प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार पदवहाली गरेलगत्तै मन्त्रिपरिषद्को बैठक आव्हान गरेका थिए । आफ्ना मन्त्रालयमा पदवहाली गरेपछि तीन उपप्रधानमन्त्रीहरु विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र रवि लामिछाने मन्त्रिपरिषद् बैठकमा भाग लिन प्रधानमन्त्री कार्यालय पुगे ।
मन्त्रालयको जिम्मेवारी तोक्न बाँकी रहेका मन्त्रीहरु समेत मन्त्रिपरिषद्को बैठकमा सहभागी थिए । प्रधानमन्त्री भएपछि प्रचण्डले मन्त्रिपरिषद्को पहिलो बैठक बोलाएका हुन् ।
बैठक सुरु भएपछि प्रधानमन्त्री प्रचण्डले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई तत्कालका लागि सरकारको प्रवक्ता बन्न भनेका थिए । अन्य मन्त्रीहरुले पनि प्रचण्डको प्रस्तावलाई सहजै स्वीकारे । तर गृहमन्त्री लामिछानेले सरकारको प्रवक्ता बन्ने प्रधानमन्त्री प्रचण्डको प्रस्ताव अस्वीकार गरेको स्रोतले बताएको छ ।
बैठकमा केही असहजता देखिएको थियो। प्रधानमन्त्री प्रचण्डले दिन लागेको जिम्मेवारी रविले स्वीकार गरेनन् । ‘प्रधानमन्त्रीज्यूले यो मैले गरेको निर्णय हो, सूचना र सञ्चार प्रविधिमन्त्री नियुक्त नभएसम्म तत्कालका लागि रविजीले सरकारको प्रवक्ता बनिदिनुहोस् भन्नु भएको थियो, तर गृहमन्त्रीज्यूले मान्नु भएन ।’,बैठकमा सहभागी एक मन्त्रीले अन्नपूर्णलाई बताए ।
‘प्रधानमन्त्रीज्यूले केही असहज मान्नु भयो’, उनले भने । केहीबेरको सवाल–जवाफपछि प्रधानमन्त्री प्रचण्डले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललाई सरकारको प्रवक्ताको जिम्मा दिएका हुन् । उपप्रधानमन्त्री पौडेलले प्रधानमन्त्रीको प्रस्ताव सहजै स्विकारे पनि । गृहमन्त्रीको जिम्मेवारी सम्हादै गर्दा लामिछानेले आफू मन्त्रिपरिषद्मा समेत प्रतिपक्षको रुपमा आवाज उठाउने भनेका थिए ।




















प्रतिक्रिया