Logo

अर्थ

कालिञ्चोक दर्शनको आईपीओ बाँडफाँट




काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको आईपीओ आज बिहीबार बाँडफाँट भएको छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङको काठमाडौंको नक्सालस्थित कार्यालयमा बिहान ९:३० बजे बाँडफाँट गरिएको हो ।

कम्पनीले गत माघ ३ गतेदेखि माघ ६ गतेसम्म सर्वसाधारणका लागि १० करोड ८० लाख रुपैयाँबराबरको १० लाख ८० हजार कित्ता आईपीओ जारी गरेको थियो । जसमा १० प्रतिशतले हुन आउने १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिसकेको थियो ।

कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ५४ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको थियो। बाँकी ८ लाख ९६ हजार ४०० कित्ता सर्वसाधारणले आवेदन दिएका छन् ।

यो आईपीओमा निष्कासनको अन्तिम दिनसम्म १४ लाख ७३ हजार ९६९ आवेदकले कुल १ करोड ६६ लाख ७० हजार ९९० कित्ताका लागि आवेदन दिएका थिए। जसमा १४ लाख ६५ हजार ७६३ आवेदकबाट परेको १ करोड ६५ लाख ६६ हजार २३० कित्ता सदर भएको छ भने बाँकी ८ हजार २०६ आवेदकबाट १ लाख ४ हजार ७६० कित्ता बदर भएको छ ।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँट गरिएको छ । जसमा भाग्यमानी ८९ हजार ६४० जनाले मात्र सेयर हात पारेका छन् । सदर आवेदकमध्ये १३ लाख ७६ हजार १२३ आवेदकको हात खाली भएको छ । आईपीओ बाँडफाँडको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार ११:३३   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।