Logo

टिप्पणी

सफल होला त ‘नो नट अगेन’ अभियान ?



काठमाडौं । प्रदेश र प्रतिनिधि सभा निर्वाचनको तयारीले देशमा राजनीतिक माहोल तातेको छ । निर्वाचन आयोग, राजनीतिक दल, सुरक्षा निकाय, कर्मचारी संयन्त्र, स्वतन्त्र उम्मेदवार र जनता सबैले आ—आफ्नै स्थानबाट तयारी थालेका छन् । यही मौका पारी सामाजिक सञ्जालमा पछिल्लो समय देशका ६ जना पूर्वप्रधानमन्त्रीहरुको फोटो एकै ठाउँमा राखेर उनीहरुविरुद्ध प्रचार प्रसार भइरहेको छ । त्यो फोटोमा लेखिएको छ, ‘नो नट अगेन’ ।

उमेरले ७० वर्ष पार गरेका पूर्वप्रधानमन्त्रीहरुलाई फेरि सत्तामा आउन नदिन यो फोटो सामाजिक सञ्जालमा भाइरल बनाइएको हो । पूर्वप्रधानमन्त्रीहरुकै फोटो प्रयोग गरेर बनाइएको ‘फेरि भेट्न पाइन्छ पाईँदैन, अब फर्की आइन्छ आइँदैन’ भन्ने गीतको टिक्टक भिडियो पनि अहिले निकै भाइरल छ ।

विशेषगरी क्षमता र योग्यता पुगेका युवाहरु सरकारको नेतृत्वमा पुग्नु पर्छ भन्ने विचार यो अभियानमा संगठित हुँदैछ । यो अभियान देखेर राजनीतिक दलका नेताहरुले सामान्य प्रतिक्रिया दिए पनि स्थानीय तह निर्वाचनमा जसरी नै स्वतन्त्रले हराउने डर पूर्वप्रधानमन्त्रीहरुमा छ । प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिन ठूलै संख्यामा युवाहरु जुरमुराएका छन् । अहिलेसम्म केहीले उम्मेदवारी नै घोषणा गरेका छन् भने केही तयारीमा छन् । सो अभियानबाट देशैभरी जोसीला युवाहरु उठाइने बताइएको छ ।

स्थानीय तहको निर्वाचनकै नतिजा दोहोरिने हो भने अब बहालवाला प्रधानमन्त्रीलगायतका पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहल ‘प्रचण्ड’, डा. बाबुराम भट्टराई, माधवकुमार नेपाल र झलनाथ खनाललाई पनि चुनाव जित्न निकै सकसपूर्ण नहोला भन्न सकिन्न ।

भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारलाई देशकै राजधानीसमेत रहेको काठमाडौंसहित केही स्थानमा स्वतन्त्र उम्मेदवारले पराजित गरेर बाजीमा मारेका तपाईंहामी सबैले देखेकै छौं । काठमाडौंमा एमालेका केशव स्थापित र पाँच दलीय सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी कांग्रेसकी सिर्जना सिंहलाई बालेन्द्र साह (बालेन)ले, धरान उपमहानगरपालिकामा हर्क साम्पाङ र धनगढी उपमहानगरपालिकामा गोपाल हमालले दलका उम्मेदवारलाई हराउँदै स्वतन्त्रबाट प्रमुख बनेका छन् । यी तीन जनासहित स्थानीय तह निर्वाचनमा ३ सय ८६ जनाले जित हासिल गरेका छन् ।

पटक—पटक प्रधानमन्त्री हुँदा पनि प्रभावकारी काम गर्न नसक्नु र उमेरले असी पुगि बसीखाने अवस्थामा पुग्नु नै ‘नो नट अगेन’ सफल हुने आधार भएको युवाहरुको दाबी छ ।

जसको प्रभाव स्वरुप प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा शीर्ष नेताहरुलाई नै हराउन सकिने भन्दै तयारीमा केही स्वतन्त्र युवाहरु लागिरहेका छन् । प्रधानमन्त्री देउवालाई साझा सवाल कार्यक्रममा प्रश्न गरेर चर्चित बनेका सागर ढकाल यो निर्वाचनमा देउवाविरुद्ध डडेल्धुराबाट चुनाव लड्ने घोषणा गरेर तयारीमा व्यस्त छन् । डडेलधुराबाट चुनावमा उठी देउवालाई ससम्मान वृद्ध भत्तासहित आराम दिने निर्णय गरेको ढकालको घोषणामा भनिएको छ ।

त्यसैगरी ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट जलवायु विज्ञ अरनिको पाण्डेले उम्मेदवारी घोषणा गरेका छन् । उक्त क्षेत्रमा २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रकी नेतृ तथा उर्जा मन्त्री पम्फा भुसाल निर्वाचित भएकी थिइन् ।

काठमाडौं १ बाट २०७४ मा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले चुनाव जितेका थिए । अहिले त्यहाँ स्वतन्त्रबाट पुकार बमले उम्मेदवारी घोषणा गरिसकेका छन् । यीबाहेक अन्य धेरै ठाउँमा पनि युवाहरुले उम्मेदवारी घोषणा गरेका छन् भने केही युवाहरु गौन रुपमा तयारीमा छन् । पटक—पटक प्रधानमन्त्री हुँदा पनि प्रभावकारी काम गर्न नसक्नु र उमेरले असी पुगि बसीखाने अवस्थामा पुग्नु नै ‘नो नट अगेन’ सफल हुने आधार भएको युवाहरुको दाबी छ ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार १८:११   :  बजे

1.3K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।