Logo

अर्थ

दलहरुबीच चार बुँदे सहमति भएपछि कर्णाली प्रदेशसभाको अवरोध हट्यो



सुर्खेत । कर्णाली प्रदेशसभाका दलहरुबीच चार बुँदे सहमति भएसँगै प्रदेशसभामा जारी अवरोध हटेको छ । शुक्रबार सभामुख राजबहादुर शाहीको पहलमा बसेको सर्वदलीय बैठकमा दलहरुबीच चार बुँदे सहमति पत्रमा हस्ताक्षर भएसँगै बैठक सुरु भयो ।

सहमतिअनुसार मुख्यमन्त्री रोजगार कार्यक्रमको सम्बन्धमा प्रस्तावित योजनाहरु एकमुष्ट रुपमा फिर्ता लिने र विनियोजन भएको रकम यथावत राखी साउन मसान्तसम्म कार्यविधि सम्मत् योजना छनोट गरिसक्नुपर्ने, विनियोजन किताबमा कर्णाली प्रदेशभन्दा बाहिरका भौगोलिक क्षेत्रलाई समेटेर समावेश भएका सबै योजनाहरुको नाम हटाने भनिएको छ । यस्तै, १५ लाखभन्दा कम रकम विनियोजन भएका योजनाहरुका हकमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको साना सिंचाई बाहेक अन्य योजनाहरु कार्यान्वयन नगर्ने र अन्तिम बुँदामा निर्वाचन क्षेत्र पूर्वाधार विकास विशेष कार्यक्रमको सम्बन्धमा रिक्त रहेका निर्वाचन क्षेत्रहरुमा सभामा प्रतिनिधित्व गर्ने दलहरुको सहमतिमा योजना छनोट गर्ने गरी कार्यविधि संशोधन गर्ने उल्लेख छ ।

सहमतिपत्रमा सभामुख शाहीका अतिरिक्त मुख्यमन्त्री जीवनबहादुर शाही, प्रमुख विपक्षी दलको नेता यामलाल कँडेल, उपसभामुख पुष्पा घर्ती, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता महेन्द्रबहादुर शाही, नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता चन्द्रबहादुर शाही र राप्रपाको प्रदेशसभा सदस्य शोसीला शाहीले हस्ताक्षर गरेका छन् । प्रमुख विपक्षी दल एमालेले बजेटमा उल्लेखित विभिन्न विषयमा आपत्ति जनाएपछि प्रदेशसभा अवरुद्ध हुन पुगेको थियो ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार १८:१५   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।