Logo

जनप्रतिनिधि

हर्क साम्पाङ : जसको आसन फेरियो, भाषा र भाषण फेरिएन !



‘हर्क साम्पाङ’, यो नाम नसुन्ने र नजान्ने अपरिचित व्यक्तिलाई खोज्दै हिँड्ने हो भने अहिले पाउन मुस्किल हुन्छ । दलीय राजनीतिबाट आजित भएका तर साम्पाङको लामो त्याग, संघर्ष र मेहनतबाट प्रभावित भएका धराने जनताले गत ३१ वैशाखमा सम्पन्न स्थानीय चुनावमार्फ उपमहानगरको नेतृत्व सुम्पेसँगै यो नाम चर्चाको शिखरमा पुगेको हो । साम्पाङ विक्रम संवत २०३९ साल फागुन १५ गते खोटाङको खार्ताम्छामा जन्मेका हुन् । उनका बुवा पूर्व बृटिस आर्मी हुन् ।

गाउँकै शुक्रबारे माविबाट एसएलसी उत्तीर्ण गरेर उनी २०५६ सालमा उच्च शिक्षा अध्ययनका लागि धरान झरेका थिए । उनले महेन्द्र बहुमुखी क्याम्पस धरानबाट राजनीति र समाजशास्त्रमा स्नातक गरेका छन् । अध्ययनकै क्रममा उनले धरानस्थित एक ‘ल्याङ्ग्वेज सेन्टर’मा अङ्ग्रेजी भाषा प्रशिक्षकका रूपमा पनि काम गरे । साहित्यमा रुची भएका हर्क आफै गीत लेख्छन् र गाउँछन् पनि ।

हर्क साम्पाङ अहिले धरान उपमहानगरपालिका वडानम्बर १८ बुद्धचोकमा बस्छन् । उनको परिवारमा पत्नी, दुई छोराछोरी र आमा छन् । उनकी पत्नी घरैमा सानो किराना पसल चलाउँछिन् । उनले केही अटो किनेर भाडामा चलाउन दिएका छन् । उनको आम्दानीको स्रोत त्यही भएको साम्पाङ बताउँछन् ।

सामाजिक कार्य

स्नातकसम्मको अध्ययन सकिएको केही समयपछि विदेशिएका साम्पाङ अफगानिस्तान र इराकमा छ वर्ष बसेर देशमै केही गर्नुपर्छ भनेर नेपाल आएर सामाजिक काममा लागे । हालसम्म पनि साम्पाङ सामाजिक अभियानमा निरन्तर लाग्दै आएका छन् । तर उनको सामाजिक अभियन्ताको रुपमा चर्चा भने कम नै थियो ।

धरानको धनकुटे मार्ग भएर जाने १०५ मिटर चौडाइको मदन भण्डारी राजमार्गअन्तर्गत स्थानीय बासिन्दाको घरजग्गा जोगाउने अभियानबाट आफूले सामाजिक कार्यको सुरुआत गरेको उनी बताउँछन् । सडक विस्तारका नाममा स्थानीयलाई सुकुम्बासी बनाउन नहुने कुरा उठाएपछि साम्पाङको परिचय फैलँदै गयो ।

सन् २०१२ मा धरान खाने पानी आयोजना सम्झौता भई काम सुरु भएर पानी वितरण भए पनि समस्या भने ज्युँका त्युँ रह्यो । त्यसबखत साम्पाङले पहिलो पटक हिम्मतका साथ आयोजनाप्रति प्रश्न गर्न थाले । खाने पानीमा केही राजनीतिक चलखेल भएको चाल पाएका उनी एक्लै सडकमा उत्रनसम्म पछि परेनन् ।

विद्रोही स्वभावका साम्पाङलाई यस विषयमा बिस्तारै धरानवासीले पनि साथ दिँदै गए । धरानको खाने पानी आयोजना, बीपी प्रतिष्ठानको भ्रष्टाचार र बेथिति तथा महँगीविरुद्ध उनले आवाज बुलन्द पार्दै गए । उनको अभियानलाई धरानका स्थानीयले साथ दिन थालेपछि निरन्तर खबरदारीमा लागि रहे । एक्लै पनि ‘सतिसाल’झैं जनताका समस्यामा साम्पाङले आवाज उठाइरहँदा आज अरुको साथ नपाए पनि धरानका स्थानीयको पूर्ण साथ पाएका छन् । जनताको सेवा गर्न चुनिएका राजनीतिक दलका जनप्रतिनिधि गम्भीर नहुँदा स्थानीयमा असन्तुष्टि चुलिएको उनले बताउँदै आएका छन् ।

राजनीतिक दलहरुप्रतिको जनताको असन्तुष्टिका कारण आफूले लोकप्रिय मत पाएको उनी बताउँछन् । ‘मैले जनताको समस्या सार्वजनिक रूपमा उठाएकाले स्थानीयले मलाई विश्वास गरे । उनीहरुप्रति धेरै कृतज्ञ छु’, नगर प्रमुख साम्पाङ भन्छन् ।

