Logo

जनप्रतिनिधि

‘मुक्ति या मृत्यु’ भनेर जनयुद्धमा होमिएकी रेणुको यस्तो छ राजनीतिक यात्रा



विक्रम सम्वत् २०३३ साल असार २२ गते चितवन शिवनगरको भीमसेन नगरमा जन्मिएकाी रेणु दाहाल अहिले दोस्रो कार्यकालका लागि भरतपुर महानगरपालिका प्रमुख छिन् । उनी पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सीता दाहालकी माहिली छोरी हुन् ।

पढाइमा उनले एसएलसी उत्तीर्ण गरेकी छन् । त्यसपछि राजनीतिक लडाइँमा होमिएकी रेणुले अध्यायनलाई निरन्तरता दिन पाइनन् । बाल्याकालमा उनको परिवार सामान्य थियो । रेणु दाहालको २०५३ साल माघ २७ गते चितवनकै व्यवसायी अर्जुन पाठकसँग विवाह भएको थियो । हाल उनका एक छोरा र एक छोरी छन् । उनी भरतपुर महानगरपालिका–१० मा बस्दै आएकी छन् ।

राजनीतिक यात्रा

विक्रम सम्वत् २०५१ सालमा पार्टी प्रवेश गरेकी रेणु दाहाल २०५२ सालको माओवादी सशस्त्र द्वन्द्वकालमा भूमिगत भएकी थिइन् । जनयुद्धभर उनी कहिले प्रवास त कहिले देशकै विकट भूभागमा विभिन्न जिम्मेवारीमा खटिन्थिन् । बुवा प्रचण्ड जनयुद्धमा होमिएपछि बुवालाई साथ र सहयोगको लागि भन्दै त्यसैमा लागेकी उनी आफूले राजनीतिक प्रेरणा बुवाबाटै पाएको बताउँछिन् ।
२०५२ सालमा तत्कालीन नेकपा माओवादीको विद्रोह सुरु हुँदा रेणु १९ वर्षकी थिइन् । त्यसक्रममा उनी ६ महिनासम्म बुवाआमासँगको सम्पर्कबाहिर रहिन् । भाइ प्रकाश र बहिनी गंगासँगै उनलाई पार्टीका केही नेता र कार्यकर्ताले भूमिगत शैलीमा भारतको सिलगुडीमा पु¥याए । त्यसपछि उनीहरु मुक्ति या मृत्यु भनेर जनयुद्धमा होमिएको उनी बताउँछिन् ।

मुलुकमा शसस्त्र द्वन्द्व भएकामा बेला रेणु २०५३ पछि माओवादीमा पूर्णकालीन सदस्य बनेकी हुन् । २०६१ देखि २०६३ सम्म रेणुले नेकपा (माओवादी केन्द्र) रोल्पा जिल्लाको सह–इन्चार्जको रूपमा काम गरिन् । २०६४ देखि २०७२ सालसम्म उनले नेकपा माओवादी काठमाडौं सेक्रेटरीको कार्यभार पूरा गरिन् । अखिल भारत नेपाली महिला संगठनको अध्यक्षको रूपमा प्रवासमा रहेरसमेत काम गरेको अनुभव रेणुसँग छ । माओवादी जनयुद्धको भूमिगत कालमा उनले भारतका विभिन्न प्रान्तहरूमा पार्टीको सेक्रेटरी र महिलाको जिम्मेवारी वहन गरेकी थिइन् ।

पहिलो संविधानसभामा समानुपातिकबाट सभासद् भएकी रेणु २०६४ जेष्ठदेखि २०६९ जेष्ठसम्म संविधानसभा सदस्य रहिन् । संविधानसभाको दोस्रो निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ मा उम्मेदवार बनेकी उनी नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग पराजित भइन् । २०७४ सालको स्थानीय चुनावमा उनी गृहनगर भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार बनिन् । उनी नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीलाई हराएर पहिलो पटक भरतपुरको प्रमुख बनिन् । पहिलो कार्यकालमा भरतपुरमा विकासका राम्रा र महत्वपूर्ण कामहरु सम्पन्न गरेको उनी बताउँछिन् ।

भर्खरै सम्पन्न स्थानीय तहको चुनावमा पनि रेणु भरतपुर महानगरपालिकाको प्रमुखमा पुनः निर्वाचित भएकी छन् । एमाले नेता विजय सुवेदीलाई पराजित गर्दै सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी उनले ५२ हजार २८ मत प्राप्त गरिन् भने सुवेदीले ३९ हजार ५८२ मत ल्याएका छन् । रेणुले भारत, चीन, बेलायत, थाइल्याण्ड, श्रीलंका, इन्डोनेसिया लगायतका देशको भ्रमण गरेकी छन् । उनी हाल पार्टीको पोलिटब्यूरो सदस्य समेत हुन् ।

महानगर प्रमुखका रुपमा पहिलो कार्यकाल

केन्द्र सरकारको बजेट र परियोजना भरतपुरमा प्रशस्तै भित्र्याएको रेणु दाहाल बताउँछिन् । पहिलो कार्यकालमा ६१० किलोमिटर सडक कालोपत्रे, ४५० किमि ग्राभेल र केन्द्रीय बसपार्कको स्तरोन्नति तथा नारायणी नदीमा तटबन्ध र राप्ती नदी नियन्त्रण लगायत कामले भरतपुरलाई बदलेको उनले बताइन् ।

‘मध्य नेपालको सुन्दर सहर समृद्ध र सुसंस्कृत भरतपुर महानगर’ नारासहित रेणुले आफ्नो पहिलो कार्यकालको सुरुआत गरेकी थिइन् । अहिले भरतपुरलाई नमूना सहर बनाउने प्रतिबद्धता उनको छ । अब भरतपुरलाई स्मार्ट सिटीको रुपमा विकास गरेर देखाउने उनले प्रतिबद्धता जनाएकी छन् ।

प्रकाशित मिति : श्रावण २८, २०७९ शनिबार  २ : ४७ बजे

201
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।