Logo

कर्णाली प्रदेश

एकीकृत समाजवादीको जुम्ला जिल्ला कमिटी एमालेमा प्रवेश



काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी जुम्ला जिल्ला कमिटी नेकपा एमालेमा समाहित भएको छ ।

आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा एमालेलाई थप बलियो बनाउनका लागि सिंगो समाजवादी कमिटी नै एमालेमा समाहित भएको दुवै पार्टीका जिल्ला अध्यक्षद्वारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

एमाले जुम्ला जिल्ला कमिटी अध्यक्ष शान्तिलाल महत र एकीकृत समाजवादी जिल्ला अध्यक्ष आदीप्रसाद न्यौपानेले सात बुँदे संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै समाजवादी पार्टी एमालेमा समाहित भएको घोषणा गरेका हुन् ।

विज्ञप्तिमा ‘एमाले जुम्लाले कार्तिक ७ गते वाम एकता लगायत मूल घर फिर्ताका लागि गरिएको सार्वजनिक अपिल समेतलाई मध्यनजर गर्दै एमालेमाथि गरिएको चौतर्फी घेराबन्दीलाई तोड्न एमाले जिल्ला कमिटी जुम्ला र नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी जुम्ला’ बीच पार्टी एकीकरण गरेको घोषणा गर्दै ‘एमालेलाई विशाल, एकतावद्ध र सुदृढ संगठन निर्माण गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नेकपा एमालेको प्रगतिशील सरकार बनाउने’ उल्लेख गरिएको छ ।

विज्ञप्तिमा एकीकृत समाजावादीबाट समाहित भएकाहरुलाई उचित जिम्मेवारी दिइनेलगायतका प्रतिवद्धता जाहेर गरिएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलवार ०७:३४   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।