Logo

प्रमुख समाचार

उपप्रधानमन्त्रीसहित राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सरकारमा जाने



राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन आफै पार्टीको नेतृत्व गर्दै सरकारमा जाने भएका छन् । अनलाइनपानासंग टेलिफोनमा कुराकानी गर्दै राप्रपा अध्यक्ष लिङ्देन उपप्रधानमन्त्रीसहित सात दलीय गठबन्धन सरकारमा सहभागी हुन जाने बिषयमा कुराकानी भएको र पार्टीले संसदीय दललाई नै टुङगो लगाउन अनुमति दिएको बताए ।

सरकारमा गएर काम गरेर देखाउने कुरामा पार्टी भित्र सहमति भैसकेको छ । तर सरकारको नेतृत्व गरेका दलहरुले पनि सहभागी हुनुस् त भन्नु परो नि ? उनले भने ।

यता प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार र बिहीबार भएको मन्त्रालय भागबन्डासम्बन्धी छलफलमा भागबन्डाबारे मोटामोटी सहमति भइसकेको छ । सो सहमतिलाई गठबन्धन बैठकबाट अन्तिम रूप दिइएपछि मन्त्रिपरिषद् विस्तारको बाटो खुल्नेछ ।

ओली र प्रचण्डबीचको छलफलमा राप्रपाले मागेअनुसार उपप्रधानमन्त्रीसहित तीन मन्त्रालय दिनेबारेमा सहमति जुटेको बताइएको छ । राप्रपाले ऊर्जासहितका मन्त्रालय मागेको बताइएको छ ।

‘पार्टीले यसअघिकै कार्यसम्पादन समितिको बैठकबाट एक दर्जन हाराहारीमा माग राखेको थियो । त्यो मध्ये कतिपय विषय सरकारको नीति तथा कार्यक्रमबाट सम्बोधन भइसकेपछि अब पनि सरकारमा नजाने भन्ने हुँदैन’, राप्रपाका एक नेताले भने, ‘पार्टी अब सरकारमा जान्छ, यसबारे पार्टीमा बैठक बसेर निर्णय हुन्छ ।’

राप्रपाको माग अनुसार नै सरकारले पृथ्वी जयन्तीमा बिदा दिएको थियो भने भ्रष्टाचार र सार्वजनिक सेवा प्रवाहलगायतका विषयमा पनि नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको छ । उसो त राप्रपा प्रदेश सरकारहरूमा पनि सहकार्य गर्दै सहभागी भइसकेको छ ।

१४ सिट रहेको राप्रपाबाट लिङ्देनबाहेक अरु को–को मन्त्री बन्ने भन्नेबारेमा भने स्पष्ट भइसकेको छैन । राप्रपामा मन्त्रीको आकाङ्क्षीहरू धेरै भएकाले पार्टीमा छलफल गरेर अन्तिम निर्णय लिइने ती नेताको भनाइ छ ।

पुस १० गते प्रचण्डले १७० सांसदको हस्ताक्षरसहित राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीमा दाबी पेस गर्दा राप्रपाले पनि समर्थन गरेको थियो । समर्थन गरे पनि सरकारमा जाने कि नजाने भन्नेमा सो पार्टीमा तीव्र बहस हुँदै आएकामा अन्ततः सरकारमा जाने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २९ पुष २०७९, शुक्रबार ०८:१४   :  बजे

324
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।