Logo

टिप्पणी

प्रधानमन्त्रीबाटै मापदण्डको उल्लँघन : निवासमा ७० जना संक्रमित – न शील भयो न काम रोकिए



आसौज १७ गते प्रधानमन्त्री निवास बालुवाटारमा कोारनोका एउटा ठूलो कहर प्रकट भयो । त्यो थियो प्रधानमन्त्रीका तीन सल्लाहकार, निजी सचिव र चिकित्सक संक्रमित भइसकेका भन्ने । १६५ जनामा गरिएको परीक्षणमा ७० भन्दाबढी संक्रमितभएका अवस्था थियो त्यो ।  यो धेरै ठूलो घटना हो संक्रमण विस्तारका क्रममा । यसले प्रधानमन्त्रीको निवास बालुवाटारमा संक्रमण नियन्त्रणको कुनै उपाय अवलम्वन नगरेको भन्ने सन्देश गयो । यो ७० जनाको संक्रमणको विवरण एक पटकको परीक्षणमा आएको हो । त्यस दिन देखि प्रधानमन्त्री निवासमै यस्तो भयो भने अन्यत्र के होला भन्ने आम तहमानै प्रश्न खडाभयो । अन्यत्र जे होस यो निवासमा संक्रमणबाट बच्ने बचाउने उपाय न अपनाएको भन्ने त घटनाले नै देखायो । 

टिप्पणी कर्ताहरुका अनुसार सामान्य जन भन्दा पनि उच्च ओहोदाका व्यक्तिको निवासमा संक्रमणको जोखिम बढी हुन्छ । अंगरक्षकदेखि सुरक्षा दस्ता, वाहन चालकदेखि सेवा सुसारेसँगको परनिर्भरताका कारण उनीहरू धेरै व्यक्तिको सम्पर्कमा रहिरहन्छन । जुत्ता पालिस गरिदिने, कोठाको तन्ना मिलाइदिने, खाना पस्किनेदेखि गुप्त मन्त्रणा गर्नुपर्ने सल्लाहकार र चाटुकारसम्मको निर्भरताले यो बर्गमा संक्रमणको सम्भावना बढ हुन्छ । वताइए अनुसार अहिलेसम्म सबभन्दाबढी पटक परीक्षण गरिएकामा पर्छन प्रधानमन्त्री केपी शर्मा ओली ।

भरखरमात्रै उनका आफ्ना सबैभन्दा बढी भित्री घेराका राजनीति तहका आधा र सुरक्षा सहितका पाँच छ दर्जन व्यक्ति संक्रमित हुँदा समेत  मापदण्ड अनुसार प्रधानमन्त्री ‘सेल्फ–आइसोलेसन’मा बस्न आवश्यक ठानेनन । त्यसपछिका मन्त्रिपरिषद् र सचिवालयको बैठक बोलाउने र बस्ने काम भैरहे । यस्त बैठकबाट प्रदेशको राजधानी तोक्ने देखि यो समयमा नगरेपनि हुने र गरियोे  त्यसले भीडभाड जुटाएर जोखिम बढाउनेकाम गर्ने तर्फका निर्णयहरु भए । त्यसकारण प्रश्न उठ्यो यसको सन्देश देशवासीमा कस्तो गयो होला ?

प्रधानमन्त्री निवास भित्र १७ गते देशमै अहिलेसम्मकै पहिलो पटक त्यस्तो एउटा निवासमा समूहगत त्यतिठूलो सख्याको कोरोना संक्रमण भेटियो । यो शनिवारको कुरा हो त्यसको दुइदिन पछिको सोमवार नियमित भैरहे झै नै मन्त्रिपरिषदको  बैठक बस्यो । त्यो बैठकको निर्णय भनी  २१ गते सरकारका प्रवक्ताले प्रेस सम्मेलन नै  गरे । यतिबेला हरेक नागरिक सरकारका निर्णयहरुमा महामारी बाट राहत पाउने प्रकारका कुनै नयाँ कुरा प्रस्ताव भए कि भन्ने  खोज्दा रहेछन तर निर्णय चाहिँ थुप्रै भए तर नियमित र अझ भीडभाड बढाउने खालका । प्रवक्ताले नै त्यसदिन पत्रकार सम्मेलन गरेर जनाए अनुसार ती निर्णय यस्ता थिए –

‘कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिको अध्यक्षमा डां योगेन्द्रकुमार कार्की र कार्यकारी निर्देशकमा वरिष्ठ कृषिविज्ञ विनोदकुमार भट्टराईलाई नियुक्त गर्ने निर्णय भएको छ ।  विभिन्न देशमा कार्यरत रहेका अवैतनिक बाणिज्य तथा महाबाणिज्यदूतको कार्यकाल थप्ने निर्णय भएको छ पनि गरेको छ ।

