Logo

जनप्रतिनिधि

२२ वर्षीय पालिका अध्यक्ष राजाबाबु : जो गाउँलाई पाँच वर्षभित्र कायापलट गर्न चाहन्छन्



गत ३१ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट सर्लाहीको रामनगर पाउँपालिकाको अध्यक्षमा चुनिए २२ वर्षीय ठिटो राजाबाबु यादव । राजाबाबु संविधान सभा सदस्य शिवपुजन यादव र मिना यादवका जेठा छोरा हुन् । उनको जन्म २०५६ साल मंसिर २४ गते सर्लाहीको रामनगरमा भएको हो ।

उनले कक्षा ४ सम्म गाउँकै विद्यालयमा पढेका हुन भने ८ कक्षासम्म मलंगवामा पढे । राजाबाबु थप अध्ययनका लागि काठमाडौँ आएका थिए । उनी काठमाडौँस्थित एपेक्स कलेजमा बिबिए ८ औं सेमेस्टरमा अध्ययनरत थिए । राजनीतिक परिवेशमा हुर्किएका उनले स्थानीय चुनावमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिएर बाजी मारेका हुन् ।

पालिका अध्यक्षमा उम्मेदवारी दिने सोचमा यसरी पुगे राजबाबु

राजाबाबु स्थानीय तह निर्वाचन भन्दा पाँच महिनाअघि मात्र गाउँ फर्केका थिए । छुट्टीका बेला गाउँ आइरहने उनलाई गाउँको अवस्था परिवर्तन गर्नु पर्ने सोच जाग्यो । एकाइसौँ शताब्दिमा पनि आफ्नो गाउँको अवस्था हेर्दा सयौं वर्ष पछि परेको जस्तो उनी महसुस गर्थे ।

स्थानीय सरकारको यस अघिको कार्यकालमा उनी गाउँको समस्या लिएर पालिकामा पुगेका थिए । उनको कुरालाई पालिका अध्यक्ष/उपाध्यक्षले समाधान गर्न चासो नदेखाएपछि आफै गाउँपालिका अध्यक्ष बनेर गाउँको तमाम समस्याको समाधान गर्ने सोच दिमागमा त्यही बेलादेखि आएको राजाबाबु बताउँछन् ।

गाउँका समस्याहरू सुधार्न युवा नै आउनुपर्छ भनेर गाउँवासीले धेरै हौसला प्रदान गरेको उनले सुनाए । त्यसपछि उनले गाउँका सबै जानकारीहरु लिए । अनुगमन गरे । सबै समस्याहरु नोट गरे र गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिए । राजाबाबु चुनाव लड्ने भएपछि रामनगरवासीले जोड्तोड्ले हौसला दिए । उनले बुवा शिवपुजनलाई षड्यन्त्र गरेर विपक्षीहरूले चुनाव हराएको र झुठा मुद्दा चलाउन लगाएकाले पनि राजनीतिमा आफू आएको बताए ।

स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका उनले ४०८१ मत ल्याएर जितेका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका हरिनन्दन प्रसाद यादवले २३९२ मत ल्याए । उनी राजाबाबुका नातामा काका (हजुरबुवाको भाइका छोरा) हुन् ।

राजाबाबुको जितमा बुबा शिवपुजनको ठूलो योगदान छ । बुबाकै सल्लाहमा राजनीतिमा होमिएर उम्मेदवारी दिएको उनले बताए । ‘मतदाताको मन जितेर निर्वाचित भएको हुँ’, उनी भन्छन्, ‘विकास हुन नसकेको मेरो पालिका बनाउने जिम्मा लिन्छु  ।’ उनले बुबा शिवपुजनको साथ सहयोगमै पालिकामा अगाडि बढ्ने बताए ।

राजाबाबु देशैभरीमा नेकपा माओवादीको तर्फबाट गाउँपालिका अध्यमा निर्वाचित कान्छा जनप्रतिनिधि हुन् । राजाबाबु पालिका अध्यक्षमा निर्वाचित भएर काठमाडौं आएका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड)ले सम्मान समेत गरेका थिए ।

राजाबाबु २२ वर्षमै अध्यक्षमा निर्वाचित भएकोले युवाहरुलाई राजनीतिमा अग्रसर हुने हौसला मिलेको छ । उनको देशभरी नै चर्चा चलिरहेको छ । आगामी पाँच वर्षमा कस्तो काम गर्छन् भन्ने प्रतिक्षामा धेरैको ध्यान रामनगरतिर केन्द्रित छ ।

आगामी योजनाहरु के छन् ?

यो आर्थिक वर्षमा शिक्षालाई प्रथामिकतामा राखेर बजेट ल्याएको राजाबाबुले बताएका छन् । पालिकाका विद्यालयहरुको शैक्षिक—भौतिक दुबैको व्यवस्थापन गर्नु पर्ने अवस्था रहेको उनको भनाइ छ ।

त्यसैगरी स्वास्थ्य र सडकलाई पनि प्रथामिकतामा राखेर काम सुरु गरिएको उनले बताए । पालिकामा भ्रष्टचार हुन नदिने उनले बताएका छन् । सबैको साथ र सहयोग लिएर पाँच वर्षमा गाउँ नै कायापलट गर्ने याेजना उनकाे छ ।

प्रकाशित मिति : भाद्र ८, २०७९ बुधबार  ३ : १९ बजे