Logo

कर्पोरेट फोकस

बैंकहरुले ‘धितो लिलामी’ आतंक मच्चाएको व्यवसायीको आरोप, हस्तक्षेप गर्न राष्ट्र बैंकसँग माग



काठमाण्डौ । नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकको ब्याजदरमाथि नेपाल राष्ट्र बैंकले हस्तक्षेप गर्नुपर्ने जनाएको छ ।

महासंघका अध्यक्ष कुमार कार्कीद्वारा जारी विज्ञप्तिमा बैंकहरुले अचाक्ली ब्याजदर बढाएको भन्दै राष्ट्र बैंकले हस्तक्षेप जरुरी रहेको उल्लेख छ । ‘ब्याजदर एक अंकमा हुनुपर्छ’, विज्ञप्तिमा भनिएको छ, ‘बैंकहरुले धितो लिलामीको आतंक मच्चाएको छ ।’

करोडौँ रकम पर्ने धितोमा रहेको घरजग्गा पचाउने नियतले बैंकहरुले ३५ दिने सूचना निकाल्ने गरेको महासंघको आरोप छ । संकटको बेलामा सामान्य मानवीयतासमेत बैंकहरुले नहेर्ने भन्दै महासंघले ३५ दिने सूचनालाई बढाएर ६ महिना बनाउनुपर्ने माग गरेको छ ।

‘संकटको अवस्थामा सामान्य मानवीयता पनि नहेरी पत्रपत्रिकामा ३५ दिने सूचना निकाल्ने र करोडौँ मूल्य पर्ने सम्पत्तिलाई थोरै ऋण लिएका भरमा लिलामी गरेर वित्तीय संस्थाले असुल गर्ने कोसिस गरेको पाइएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘धितो लिलामी गर्ने सूचना ३५ दिन होइन कम्तीमा पनि ६ महिना हुनुपर्छ र लिलामी गर्नुअघि ऋण चुक्ता गर्न १ वर्षको अवधि दिनुपर्छ ।’

बैंकहरुले ओडीलगायतका कर्जा ठप्पै बनाउँदा धेरै व्यवसायीहरु व्यवसाय नै बन्द गर्ने अवस्थामा पुगेको विज्ञप्तिमा उल्लेख छ । ब्याजदरमाथि हस्तक्षेप मुख्य अजेन्डा बनाएको महासंघको विज्ञप्तिमा भनिएको छ, ‘उद्योगी–व्यवसायीलाई ऋण चुक्ताका लागि अनावश्यक दबाब दिने काम रोक्न, सहज रुपमा ऋण उपलब्ध गराउन, धितो लिलामको समयावधि बढाएर ६ महिना पुर्याउन र ब्याजदरलाई समेत एकल अंकमा झार्ने गरी आवश्यक नीति तर्जुमा गर्नुपर्छ ।’

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार १४:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।