Logo

अनलाइनपाना खोज

आईएमई कोअपरेटिभ सर्भिस समस्याग्रस्थ अवस्थामा [भाग-१]



काठमाडौंको जमल नजिकै कामनपा १ मा केन्द्रीय कार्यलय रहेको आईएमई कोअपरेटिभ सर्भिस लिमिटेड समस्याग्रस्थ देखिएको छ । रकम अभावका कारण र संस्थामा रहेको नगद संचालक समिति आफैले प्रयोग गरेपछि उक्त आईएमई कोअपरेटिभ सर्भिस लिमिटेड समस्यामा परेको हो । पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको समस्या विस्तारै राम्रा सहकारीमा पनि देखिन थालेको छ ।

यसले सहकारीको रकम संचालकले प्रयोग गर्दा सहकारी धरापमा पर्दै गएको देखाउँछ । यस अघि ठुला सहकारी भनिएका सिभिल सहकारी संस्था, कान्तिपूर सहकारी संस्था, ओरेन्टीयल सहकारी संस्था तथा हालै मात्रै गौतमश्री बहुउदेश्य सहकारी संस्था समस्यामा देखिएका थिए । ती सबै सहकारी संस्थाहरु संचालकले रकम प्रयोग गरेर तिर्न नसक्दा समस्यामा आएका हुन् ।

हाल आईएमई कोअपरेटिभ सर्भिस लिमिटेडको समस्या पनि सोही प्रकृतिको रहेको जनाइएको छ ।

आईएमई कोअपरेटिभ सर्भिस लिमिटेड काठमाडौं महानगरपालिका १ मा केन्द्रीय कार्यालय रहेको सहकारी संस्था हो । उक्त सहकारी संस्थाले बचत तथा ऋणको कार्य गर्दै आएको छ । उक्त संस्थाले हालै करिव ४० करोड रुपैयाँमा भवन निर्माण गरेको छ । सहकारीले केही रकम भवन निर्माणमा लगाएको भएपनि अधिकाँस रकम यस संस्थाका अध्यक्ष योगेश्वर शर्मा ढकालका माध्यमबाट आइएमई ग्रुपका अध्यक्ष चन्द ढकालले प्रयोग गरेको पाइएको छ ।

करिव २ अर्ब रुपैयाँ बराबरको रकम संचालकको हातमा पुगेपछि अहिले उक्त सहकारी संस्था नगद रकम अभावमा परेको हो । जसका कारण रकम लिन आउने व्यक्तिहरुलाई कम रकम दिएर पठाउन थालीएको छ । संस्थाको रकम संचालकहरुले चलाएपछि समस्या उत्पन्न हुन थालेको हो ।

बजारमा नगदको अभाव भएपछि अन्य क्षेत्रको व्यबसाय टिकाउनका लागि चन्द्र ढकालले करिव २ अर्ब रुपैयाँ यसअघि नै चलाएका थिए । तर उक्त रकम हालसम्म फिर्ता आउन नसकेपछि सहकारी संस्था समस्याग्रस्थ उन्मुख भएको हो । यस अघि आइएमई को–अपरेटिभ सर्भिस लिमिटेड आर्थिक वर्ष २०७६/७७ मा नेपालका प्रारम्भिक सहकारी संस्थाहरूमध्ये सबैभन्दा बढी आयकर दाखिल गरेको भन्दै सहकारी विभागद्वारा समेत सम्मानित भएको थियो । राष्ट्रिय स्तरको सहकारी अन्तरगत उक्त संस्था २०६८ वैशाख १ गतेदेखि सञ्चालनमा आएको थियो ।

राष्ट्रिय स्तरमा संस्था अग्रसर भएका कारण संस्थाले अरु ठाँउमा पनि शाखा खोलेको थियो । तथापी उक्त संस्थाले हाल रकम अभावका कारण अन्य शाखामा पैसा पठाउन समेत सकेको छैन । आईएमई कोअपरेटिभ सर्भिस लिमिटेड सहकारीको १२ सेवा केन्द्र नेटवर्कहरू, सात हजार बढी सदस्य र एक सय भन्दा बढी कर्मचारीहरु रहेका छन् ।

सहकारीको अध्यक्षमा योगेश्वर शर्मा ढकाल छन् भने संचालक समितिमा धनप्रसाद शर्मा, रुद्रराज पौडेल, उपेन्द्र शर्मा घिमिरे र पूजा शर्मा, निर्देशक समितिमा छन् । त्यसैगरी जयराम नेपाल, सीए दीपक शर्मा पोखरेल सञ्चालक समितिमा छन् ।

अर्जुन शर्मा पौडेललाई सिइओका रुपमा देखाइने भएता पनि उनी संचालक समितिको निर्देशन अनुसार आइएमई ग्रुप, यसका अध्यक्ष चन्द्र ढकाल तथा सहकारी संस्थाका अध्यक्ष योगेश्वर शर्मा ढकाललाई नै लगानी गर्न बाध्य छन् । आईएमई कोअपरेटिभ सर्भिस लिमिटेड देशकै ठुलो सहकारी संस्था अन्तरगत पर्दछ ।

यो पनि पढ्नुहोस्

प्रकाशित मिति : आश्विन १५, २०७९ शनिबार  ८ : ३६ बजे

2.676k
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।