 जनस्वास्थ्य सम्बन्धी सबै मादपण्ड पूरा गर्नेगरी विद्यालय तथा शिक्षण संस्थाहरुलाई सबै तह र विषयका परीक्षा सञ्चालन गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय भएको छ ।  २५ जनासम्म सहभागी गराएर व्यवसायिक तालिम प्रदायक संघ संस्थालाई तालिम सुचारु गर्ने अनुमति दिने निर्णय भएको छ ।

शिक्षक सेवा आयोगको अध्यक्ष तथा एक जना महिला सदस्यको कार्यकाल सकिएकाले लोकसेवा आयोगका अध्यक्षको संयोजकत्वमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति र शिक्षा मन्त्रालयको सचिव सदस्य रहनेगरी सिफारिस समिति गठन गर्ने निर्णय भएकोे छ ।

 २०७७ वैशाख १४ गतेदेखि स्थगित राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीहरुको पदपूर्ति सम्बन्धी प्रक्रियालाई सुचारु गर्न अनुमति दिने निर्णय भएको छ । राष्ट्रिय सूचना प्रविधि काठमाडौंका लागि आ.व.२०७७–७८ का लागि सात र डिजाष्टर रिकभरी केन्द्र हेटौडाका लागि नौ गरी जम्मा १६ जना अधिकृत स्तरका अस्थायी दरवन्दीको स्वीकृति प्रदान गर्ने निर्णय भएकोछ ।  विज्ञापन बोर्डको २०७७–७८ का लागि अधिकृत स्तरको ५ जना कर्मचारीको अस्थायी दरवन्दी स्वीकृत गर्ने निर्णय भएकोछ ।’

यी माथिका निर्णयहरु हुँदाको मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमै बसेको हो जो दुइदिन अघिमात्र त्यो समग्र क्षेत्र कोरोना संक्रमण ग्रसित थियो । बालुवाटारको यो पर्खाल भित्रै हो एकै पटक ७० जनाभन्दा बढीलाई संक्रमण भैसकेको अवस्था प्रकटभएको ।

यता सरकराले अपिल गरिहेको थियो – आफ्नो घरमा कसैमा संक्रमण भेटिएमा निकटका अरुको पनि परीक्षण गर्नु र क्वारेण्टाइनमा बस्नू । यस्तो आह्वानको कारण हो अरुबाट आफुमा सर्नेमात्र होइन आफुबाट अरुमा सर्ने कारण । आफुबाट अरुमा सर्नु र अरुबाट आफूमा सर्नु यी दुवै खतरनाक हो । सरकारको मापदण्डनै भन्छ – आफ्ना कारणले संक्रमण फैलिने काम भयो भने त्यो दण्डनीय मानिनेछ ।  
 
प्रधानमन्त्री निवासका प्रमुख हुन प्रधानमन्त्री आफै । उनका निवासमा यतिठूलो सख्याको संक्रमण भेटिएपछि उनी आफै सुरक्षित अवस्था क्वारेण्टिन–आइसोलेसनमा बसेका भन्ने मान्यता थियो बाहिर । तर त्यस्तो बेला  एउटा कोठामा २५ –३० जनाको ओहोर दोहोर भैहरने र कोठाभित्र २०–२५ जना नै चारपाँचघण्टा संगै रहने खालका बैठकहरु गर्नु अन्यत्र थियो भने दण्डयोग्य काम थियो मापदण्ड अनुसार । 

यसबाहेक पनि कोरोनाको त्यस्तो प्रकोप भेटिएको ठाउँ र तिनै दिनका सेरोफेरोमा पार्टीका दुइ अध्यक्ष कसलाई मन्त्री बनाउने र कसलाई फाल्ने भन्ने सन्दर्भमा दिनहू, घण्टौँ छलफल चलिलरहेका समाचार आइरहे । त्यसमध्येको एउटा अंश ‘अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबिच बिहीबार भएको छलफलमा एकताको बाकी काम असोज अन्तिमसम्म सकाउने समझदारी बनेको हो । ‘उहाँहरुबीच आज भएको छलफलमा पार्टी एकीकरणको बाकी काम यहि महिनाभित्र सम्पन्न गर्ने सहमति बनेको छ, अब दुई अध्यक्ष र महासचिवले त्यसबारे थप तयारी गर्नु हुनेछ,’ प्रधानमन्त्री ओलीनिकट स्रोतले भन्यो । बुधबार बसेको बैठकमा रिक्त तीन मन्त्रालयमा मन्त्री नियुक्त गर्ने सहमति गरेका प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष दाहालले एकताको बाँकी काम सकाउने आज थप समझदारी गरेका हुन ।’

