Logo

मधेश प्रदेश

सिर्सिया नदी प्रदुषणमा उद्योग जिम्मेवार, फोहोर पानी नदीमा मिसाउने उद्योगलाई कारबाहीको चेतावनी



वीरगंज । सिर्सिया नदी प्रदुषण नियन्त्रण गर्न त्यस क्षेत्रका उद्योगहरुको अनुगमन सुरु गरिएको छ । नदी आसपास रहेका उद्योगहरुका कारण सिर्सिया फोहोर भएकाले प्रदुषण नियन्त्रणका लागि ‘सिर्सिया नदी प्रदुषण नियन्त्रण अभियान’ले अनुगमन गरेको हो ।

मंगलबार वीरगञ्ज महानगरपालिका २१ सिर्सिया आसपास रहेका ४ वटा उद्योगको अनुगमन गरिएको हो । अनुगमनका क्रममा ती उद्योगहरुले त्यहाँबाट निस्कने फोहोर सोझै नदीमा मिसाउने गरेको भेटिएको अनुगमनमा खटिएका जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिए ।

टोलीले श्री निधी टेक्सटायल्स प्रालि, ब्रिटानीय नेपाल प्रालि, शक्ति दाल मिल र शक्ति वायरको अनुगमन गरेको थियो । अनुगमनका क्रममा निधी टेक्सटायल्सले उद्योगबाट निस्केको फोहोर पानी सोझै नदीमा मिसाइदिने गरेको पाइयो । यो उद्योगले दैनिक डेढ लाख लिटर केमिकल सहितको फोहोर पानी उद्योगबाट सोझै सिर्सिया नदीमा मिसाउने गरेको भेटिएको हो । उद्योगले अहिलेसम्म पनि वाटर ट्रिटमेण्ट प्लाण्ट नराखेको र फोहोर पानी नदीमा फाल्ने गरेको वीरगञ्ज महानगरपालिका वातावरण शाखाका प्रमुख देवेन्द्र चौधरीले बताए । यो उद्योगले फोहोर पानीका साथै नदी दुर्गन्धित बनाउने खरानी पनि नदीमै फाल्ने गरेको भेटिएको उनले बताए । उद्योगलाई अनुगमन टोलीले तत्काल वाटर ट्रिटमेण्ट राख्न र फोहोर पानी सोझै नदीमा नमिसाउन आग्रह गरेको छ ।

यस्तै विस्कुट उत्पादन गर्ने ब्रिटानीयाले ट्रिटमेण्ट प्लाण्ट हुँदाहुँदै पनि पानी प्रशोधन नगरी फोहोर पानी सोझै नदीमा मिसाइदिने गरेको स्थानीयको आरोप छ । टोलीले पनि पानी प्रशोधन नगरी सोझै नदीमा मिसाएको भेटेको थियो । यस्तै शक्ति वायर उद्योगले त्यहाँबाट निस्केको पानी जम्मा गर्न पोखरी बनाएको भए पनि प्रभावकारी नहुँदा फोहोर पानी नदीमा नै मिसिन पुगेको भेटिएको चौधरीले बताए ।

नदीलाई दुर्गन्धित बनाउने गरी लेदोसहितको फोहोर पानी फाल्ने उद्योगलाई आज पहिलो पटक चेतावनी दिइएको र आउँदा दिनमा यस्तो कार्य दोहोरिए सोझै कारबाही गरिने अनुगमनमा गएका महानगरका उपमेयर इम्तियाज आलमले बताए । सिर्सिया नदी सफा बनाउने अभियनमा उद्योगीले आफ्ना उद्योगमा ट्रिटमेण्ट प्लाण्ट राखेर सहयोग गर्नु पर्नेमा जिम्मेवारीबाट पन्छिँदै आफ्नो स्वार्थ मात्रै नहेर्न उद्योगीहरुलाई आग्रह गरे ।

उपमेयर आलमको नेतृत्वमा गएको टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी पौडेल, महानगरको वातावरण शाखाका देवेन्द्र चौधरी, नेपाल प्रहरी लगायतको सहभागिता रहेको थियो । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको सक्रियतामा आइतबार बसेको बैठकले नदी प्रदुषण नियन्त्रणका लागि उद्योगको अनुगमन गर्ने निर्णय गरेको थियो । सोही अनुरुप मंगलबारबाट उद्योगको अनुगमन सुरु भएको हो ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलवार १८:३६   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।