Logo

अनलाइनपाना खोज

किन खनिए सभापति देउवामाथि २ महामन्त्री ?



नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले विधानबमोजिम काम गर्न नसकेको आरोप लगाएका छन् ।

शनिबार ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा भएको केन्द्रीय समितिको बैठकमा बोल्दै देउवाले विधानबमोजिम काम नगर्दा आफूहरूमाथि दोष आएको उनले बताएका हुन् ।

‘छ महिनाभित्र विधानबमोजिम सभापतिले काम गर्न सक्नुभएन । सभापतिजस्तै हामी पनि महामन्त्री जितेर आएको हो तर विधान कार्यान्वयन नहुँदा अपजस हामीमाथि पनि आउन थाल्यो,’ उनले भने, ‘सभापतिले विधानअनुसार समिति गठन, विभाग गठनलगायत काम नगर्दा दोष हामीमाथि पनि आयो, यो राम्रो होइन । तुरून्त विधानबमोजिम गर्नुपर्ने काम गरौं ।’

त्यस्त अर्का महामन्त्री विश्वप्रकाश शर्माले नेतृत्वको प्रशंसा गर्ने नाममा ॐ जय, जगदीश हरे गरेर घण्टी नबजाउन अनुरोध गरेका छन् । शनिबार ललितपुरको सानेपास्थित पार्टी कार्यालयको केन्द्रीय समितिको बैठकमा बोल्दै उनले नेतृत्वको प्रशंसा गर्ने नाममा जे पनि नगर्न भनेका हुन् ।

उनले एउटा नेताको पक्षधरता राख्न अर्कोलाई थोरै होच्याउने गरी बोल्नु राजनीतिको विसंगतिको पाटो भएको पनि बताए ।

‘एउटा नेताको पक्षधरता राख्न अर्कोलाई थोरै होच्याउने गरी बोल्नु हाम्रो राजनीतिको विसंगत पाटो हो,’ उनले भने, ‘नेतृत्वको प्रशंसा गर्ने नामा ! ॐ, जय, जगदीश हरे गरेर घण्टी नबजाऔं । अनि आलोचना गर्ने नाममा, डन्डी पनि नचलाऔं ।’

प्रकाशित मिति : श्रावण १, २०७९ आईतबार  ४ : २५ बजे

114
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।