यी काम सातदिनपछि गरिँदा देशमा केही विग्रिहाल्ने अवस्था थिएन । यस्तो गम्भीर क्षणमा त्यही ठाउँमा पार्टी र सरकारको काम चलाइरहिँदा  अरु कतिजनालाई जोखिममा पारियो भन्ने अध्ययन होला । यो अवधीमा सरकारी कामका सन्दर्भमा मन्त्रिपरिषदका नियमित बैठक बस्ने दुइदिन थिए जो निर्वाध नै चले त्यो दिनदेखि यो दिनसम्म । यसको अर्थ के रह्यो भने प्रधानमन्त्री निवास  बालुवाटारलाई  कोरोना संक्रमणको यो विस्तारबारे सामान्य जानकारी समेत रहेन, प्रधानमन्त्री आफैले  सार्वजनिक भएका यस्ता समाचारमा थप चासो देखाएनन । त्यसो नहुँदो हो त देशलाई नै एउटा सन्देश दिन र यस्तो संक्रमणबाट सतर्कता अपनाउन भन्दै कम्तीमा सात दिनकालागि मात्रै भएपनि  आफनो निवास बालुवाटारको चौघेरो भित्र शिलवन्दी गरिदिएका भए त्यो अरु सबैका लागि पनि अनुकरणीय हुने थियो कि ?

प्रधानमन्त्रीले आफनो निवासमा प्रवेश गरेको कोराना बारे यस्तो अनदेखा गरेको हप्ता राजधानीभने भयावह अवस्थामा प्रवेश गरिसकेको थियो ।  प्रधानमन्त्री निवास बालुवाटारमा एकै ठाउँमा सबैभन्दा बढी कोराना प्र्रकट भएको यो हप्ता देशको कुल ५८ प्रतिशत सक्रिय संक्रमित राजधानीका रहेको विवरण सुनाइ रहेका थिए स्वास्थ्य प्रवक्ता । कोरोनाबाट मृत्यु हुनेमा पनि  ३१ प्रतिशत काठमाडौं उपत्यकाकै थिए । यसको अर्थ हो प्रधानमन्त्री निवास रहेको राजधानी ठूलो जोखिममा परिसकेको छ । 

मुलुकमा पछिल्लो २४ घण्टामा सय जनाको पीसीआर परीक्षण गर्दा करिब २४ जनामा कोभिड–१९ संक्रमण देखियो । यसको  पाँच दिन अघिमात्र बालुवाटारमा १६५ जनाको परीक्षण हुदा ७० जनामा संक्रमण फेलापरेको हो । समग्र मुलुकको भन्दा बालुवाटार निवासमा संक्रमणविस्तार कुन दरले भएको रहेछ भन्ने यो दर भयावह नै हो ।   

बालुवाटार निवासमा यस्तो सख्या प्रकटभएको पाँचाैँ दिन (१७–२२)  १८ हजार ४ सय ७३ जनाको पीसीआर हुँदा ४ हजार ३ सय ६४ जनामा संक्रमण पुष्टि भयो । ती संक्रमितमध्ये काठमाडौं उपत्यकाका ५८.२० प्रतिशत अर्थात २ हजार ५ सय ४० जना थिए । यो विवरण सुनाउँदै स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक एवं भाइरोलोजिस्ट डा. वासुदेव पाण्डेको  भनाइ आयो  ‘हामी अत्यन्त गम्भीर अवस्थामा पुग्यौ ।’ 

ईडीसीडीका अनुसार काठमाडौंमा कोभिड घर–घर गइसक्यो । हाल देशभरिमा २६ हजार ६ सय ८४ जना सक्रिय संक्रमित रहेकामा ५८.३९ प्रतिशत अर्थात १५ हजार ५ सय ८३ जना राजधानीमा छन । काठमाडौं जिल्लामा ४६.६२ प्रतिशत अर्थात १२ हजार ४ सय ४१ जना सक्रिय संक्रमित छन । कोभिडका कारण हालसम्म मृत्यु भएका ५ सय ९० जनामा १ सय ८३ जना अर्थात ३१.०१ प्रतिशत उपत्यकाका छन । काठमाडौं जिल्लामा मात्र २१.०१ प्रतिशत अर्थात १ सय २४ जनाको मृत्यु भएको छ ।

यो ठाउमा ईडीसीडीकै पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले दिएको जानकारी झनै आपत्तिको छ प्रधानमन्त्री निवासको  एकैपटक त्यतिठूलो सख्यामा स्रक्रमण भेटिएको सन्दर्भमा । उनको भनाइ छ –‘राजधानीका घर–घरमा संक्रमण गइसकेकाले अब रोकथाम गर्न मुस्किल पर्ने अवस्था आयो, यो संक्रमण बन्द ठाउँमा बढी सर्न सक्ने जानकारी सहज रूपमा नदिँदा यो अवस्था निम्तिएको हो । कोठामा बस्दा हावा ओहोरदोहोर हुनुपर्छ । बन्द ठाउँमा भाइरस हावामा तीन घण्टासम्म रहिरहन्छ । त्यसैले घर, कार्यालय आदिमा हावाको राम्रो ओहोरदोहोर हुनुपर्‍यो, एयर कन्डिसन बन्द गर्नुपर्‍यो, फ्यान चलाउनुपर्‍यो ।’ 

