Logo

अर्थ

बैंक तथा वित्तीय संस्था परिसङ्घको अध्यक्षमा पवन गोल्यान सर्वसम्मत



बैङ्क तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) को तेस्रो वार्षिक साधारणसभाले एनएमबी बैङ्कका अध्यक्ष पवनकुमार गोल्यानको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

आइतबार बसेको साधारणसभाले वरिष्ठ उपाध्यक्षमा भोजबहादुर शाह र राजेश उपाध्याय, महासचिवमा राजनसिंह भण्डारी, कोषाध्यक्षमा तुलसीराम अग्रवाल, सचिवमा कुशप्रसाद मल्ली र सह कोषाध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठलाई सर्वसम्मत चयन गरेको हो ।

त्यस्तै, सदस्यहरूमा उपेन्द्र केशरी न्यौपाने, उपेन्द्रप्रसाद पौडेल, लिलाप्रकाश सिटौला, मोतिलाल दुगड, राधेस पन्त, महेन्द्रकुमार गोयल, भरतराज ढकाल र हिरेन्द्रमान प्रधान चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष पवनकुमार गोल्यानले सिबिफिनले स्थापनाको छोटो अवधिमै प्राप्त गरेको विरासतलाई थप उचाइमा पुर्‍याउँदै मूलतः बैङ्किङ क्षेत्रको साझा संस्थाको रुपमा विस्तार गर्ने बताए । “बैङ्किङ क्षेत्रको सुधार, विकास एवं विस्तारमा केन्द्रित गर्दै समग्र राष्ट्रको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुर्‍याउने अभिन्न सहयोगी संस्थाको रूपमा सिबिफिनलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु ।”, गोल्यानले भने ।

बैङ्क तथा वित्तीय संस्थाहरूले सरकार, नियामक निकाय र सरोकारवाला संस्थासँग निरन्तर सहकार्य गर्दै उनले तीव्र आर्थिक गतिविधिमार्फत राष्ट्रको अर्थतन्त्रलाई सबल र आत्मनिर्भर बनाउने दिशामा केन्द्रित हुन आवश्यक रहेको बताए ।

प्रकाशित मिति : २५ पुष २०७९, सोमबार १७:४९   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।