Logo

अन्तर्वार्ता

हाम्रो आन्तरिक स्रोत कमजाेर छ, प्रदेश र केन्द्रले राम्रा योजना दिएनन् : नगर प्रमुख तामाङ



नेपालमा बाढी, पहिरो र डुवानमा पर्ने जिल्लाहरुमध्ये एक हो, सिन्धुपाल्चोक । त्यहाँ गत वर्ष पनि धेरै बाढी, पहिरोका घटनाहरु घटेका थिए । यो वर्ष पनि धेरै जोखिम रहेको बताइएको छ । सिन्धुपाल्चोकको माटो कमलो र ढुङ्गा कमजोर भएकोले धेरै पहिरो जाने गरेको भूगर्भवित्हरुले बताउने गरेका छन् ।

मेलम्ची नदी किनारामा रहेको मेलम्ची नगरपालिकाको मेलम्ची बजारका वासीन्दाहरु बर्खा लागेपछि डराउँदै बस्न पर्ने अवस्था छ । गत वर्ष त्यहाँका केही घरहरु मेलम्चीमा आएको बाढीले बगाएको थियो । हाल त्यहाँको बाढी पहिरोको अवस्था र पालिकाका समग्र योजनाहरु के कस्ता छन् भन्ने विषयमा नगर प्रमुख आइतमान तामाङसँग अनलाइनपानाका लागि रामनाथ कुँवरले कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीको सम्पादित अंश :

मेलम्ची नगरपालिकामा बाढी—पहिरोको जोखिको कतिको छ ? अहिलेसम्म कस्ता र कति क्षति पुग्यो ?
यहाँ बाढी पहिरोले जटिल अवस्था सृजना गरेको छ । क्षति भएको भन्दा पनि क्षति हुने सम्भावना धेरै छ । त्यसको न्यूनीकरणका र व्यवस्थापनका लागि केही तयारीहरु गरेर बसेका छौं । मेलम्ची खोलामा आजभोलि सामान्य बाढी आइनै रहन्छ छ । मेलम्ची नगरपालिकाबाट बग्ने मेलम्ची र इन्द्रावती नदी आसपासको वस्तीमा निकै खतरा छ । नदीको बहाव बढेपछि कहिले वारी, कहिले पारी कटान हुने क्रम जारी छ । मेलम्ची नदिले हाम्रो ६, ९, १०, ११, १२ र १३ नम्बर वडालाई छुन्छ ।

मेलम्ची बजारका वासीन्दालाई सतर्क रहन भनेका छौं । गत वर्ष यहाँ बाढीले धेरै क्षति गरेको थियो । यो वर्ष केही खेतहरुमा कटान भइरहेको छ । गर्त वर्ष मेलम्चीको किनारामा भएका धेरै घरहरु बाढीले लगेको थियो । केही डबानमा परेको थियो । हामीले संघ र प्रदेश सरकारलाई पनि विपद् व्यवस्थापनका लागि सहयोग गर्न आग्रह गरेका छौं । मेलम्ची नगरपालिका पनि तयारी अवस्थामा छ ।

समृद्ध मेलम्ची बनाउने तपाईंका योजनाहरु कस्ता छन् ?
हामीले नगरस्तरीय आवधिक योजनाहरु बनाउँदै छौं । नगरपालिकाको सबै टोलमा सडक पु¥याउने, स्तरउन्नती गर्ने, भौतिक संरचनाहरु बनाउने, सिँचाइ, खानेपानी, शिक्षा र स्वास्थ्यलाई प्रथामिकता दिएर काम अगाडि बढाउने छौं । यहाँ धेरै कामहरु गर्नुपर्ने छ । तर सबै कामहरु छिट्टै गर्नलाई बजेट पुग्दैन । हाम्रो आन्तरिक स्रोत पनि कम्जोर छ ।

प्रदेश र केन्द्रले राम्रा योजनाहरु दिएको छैनन् । मेरो सोच त यहाँको सबै आवश्यक्ताहरु पूरा गर्ने छ । तर बजेटमा भर पर्छ । यो बर्खामा सडकहरु अवरुद्ध भएको छ । त्यसो हुनाले हामीले सडकको कामलाई पहिलो प्रथामिकतामा राखेका छौं । अरु खानेपानी, शिक्षा लगायतका सबै क्षेत्रमा भएका समस्याहरु सुल्झाउन मेलम्ची नगरपालिकाले एउटा आवधिक योजना तयार पारेको छ ।