विसं २०७४ को स्थानीय तहको चुनावमा मतदाता भएका उनी ०७६ को उपचुनावमा भने धरानवासीहरुको समस्याको एजेन्डा लिएर स्वतन्त्र उम्मेदवार बनेका थिए । उनले त्यो उपचुनावमा ४२२ मत मात्रै पाए । भ्रष्टाचारमुक्त समाज र पारदर्शी शासन उनको मान्यता छ । उपमहानगरको जिम्मेवारी सम्हालेयता उनी धरानको खाने पानीको व्यवस्थापन आफ्नो पहिलो जिम्मेवारी भएको बताउँदै दिनप्रतिदिन त्यही काममा लागेका छन् ।

मेयर बन्नु पहिले हर्क साम्पाङ एक दशकदेखि धरानका सडकमा कहिले एक्लै त कहिले सानो समूह लिएर प्ले कार्ड, ब्यानर, पर्चा लिएर सधैँ भेटिइरहने सामाजिक अभियन्ता थिए । उनको सर्दु जलाधार क्षेत्र संरक्षण अभियानमा पनि योगदान रहेको बताइन्छ । सर्दु जलाधर क्षेत्रमा मुआब्जा पाइसकेका स्थानीयले केही व्यक्तिसँग मिलेर फेरि जमिन हडप्ने र बेचबिखन गर्ने गरेपछि कृष्ण नारायण पालिखे नेतृत्वको ‘जनसरोकार मञ्च’ले अभियान चलाइरहेको थियो । साम्पाङ पनि त्यसमा जोडिई सोही मुद्दा बोकेर हिँड्ने क्रममा कृष्ण नारायण पालिखेको मृत्यु भएपछि त्यस अभियानको काम साम्पाङले सम्हालेका थिए । एकपछि अर्को सामाजिक अभियान सञ्चालनमा ल्याएका साम्पाङलाई स्थानीयले यसपटक जनमत दिने मौका पाए ।

साम्पाङको पक्षमा खसेको त्यो लोकप्रिय मत

नेकपा एमालेको किल्ला मानिने धरान उपमहानगरपालिकामा २०७६ को उपनिर्वाचनमा भने नेपाली कांग्रेसले जित हात पारेको थियो । यस पटकको निर्वाचनमा कांग्रेस र एमालेको कडा प्रतिस्पर्धा हुने अनुमान गरिए पनि सडकदेखि जनताको आवाज उठाएका हर्कले सबै राजनीतिक दलहरुलाई पाखा लगाइदिए ।

हर्क साम्पाङले गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई चार हजार ७६२ मतान्तरले पराजित गरेका हुन् । साम्पाङले २० हजार ८२१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी राईले १६ हजार ६९ मत प्राप्त गरे । यस्तै, नेकपा एमालेकी मञ्जु भण्डारी १२ हजार ८२५ मतमा सीमित भइन् । कांग्रेसलाई गठबन्धनका घटक माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमोर्चाले साथ दिए पनि एउटा समान्य नागरिक, जसले धरानेका पीडा बोल्थे, ओकल्थे र धरानका लागि सपना बोकेर एक्लै हिँडे उनलाई विजयी गराए । अब प्रश्न सोधिरहने भूमिकाबाट साम्पाङ उत्तर दिइराख्नुपर्ने आसनमा पुगेका छन् ।

साम्पाङ भन्छन्, ‘तलबभत्ता बुझ्छु, लिनैपर्छ, तर त्यसभन्दा बाहिरको एक रूपैयाँ पनि मैले खाएको प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार हुने छु ।’ उनले धरानको पर्यावरण जोगाउने, प्राकृतिक स्रोत दोहन रोक्ने, फोहर नियन्त्रण गर्ने योजनामा पनि ध्यान दिने बताएका छन् ।

उपमहानगरको प्रमुख जस्तो पदमा निर्वाचित भइसकेपछि पनि साम्पाङमा कुनै किसिमको अहमता र घमण्ड देखिएको छैन/देखाएका छैनन् । हिजोको हर्क साम्पाङ र नगर प्रमुख भइसकेपछिकाे हर्क साम्पाङमा खासै भिन्नता पाइँदैन । उनी त जनताले नै याे स्थानसम्म पुर्‍याएको भन्दै आफूलाई अझ सानाे मान्छन् र आफूलाई त्यसै अनुसार अर्थ्याउँछन् । जनतासँगै काम गर्छन्, बस्छन्, खान्छन्, सबैसँग राम्राेसँग हाँस्छन् र बाेल्छन् । यसले के प्रष्ट हुन्छ भने उनको आसन फेरिए पनि उनले प्रयोग गर्ने भाषा र उनले गर्ने भाषण उही छ । यसर्थमा हर्क साम्पाङ सबैको नजरमा उच्च कोटीका मानिएका छन् ।

प्रकाशित मिति : श्रावण २९, २०७९ आईतबार  ५ : ५० बजे

3.195k
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।