काठमाडौं । सम्झौताअनुसार फाेहाेर पानी प्रशाेधन केन्द्र निर्माणकाे काम अघि नबढाएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले चिनियाँ कम्पनीसँगको ठेक्का सम्झौता तोडेको छ । चीनको साङ्घाईस्थित निर्माण कम्पनी साफबोन वाटर सर्भिस (होल्डिङ)सँग ठेक्का सम्झौता केयुकेएलको आयोजना कार्यान्वयन निर्देशनालयले तोडेको घोषणा गरेको हो ।
उक्त कमपनीले भक्तपुरको सल्लाघारी र ललितपुरका कोड्कु तथा धोविघाटमा फोहोर पानी प्रशोधन केन्द्रको निर्माणका लागि गरिएको सम्झौता गरेको थियो । कम्पनीसँग सल्लाघारी, कोड्कु (बालकुमारी) र धोविघाटमा गरी प्रतिदिन कूल ६ करोड ८७ लाख लिटर फोहोरपानी प्रशोधन क्षमताका फोहोरपानी प्रशोधन केन्द्रहरु २ वर्ष ६ महिनाभित्र निर्माण सम्पन्न गर्ने र पाँच वर्षसम्म संचालन गर्ने गरी सन् २०१७ को जनवरी २६ मा सम्झौता भएको थियो ।
तोकिएको समयमा निर्माण सम्पन्न गर्न बारम्बार ताकेता गरिनुका साथै ६ पटकसम्म म्याद थप गर्दा पनि काम नभएपछि ठेक्का रद्द गरिएको आयोजना उपनिर्देशक चन्द्रकुमार पाँ श्रेष्ठले जानकारी दिए । ‘फोहोर पानी प्रशोधन केन्द्र निर्माणमा असफल देखिएको, निर्माण स्थलमा कम्पनीका आधिकारिक प्रतिनिधि तथा मुख्य व्यक्ति अनुपस्थित रहेको, सम्झौता अनुसार काम नगरेको, बीमालेख नवीकरण नगरेको, सम्झौता उल्लंघन गरेको र पीआईडीबाट दिइएका निर्देशनलाई बेवास्ता गरेको कारणले सम्झौता अन्त्य गरिएको छ’, केयुकेएलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
प्रशोधन केन्द्रको निर्माणका लागि उक्त कम्पनीसँग कूल लागत ३ अर्ब ९२ करोड रुपैयाँमा सम्झौता भएको थियो । उक्त कम्पनीले सम्झौता बमोजिम बैङ्क ग्यारेन्टीस्वरुप राखेको करिब ४९ करोड रुपैयाँ धरौटी रकम जफत गरिएको श्रेष्ठले बताए ।
उक्त कम्पनीले थपिएको अवधि समेत गरी ५ वर्ष ३ महिनामा जम्मा २७.१ प्रतिशत मात्र काम गरेको छ भने करिब ७७ करोड २७ लाख रुपैयाँ भुक्तानी लगेको छ । केयुकेएलका अनुसार अब, तीनवटै फोहोरपानी प्रशोधन केन्द्रहरुको बाँकी निर्माण कार्य नयाँ ठेक्का प्रक्रियाबाट छिटोछरितो ढंगले अघि बढाउन आवश्यक प्रक्रिया अगाडि बढाइने छ ।




















प्रतिक्रिया