Logo

धर्म / संस्कृति

तीस वर्षदेखि रोकिएको नित्यपूजा सञ्चालन गर्न बज्रबाराहीमा महायज्ञ




काठमाडौँ । ३० वर्षदेखि रोकिएको नित्य पूजा सञ्चालनका लागि अक्षयकोष स्थापना गर्न बज्रबाराही मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । खर्च अभावका कारण रोकिएको नित्यपूजा सञ्चालन गर्न महायज्ञ सञ्चालन गर्न लागिएको बज्रबाराही आगंछेँ देवघर व्यवस्थापन समितिका अध्यक्ष वासुदेव कर्माचार्यले बताएका छन् ।

समितिको आयोजनामा आजदेखि सुरु भएको महायज्ञ यही माघ ८ गतेसम्म सञ्चालन हुनेछ । गोदावरी नगरपालिका–११ चापागाउँमा अवस्थित बज्रबाराहीदेवी मन्दिर परिसरमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा मुख्य कथावाचक पण्डित कपिलदेव भट्ट रहेका छन् । काठमाडौँ उपत्यकामा चारतिर चार बाराही मन्दिर छन् । उत्तरमा श्वेतबाराही, पूर्वमा निलबाराही, पश्चिममा धुमबाराही र दक्षिणमा बज्रबाराही पर्दछन् । त्यहीमध्येको बज्रबाराही बाराहको स्त्रीलिङ्गी रुप हो । बज्रबाराही देवस्थल चापागाउँको पूर्वी क्षेत्रमा पर्दछ ।

यसको पूर्वतिर झरुवारासी, बडिखेल, दक्षिणतिर लेले, पश्चिमतिर पागल वन, नख्खु खोला, छम्पी एवं उत्तरतिर ठेंचो पर्दछ । बज्रबाराही बाहेक अरु तीन बाराहीमा हालसम्म दैनिक नित्य पूजा सञ्चालन हुँदै आइरहेको छ । माघ ७ गतेसम्म सो धार्मिक काम सुरु गरिने श्री बज्रबाराही आगंछेँ देवघर व्यवस्थापन समितिका अध्यक्ष कर्माचायले बताए ।

महायज्ञको शुभारम्भमा ललितपुर क्षेत्र नं १ का सङ्घीय सांसद उदयशमशेर राणाले सबैले मिलेर महायज्ञलाई सफल बनाउँदै अक्षयकोष स्थापना गर्न महत्वपूर्ण योगदान गर्नुपर्ने बताए । “बज्रबाराही मन्दिर हाम्रो महत्वपूर्ण सम्पदा हो, यहाँको मूर्त तथा अमूर्त सम्पदा संरक्षणमा हामीहरु सबै मिलेर लाग्नुपर्छ”, उनले भने ।

त्यस्तै ललितपुर क्षेत्र नं २ का सङ्घीय सांसद प्रेमबहादुर महर्जनले पूर्खाले जोडेर छाडेको भौतिक सम्पदा र अमूर्त सम्पदाको संरक्षण गर्ने लक्ष्य आफ्नो निरन्तर सहयोग हुने बताए । गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले पूर्खाले चलाएको प्रचलनको संरक्षण गर्न नसक्दा नित्य पूजा सञ्चालन गर्न पनि महायज्ञ लगाउनुपर्ने अवस्थामा पुगेको उनको भनाई छ ।

सात दिन महायज्ञ लगाएर उठेको रकमबाट अक्षयकोष खडा गरी धेरै वर्ष अघिदेखि रोकिएको कामलाई निरन्तरता दिने समितिका सल्लाहकार विश्वनाथ न्यौपानेले जानकारी दिए । बज्रबाराही देवीको मन्दिर लगभग २० हेक्टर जमिनकोबीचमा रहेको छ । नेपाल संवत् ७१९ मा श्रीराजदेव मल्लले चापागाउँ आगंछेँमा सो देवीको स्थापना गरेको र पछि सो संवत् ७८६ मा श्रीनिवास मल्लले देवीको मन्दिर निर्माण गरेको समितिका अध्यक्ष कर्मार्चायले जानकारी दिए । बज्रबाराहीको जङ्गलमा विभिन्न जडीबुटी तथा वनस्पति प्रशस्त पाइन्छन् ।

प्रकाशित मिति : माघ २, २०७९ सोमबार  २ : ०८ बजे