Logo

प्रदेश न. १

धरानमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु



 धरानमा कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । धरानस्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको हो ।

धरान उपमहानगरपालिका–९ का कोरोना सङ्क्रमितको बुधबार राति मृत्यु भएको छ । गौतम पथका ५८ वर्षीय व्यक्तिलाई थप उपचारका लागि प्रतिष्ठान लगिएको थियो । अस्पताल पुर्याएको केही समयमा राति साढे ११ बजे उनको मृत्यु भएको वडा नं ९ का वडाध्यक्ष रत्न कटवालले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृतकलाई बुधबार अपराह्न नै अक्सिजन कमी भएर समस्या भएको थियो । उनलाई यहाँस्थित प्रतिष्ठानमा अपराह्न नै उपचारका लागि लैजाने पहल गरिए पनि अक्सिजन भएको शय्या अभावमा लान सकिएको थिएन । शय्या खाली नभएपछि अक्सिजन किनेर घरमै राखिएको थियो । उनलाई आठदश दिनदेखि ज्वरो आए पनि तीन दिनअघि मात्र रिपोर्ट पोजेटिभ आएको थियो ।

यस्तै प्रतिष्ठानमा उपचाररत तेह्रथुम दाङपा–१ का ४९ वर्षीय एक पुरुषको पनि बुधबार राति मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा अशिष श्रेष्ठले जानकारी दिनुभयो । उनलाई असोज २५ गते प्रतिष्ठानमा भर्ना गरिएको थियो । असोज २६ गते कोरोना पोजेटिभ भएपछि उनलाई कोभिड अस्पतालमा उपचार भइरहेको थियो ।

धरानमा होम आइसोलेशनमा बसेकाको मृत्युदर बढ्दै गएको छ । अक्सिजन कमी भएर समस्या हुन थालेका सङ्क्रमितको प्रतिष्ठानको कोभिड अस्पतालमा भेन्टिलेटर मात्र नभइ सामान्य अक्सिजन शय्यासमेत अभाव भएपछि घरमै मृत्यु भइरहेको छ । अक्सिजन पट जोडिएको शय्या नौ वटा मात्र रहेको प्रतिष्ठानले जनाएको छ । नयाँ जडान गरिएको ६ भेन्टिलेटर पनि बिग्रिसकेको छ ।

प्रकाशित मिति : आश्विन २९, २०७७ बिहीबार  १२ : ३४ बजे