नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनको मिति नजिकिँदै गर्दा कोरोना महामारीलगायतका कारणले सर्नसक्ने अनुमानहरु भइरहेको समयमा डिजिटल भोटिङको प्रविधि सुनिश्चित भएको जनाइएको छ ।
नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागका सचिव दिनेश थापा मगरले पार्टीको केन्द्रीय समितिले आवश्यक ठहर गर्दा डिजिटल प्रविधिमार्फत पनि महाधिवेशन गर्न सकिने बताएका हुन् ।
नेपाली कांग्रेस, केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको तेस्रो पूर्ण बैठक विभागका प्रमुख एवं पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको सभापतित्वमा असार २४ र २५ गते भौतिक र भर्चुअल दुबै प्रक्रियाबाट सम्पन्न भए पश्चात् बैठकले तय गरेको ‘डिजिटल भोटिङ’ को अवधारणालाई अन्तिम रुप दिएको एक विज्ञप्तिमार्फत जनाइएको छ ।
बैठकले पार्टीको १४ औं महाधिवेशनको वैचारिक प्रचार प्रारम्भ गर्ने लगायत अन्य निर्णय पनि गरेको जनाएएको ५ ।
प्रविधि मैत्री अभियानको प्रगति
विभागको प्रथम पूर्ण बैठकको निर्णय बमोजिम ‘प्रविधि मैत्री अभियान’ क्रममा पार्टीको वेबसाईटलाई आधुनिकीकरण र कृयाशिल सदस्यताको अभिलेखिकरण (डाटा इन्ट्री) प्रति बैठकले सन्तोषजनक भएको जनाएको छ । प्रविधि संयोजन उपसमितिका संयोजक इन्जिनियर दिपेश विष्ट लगायत उपसमिति सदस्यहरुको कार्यप्रति बैठकले सम्मान र बधाई ज्ञापन गरेको हो ।
केन्द्र र ७ प्रदेशको ‘डिजिटल भोटिङ’ गर्न सकिने व्यवस्था
कोरोना महामारी न्यून भएर महाधिवेशन भौतिक रुपमै आयोजना गर्न सकिने आशाका बावजुद विभागले ‘डिजिटल भोटिङ’ को आफ्नै आन्तरिक प्रविधि विकास र सुनिश्चित गरेको हो । केन्द्रीय समितिले जरुरी ठहर गरेर निर्णय गरेका खण्डमा शून्यबाट शुरु गर्नु नपर्ने गरि विकास गरिएको प्रविधि तत्काल आवश्यक नपर्दा भविष्यका लागि पार्टीसँग प्रविधिको सम्पत्ति र सक्षमता सुरक्षित हुने विश्वास विभागले लिएको छ ।
७ जिल्ला पार्टी कार्यालयमा उपस्थित भएर प्रदेश अधिवेशन र महाधिवेशनका प्रतिनिधिले मतदान गर्न सक्ने व्यवस्था गरिएको प्रविधि मार्फत १४ औं महाधिवेशनमै केन्द्र र ७ प्रदेशको निर्वाचन सम्बन्धि सबै प्रक्रिया सम्पन्न गर्न सकिने क्षमता भएको छ ।
‘डिजिटल भोटिङ’ को नमूना प्रदर्शनीको आन्तरिक कार्य योजना समेत बैठकले तय गरेको छ भने जिल्ला तहसम्म प्रविधि प्रशिक्षण र सहजीकरणका लागि दक्ष इन्जिनियरहरुको नेटवर्क तयार गरिएको जनाइएको छ । प्रविधि मैत्री अभियान अन्तर्गतको थप प्रगति बारे पार्टी केन्द्रीय समितिमा प्रतिवेदन पठाउने र केन्द्रीय समितिको निर्देशन अनुरुप प्रविधिको अन्य व्यवस्थापकीय प्रबन्ध निश्चित गर्ने निर्णय बैठकले गरेको छ ।
१४ औं महाधिवेशन प्रचार प्रारम्भ गर्ने निर्णय
पार्टीको १४ औं महाधिवेशनको प्रचारलाई विगत भन्दा भिन्न र जीवन्त शैलीमा अघि बढाउने निर्णय बैठकले गरेको छ । त्यस क्रममा बिषय केन्द्रित प्रचारलाई गहन बनाउन केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानसँग आवश्यक समन्वय गर्ने निर्णय गरिएको सचिव थापा मगरले जनाएका छन् ।
महाधिवेशनसँग सम्बन्धित प्रतिनिधि चयन प्रक्रिया, उम्मेदवारीका आधार लगायत विधानको व्यवस्थालाई सरलीकरण गर्दै सबै कृयाशिल सदस्यबीच पुर्याउन आवश्यक दृष्टिगत गरि केन्द्रीय निर्वाचन समितिसँग समन्वय गरेर सामग्री तयार गर्न संयोजनको जिम्मेवारी विभागका सचिव थापा मगरलाई दिइएको छ ।





















प्रतिक्रिया