भोजपुर । व्यावसायिक रुपमा सुन्तला खेती गर्दै आएका किसान राम्रो आम्दानी लिन सफल भएका छन् । विगतमा यहाँको स्थानीय बजारमा मात्र बिक्री हुने सुन्तला सडकका कारण अहिले धेरै जसो बाहिरका जिल्लामा पुग्न थालेपछि किसानले राम्रो मूल्य पाएका हुन् । राम्रो बगान भएका किसानले वार्षिक रु छदेखि १० लाखसम्म आम्दानी गर्दै आएका छन् ।
टेम्केमैयुङ गाउँपालिकाको खावा केराबारी, अन्नपूर्ण, छिनामखु, कोट, गोगनेसँगै भोजपुर नगरपालिकाको दावा, बोमिख, पोखरे तथा षडानन्द नगरपालिका, हतुवागढी गाउँपालिका र रामप्रसाद राई गाउँपालिकामा सुन्तला बढी उत्पादन हुने गरेको छ । टेम्केमैयुङ–५ खावा केराबारीका चण्डालकुमार राईले यो व्यावसायबाट राम्रो आम्दानी गरिरहेको बताए ।
आफ्नो बगानमा रहेका सुन्तला र बिरुवा बिक्रीबाट वार्षिक रु सातदेखि १० लाखसम्म आम्दानी लिने गरेको उनको भनाइ छ । “मैले सुन्तला खेतीबाट राम्रो आम्दानी लिँदै आएको छु”, कृषक राईले भने, “व्यावसायिक रुपमा सुन्तला खेतीबाट राम्रो आम्दानी लिन सकिन्छ, मेरो बगानमा चार सय बोट सुन्तलाका छन् ।”राईले ४४ वर्षअघिदेखि सुन्तला व्यवसायमा लागेको बताए ।
व्यावसायिक सुन्तला खेतीमा लागेका उनी विभिन्न समयमा उत्कृष्ट कृषकका रुपमा सम्मानितसमेत बनेका छन् । ठेकेदारले बगानबाटै सुन्तला किन्ने गरेका छन् । आफैँले बिक्री गर्न बजारसम्म लैजान सके राम्रो मूल्य लिन सकिने उनको भनाइ छ । यहाँको सुन्तलाको मुख्य बजार धरान, इटहरी, विराटनगर र काठमाडौँ रहेको राईले बताए ।
यो क्षेत्रका अधिकांश किसानले व्यावसायिक रुपमा सुन्तला खेती गरिरहेको स्थानीय किसान देवराज राईले बताए । खावा केराबारीका किसानले मुख्य आम्दानीको स्रोतका रुपमा सुन्तलालाई बनाएको उनको भनाइ छ । यहाँको सुन्तलाको बजारमा राम्रो माग रहेको किसान राईले जानकारी दिए । बोक्रा पातलो तथा अन्य ठाउँको सुन्तलाको तुलनामा गुलियो हुने भएकाले केराबारीको सुन्तलाको बजारमा छुट्टै स्थान रहेको उनले बताए ।
सिँचाइ तथा आधुनिक प्रविधिको विकासमा जोड दिनसके अझ राम्रो आम्दानी गर्न सकिने उनको भनाइ छ । पछिल्लो समय यो क्षेत्रका धेरै युवा व्यावसायिक सुन्तला खेती विस्तारमा जुटेको उनले बताए । किसानलाई प्रोत्साहनका कार्यक्रम ल्याउन सके थप सहजता हुने किसानको भनाइ छ । उत्पादन भएको सुन्तला भण्डारणका लागि चिस्यान केन्द्र स्थापना गर्न आवश्यक रहेको उनको भनाइ छ । “किसानलाई उत्पादन भएको सुन्तला भण्डारणमा समस्या छ”, उनले भने, “भण्डारणको व्यवस्था राम्रो नहुँदा एकै पटक बजारमा पठाउनुपर्ने भएकाले किसानले सोचे जस्तो लाभ लिन नसकेको अवस्था छ ।”
टेम्केमैयुङ गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने काम गरिरहेको अध्यक्ष सरोज बस्नेतले बताए । यहाँका नगदेबालीसँगै कृषि तथा पशुपालनमा लागेका किसानलाई प्रोत्साहन गर्ने योजना रहेको उनको भनाइ छ ।“गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने हाम्रो योजना नै छ”, अध्यक्ष बस्नेतले भने, “यहाँका हाम्रो सबै नौवटै वडामा सुन्तला फल्छ, सुन्तलाबाट राम्रै आम्दानी गरिरहेको अवस्था पनि छ, यसलाई थप प्रोत्साहन गर्न विभिन्न खेतीमा लागेका किसानको तथ्याङ्क सङ्कलन गरेर प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाको लक्ष्य छ ।”




















प्रतिक्रिया