जनकपुरधाम । मधेश प्रदेशको सभामुखमा सत्ता गठबन्धनबाट नेकपा एमालेका रामचन्द्र मण्डलले उम्मेदावरी दर्ता गराएका छन् । सत्तारुढ गठबन्धनको भागवन्डामा मधेशको सभामुख एमालेले लिने सहमति भएको थियो । सोही सहमतिअनुसार एमालेका मण्डलले उम्मेदवारी दिएका हुन् ।
एमालेका मण्डललाई कांग्रेस र नेकपा एकीकृत समाजवादीबाहेकका अरु राजनीतिक दलले समर्थन गरेका छन् । यता कांग्रेसबाट जंगीलाल यादवले सभामुखमा उम्मेदवारी दर्ता गराएका छन् । यादवलाई एकीकृत समाजवादीले समर्थन गरेको छ ।
प्रदेशसभामा २३ सांसदसहित नेकपा एमाले पहिलो, २२ सांसदसहित नेपाली कांग्रेस दोस्रो र १६ सांसदसहित जनता समाजवादी पार्टी (जसपा) तेस्रो र १३ सांसदसहित जनमत पार्टी चौथो दल छन् ।
यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र माओवादी केन्द्रका ९–९, एकीकृत समाजवादीको ७ सांसद छन् भने नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका १–१ जना सांसद छन् । यस्तै पाँचजना स्वतन्त्र सांसद छन् । सभामुख चयनका लागि माघ २ गते मतदान हुँदैछ ।





















प्रतिक्रिया