बालुवाटार निवासमा  संंकंमित देखिएका प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल छ दिनको आइसोलेसन बास पछि नेगेटिभ देखिए । आफनो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस मार्फत आफू कोरोना मुक्त भएको सार्वजनिक गर्दा उनले केही अनुभव पनि बाँडेका छन । त्यो अनुभवमा उनले भनेका छन ठूलो कुरा अनुशासन रहेछ ।

वास्तवमा बलुवाटारले त्यही अनुशासन मानेन । त्यसपछि त्यहाँ घर बनाएको यो संक्रमण कहाँकहाँ पुग्ला र कसकसलाई डस्ला भन्ने चिन्ता सुरु भएको हुनु पर्छ । यतिठूलो संक्रमण देखिएका ठाउँ, घर, कार्यालय जहाँ होस त्यो ठाउँले संक्रमणभएकै छैन जस्तो व्यवहार गरियो भने यो गम्भीर भूल वा गल्ती हुनेछ भनी सरकारकै प्रवक्ता दिनैपिच्छे वताइरहेका हुन्छन ।  

सल्लाहकार रिजालको अनुभव : ‘मेरो पिसिआर रिपोर्ट नेगेटिभ आयो, सहयोग, ऐक्यवद्धता र शुभेच्छाको लागि सबैमा हार्दिक आभार ।सतर्क रहँदा रहँदै पनि कसरी संक्रमित भएँ ? केबल अन्दाजै मात्र छ । लक्षण बिनाको संक्रमित हुँदा पहिलो दिन आफूलाई अलि चिन्ता लागेको थियो । मनमा आयो–अब के होला, अरुहरुले के सोचिरहेका होलान ? कसैलाई केही भइ हाले म कति दोषि ठहरिउँला ? कोरोनाको अनुभव व्यक्ति–व्यक्तिमा फरक–फरक छ । कोही लक्षण सहितको संक्रमित हुनुहुन्छ । कोही लक्षण बिनाको संक्रमित हुनुहुन्छ ।

सिङ्गो अबधि भरी केही पनि अप्ठ्यारो महसूस नगरी आइसोलेशनको अबधि विहिबार पार भयो दोश्रो चोटीको पीसीआर परिक्षणबाट परिणाम नेगेटिभ आयो । खुशी लाग्यो, म कोरोना मुक्त भएँ ।’ कोरोना केही होइन भन्नु अतिरञ्जना हो । कोरोना लागेपछि सिद्दियो भन्नु त झनै उत्तेजनापूर्ण अफवाह हो । कोरोना महामारीले पहिलो कुरा अनुशासनको माग गर्छ, दोस्रोमा संक्रमितको उच्च मनोवल र तेस्रोमा धैर्यता आवश्यक रहन्छ ।

संक्रमित अवधिभर आफूले किर्तिपुर आयुर्वेदिक अस्पतालका डा. रामआधार यादवले सुझाउनुभएको आयुर्वेदिक औषधि प्रयोग गरेको, जनस्वास्थ्य विज्ञ डा. रबीन्द्र पाण्डेले दिनुभएको सुझावलाई अपनाएँ । बेसार, कागती, गुर्जो अदुवासहितको पानी प्रसस्त पिएँ ।

७० जना संक्रमित भेटिएको बालुवाटार निवास घडीघडी नै हुनेगरी नियमित र सकृय रहिरहेकै बेला खेलकुद परिषद भने केह िदिनका लागि बन्द नै भयो । यसको केह िदिन अघिमात्र बेदेशिक रोजगार विभाग पनि पाँच दिन चलेन कारण थियो । त्यो कार्यालयमा दुइजनामा संक्रमण देखिएको थियो । यस्ता विवरण लेखिसाध्य हुदैन । गाउटोल र नगर बन्द भएका त हजार दुइहजारकै सख्या आउलान । यस्तोबेलाबालुवाटार तिर सबैको ध्यान गयो नै । फेरी एकपटक दोहोर्‍याउँ – यो पटक पनि प्रधानमन्त्री निवास बालुवाटारले कोरोना रोकथामका बारे सर्वसाधारणले सम्झिइ रहने र सकेसम्म अनुकरण गर्ने के सन्देश दियो ?  

प्रकाशित मिति : आश्विन २४, २०७७ शनिबार  ३ : ४९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।