नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता समीकरणमा फेरबदल ल्याउने उद्देश्यसहित निःवर्तमान गृहमन्त्री रवि लामिछानेलाई नागरिकता प्रकरणमा मुद्दा हालिएको दाबि गरेका छन् ।
एमाले महासचिव पोखरेलले सत्ता समीकरणमा फेरबदल ल्याउन सकिन्छ कि भनेर निःवर्तमान गृहमन्त्री लामिछानेलाई नागरिकता प्रकरणमा मुद्दा हालिएको बताएका हुन् ।
आइतबार एजेन्सीसँग कुराकानी गर्दै उनले लामिछानेको नागरिकता प्रकरणले सत्ता समीकरणमा फेरबदल नहुने स्पष्ट पारे । उनले राजनीतिक मिसन अदालती प्रक्रियाले उत्पन्न गरेको प्रश्नहरुका कारण नबिथोलिने भन्दै समस्याहरुको समाधान गरिने बताए । उनले विगतमा पिआर लिएर विदेशमा बसेका थुप्रै व्यक्तिहरु नेपाल फर्किंदा स्वतः नेपाली नागरिक भएका आम अभ्यास रहेको भएपनि कसैले प्रश्न नउठाएको बताए ।
उनले भने– ‘सामान्यतया अभ्यासमा के हुनेगर्छ भन्ने कुरालाई उहाँले आम अभ्यासलाई रवि लामिछानेले प्रयोगमा ल्याउनु भयो । आम अभ्यासमा जे भइराखेको छ त्यही अभ्यासमा उहाँ हिँड्न खोज्नुभयो । तर अदालतले चाहीँ भाषालाई समात्यो ।
मुद्दा परिसकेपछि अदालतले भाषालाई समाउने कुरा चाहीँ स्वभाविक पनि होला । तर नेपालका सन्दर्भमा भन्ने हो भने थुप्रै व्यक्तिहरु पिआर लिएर विदेशमा बसेकाहरु फर्केर आउँदाखेरी स्वतः नेपाली नागरिक भएका छन् । कसैले प्रश्न उठाएको छ र ? पिआर लिएका व्यक्तिहरुले पिआर परित्याग गरेको घोषणा गरेर त्यसपछि फेरि नयाँ प्रक्रियाबाट नागरिकता प्राप्त गरेको सुन्नुभएको छ ? तर रवि लामिछानेको हकमा यसलाई विषय बनाइयो ।
उनले भने, किन बनाइयो भन्दाखेरी कतै यो विषयलाई अगाडि बढाएर सत्ता समीकरणमा फेरबदल ल्याउन सकिन्छ कि भन्ने अर्थमा यसलाई मुद्दा बनाइयो । तर यसले उनीहरुले सोचेजस्तो काम गर्दैन । किनकी राजनीतिक मिसन भनेको अदालती प्रक्रियाले उत्पन्न गरेका प्रश्नका कारणले विथोलिने होइन ।
राजनीति भनेको त्यो भन्दा माथिको चिज हो । त्यस अर्थमा हामी यसलाई राजनीतिक ढंगले ट्याकल गर्छौं । समाधान गर्छौं भन्नेकुरा नै मुख्य कुरा हो भन्ने मलाई लाग्छ ।




















प्रतिक्रिया