कसरी सबै पक्षलाई समेटेर अगाडि बढ्नुहुन्छ ?
हामीले स्थानियवासी, राजनीतिक दल, संघसंस्थाहरु लगायत सबैलाई समेटेर कार्यक्रमहरु बनाएका छौं । अब कार्यान्वयनको क्रममा पनि हामी सबैसँग छलफल जारी राख्ने छौं । मैले नगरपालिकाका सबै जनप्रतिनिधि साथीहरुलाई भन्दै आएको छु । हामीलाई जनताले निर्वाचित गरेको हुनाले जनताको मागलाई सम्बोधन गर्नैका निम्ति पालिकाको समृद्धिमा जुट्नु पर्छ । यो कार्यकालमा हामीले नगरको विकास र समृद्धिलाई नै उच्च प्रथामिकता दिने छौं ।

यसैगरी नगरसभाले योजना तर्जुमा गरेको छ । जस अनुसार बजेट विनियोनका लागि, थप अनुदानको लागि हामीले संघ र प्रदेश सरकारलाई अनुरोध गरेका छौं । केही अनुदानहरु आइसकेको छ । तिनै तहको सहकार्य र सहमतिमा विकास गर्नु संघीयताको मर्म हो । त्यही अनुसार हामी लाग्ने छौं ।

यस वर्ष कृषिमा कस्ता योजनाहरु ल्याउनुभएको छ ?
हामीले यो आर्थिक वर्षमा कृषिमा पर्याप्त धेरै योजनाहरु ल्याएका छौं । हामी नगरपालिका १३ वटै वडाको माटो परीक्षण गर्ने छौं । माटो, हावापानी हरुको आधारमा किसानहरुलाई खेती गर्न व्यवस्था मिलाउने छौं । भँैसी पालन, कुखुरा पालन लगायतलाई हामी अनुदानको पनि व्यवस्था मिलाउँछौं । एक घर एक नर्सरी लगायतका धेरै योजनाहरु अगाडि सारिएको छ । सिँचाइका योजनाहरु पनि छन् ।

पालिकामा पनि धेरै बेरुजु देखिने गरेको छ । बेरुजु कम गर्न के गर्नु हुन्छ ?
हामीले बेरुजु हुन नदिनलाई छलफल, अनतरक्रिया चलाएका छौं । कुन अवस्थामा बेरुजु आउन सक्छ । त्यसो हुन नदिनलाई के—के गर्नु पर्छ भन्ने विषमा हामीले छलफल चलाएका छौं । गर्दा गर्दै पनि नमिलेको खण्डमा बेरुजु आउन सक्छ । अब हामी बेरुजु नआउने गरी काम गर्छौं ।

पालिकाहरुमा भ्रष्टचार भएका समाचारहरु पनि निरन्तर आइरहेका छन् । यसलाई रोक्ने योजना कस्ता छन् ?
विधि र प्रक्रिया अनुसार काम गरेमा भ्रष्टचार हुँदैन । प्राविधिक लागत स्टिमेट विना काम हुँदैन । सम्झौता हुनु पर्छ । कार्यसम्पन्न प्रतिवेदन हुनु पर्छ । त्यसैगरी अनुगमन हुन्छ । यसरी गर्दा भ्रष्टाचार हुन पाउँदैन । त्यसो हुनाले म यो कार्यकालमा सबै कामहरु विधि अनुसार गर्ने/गराउने छु । हामीले अनियमितता नगर्ने प्रतिबद्धता निर्वाचन ताका नै जनतासँग गरेका छौं ।

अन्त्यमा, अरु केही भन्नु छ ?
नेपाल सरकारले गफमात्र दिएको छ । बाढी–पहिरो प्रभावित क्षेत्रमा केही गर्न सकेन । गत वर्ष नै एक महिनामा पुल हाल्छु भनेर संघ सरकारले भनेको थियो । तर अहिलेसम्म पुल बनेन । एक वर्ष वित्दा पनि डिपिआर पनि आएको छैन । अहिलेको बजेटमा दुई वटा पुललाई ५० करोडको बजेट आएको भए पनि कहिले बन्ने हो थाहा छैन ।

नेपाल सरकारको यस्तो बिजोक छ । मेलम्चीबाट इद्रवती हुँदै, चौतारा, हेलम्बु र पाँच पोखरी जाने पुल र खट्टेबाट दुबोचौर, सिर्पाथाङतिर जाने पुल बनाउने भनिएको हो । हिउँदमा अस्थायी पुल राख्ने गरिएको छ । बर्खा लागेपछि त्यो निकाल्नु पर्छ । यसो हुनाले यहाँका धेरै जनतालाई सास्ति भएको छ । सबै पार्टीका नेताहरुले भाषण मात्रै गरेका छन् । काम भने जिरो छ ।

प्रकाशित मिति : श्रावण २२, २०७९ आईतबार  ५ : ३१ बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।