यो पाटोमा पहल गर्नेछु । मेरो प्रयास र भिजनचाहिँ त्यतातिर छ । एक मात्र सरुवा रोग अस्पताल सरुवा रोगको राम्रो अस्पताल, राम्रो अध्ययन अनुसन्धान केन्द्र बनाउन सकिन्छ । बाहिर पढेर भर्खरै आउनुभएका साथीहरू, उहाँहरूलाई कसरी अवसर दिन सकिन्छ र कसरी प्रोत्साहन गर्न सकिन्छ भन्‍नेमा ध्यान केन्द्रित गरेको छु । यस अस्पताललाई केवल उपचार गर्ने अस्पताल मात्रै नभएर अध्ययन हुने संस्थाका मान्छेहरू आएर पनि पढ्न मिल्ने थलोको रूपमा विकास गर्नुपर्छ भन्‍ने सोच बनाएको छु । म आफू कुर्सीमा भए पनि नभए पनि यसको लागी म निरन्तरता आफ्नो पक्षबाट लागिरहने छु । अर्को कुरा  कोरोनाको दोस्रो लहरमा यो स्थितिबाट गुज्रिएर जाँदाखेरि अरू सरुवा रोगको उपचार रोक्नुपरेको थियो । अब यस्तो नहोस् भन्नेमा म ध्यान दिनेछु । टेकु अस्पताललाई एउटा इन्स्टिच्युटको रूपमा विकास गर्ने कुरामा जोड दिनेछु । सरुवा रोगका विज्ञहरूको रायअनुसार रणनीति बनाएर मन्त्रालयमा पेस गर्ने योजना छ । त्यसपछि अनुसन्धानको पाटोमा मेरो जोड रहनेछ ।

यसभन्दा अगाडी अस्पताल प्रवक्ताको भूमिकामा हुनुहुन्थ्यो, त्यसले पनि तपाइलाईं काम गर्न सहज होला नि होइन ?

हजुर हो । तर पनि मेरो लागी अवसरसँगै चुनौती पनि छ । म यसअघि प्रवक्तामा भएर केही सहज भए पनि प्रमुखको भूमिकामा रहेर काम गर्न अलि चुनौती हुन्छ । तर सबैको साथ र माया अनि सहकार्यले पक्कै पनि म सहजै काम गर्न सक्छु भन्‍नेमा विश्‍वस्त छु । 

एक मात्र सरुवा रोग अस्पतालले कोरोना संक्रमितको उपचार र अन्य सरुवा रोगको उपचार कसरी गरिरहेको छ ?

कोरोना संक्रमितको संख्या अहिले घट्दो छ । महामारीमा कोभिडकै बिरामीले अस्पताल भरियो । हामीले दिइरहेका सेवाबाहेक दिनुपर्ने सेवाहरू धेरै छन् । सरुवा रोगको उपचार पनि भइरहेको छ । उहाँहरू आउनुहुन्छ इमरजेन्सीमा सेवा लिनु हुन्छ । अन्त कतै रेफर गर्नु नपरोस् । एउटा सरकारी स्वास्थ्य संस्था, सरकारको स्वामित्वको संस्था, जहाँ सरुवा रोगका हरेक सेवा सुविधाहरू भएको होस् भन्‍नेमा हामी लागिरहेका छौं । 

टेकु अस्पतालका चुनौती के-के हुन् ?

मैले अघि पनि भने पढ्ने-पढाउने वातावरण भएको, एउटा सरकारी स्वास्थ्य संस्थाको रुपमा विकास गर्नुपर्ने चुनौती हाम्रो सामु छ । सरकारको स्वामित्वको संस्था, जहाँ सरुवा रोगका हरेक सेवा सुविधाहरू उपलब्ध हुनुपर्छ । जनशक्ति व्यवस्थापन सबैभन्दा चुनौतीको विषय हो । मिसन र भिजन त्यतिसम्मका लागि हुनुपर्छ । अझै जनसङ्ख्या बढ्दै जाला, जनशक्ति पनि त्यही अनुसार चाहिएला । दूरगामी सोच राखेर टेकु अस्पताललाई व्यवस्थित बनाउने इच्छा मेरो छ । 

अब आउनेहरुलार्ई कसरी तालिम दिएर मोटिभेट गरेर राख्न सकिन्छ, उनीहरूको वृत्तिविकास कसरी गर्न सकिन्छ, ती सबै पाटोहरूका बारेमा सोचिरहेको छु । एकेडेमी मात्रैभन्दा पनि सरकारको स्वामित्व भएको एक मात्र सरुवा रोग अस्पताल हुन्छ । अनि मजाले क्वालिटी सर्भिसहरू डेलिभरी हुन्छ । जनशक्तिहरूको व्यवस्थापन मुख्य कुरा हो । अर्को कुरा अहिले यो कोरोना भाइरसको बेला हामी सबैजना चपेटामा परेका छौँ । यसको नियन्त्रण कसरी गर्ने ? , बेडहरू कसरी राख्ने ? कसरी बिरामीहरुलाई सहजै सेवा प्रदान गर्ने भन्ने चुनौतीहरू छन् । चुनौतीहरू भएपनि म विश्वस्त छु ,यसलाई सहजै सामना गर्न सकिन्छ । 

अहिले कोरोना संक्रमितको अवस्था र फ्लो कस्तो छ ?

अहिले कोरोना सङ्क्रमितको सङ्ख्या घट्दो छ । प्राय वार्ड , शय्याहरु खाली छन् । कोरोना कति घटे र बढे भनेर सङ्क्रमितको आँकलन भने एक दुई हप्तामा भन्‍न सकिन्छ । 

सबैभन्दा बढी कस्ता खाले बिरामी आइरहेका छन् ?

अहिले सबैभन्दा धेरै निमोनियाका बिरामीहरु आइरहेका छन् । जसमा वृद्धवृद्धाहरुको संख्या धेरै छ । 

कोरोनाको उपचार गरिरहेको अस्पतालबाट अन्य सरुवा रोगीहरूलाई कसरी सेवा प्रदान गरिरहनु भएको छ ?

हामीले सर्भिस डेलिभरी गरीररहेका छौँ । जति पनि बिरामी आउनु हुन्छ हामीले उहाँहरूलाई इमरजेन्सी सेवा प्रदान गरिरहेका छौँ । 

अन्त्यमा के भन्न चाहनुहुन्छ ?

अहिले निर्देशकको जिम्मेवारीमा छु । म माथि थप जिम्मेवारीहरू थपिएका छन् । मलाई सबैजनाको साथ र मायाको आवश्यकता छ । यस टेक अस्पताललाई एउटा सिस्टममा लग्‍नु छ । राम्रो अस्पताल हाम्रो अस्पताल भनेर चिनाउनु छ । 

प्रकाशित मिति : १९ असार २०७८, शनिबार १३:०३   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।