Logo

अनलाइनपाना खोज

कुमारी र प्रभु बैंकसहित ४ बाणिज्य बैंकमाथि राष्ट्रबैंकको नियामकीय डण्डा, ५० लाखका दरले जरिवाना



नेपाल राष्ट्र बैंकले नियम उल्लङ्घन गर्ने ४ वटा वाणिज्य बैंकमाथि कारबाही गरेको छ । राष्ट्र बैंकको सुपरिवेक्षण विभागले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा विभिन्न नियम मिचेको भन्दै बैंक र बैंकका अध्यक्ष, संस्थापक र प्रमुख कार्यकारी अधिकृतलाई कारबाही गरेको हो ।

विभागले ४ बैंकमा, प्रभु बैंक, कुमारी बैंक, साबिकको बैंक अफ काठमाण्डू र प्राइम बैंकलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन र निर्देशनको उल्लंघन गरेकोले जरिवाना गरेको छ। यी चारवटै बैंकलाई ५० लाख रुपैयाँका दरले जरिवाना गरिएको छ ।

शंकास्पद पैसा ओसारपसार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका अछामका पृथ्वीबहादुर शाह, उनका निकटतम व्यक्ति र संस्थाको रोक्का रहेको बैंक खाताबाट बैंकले रकम निकाल्न अनुमति दिएको थियो । त्यसैले राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा जारी निर्देशन उल्लंघन गरेको आरोपमा बैंकलाई कारबाही गरेको हो।

विभागका अनुसार प्रभु बैंकलाई अन्य कारबाहीअन्तर्गत नेपाल राष्ट्र बैंक इ.प्रा. निर्देशन नं. १२÷०७८ (कर्जा सूचना तथा कालोसूचीसम्बन्धी व्यवस्था)को बुँदा १० उपबुँदा २ को (ङ)मा भएको व्यवस्था पालना नगरेको पाइएकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा १ (क) बमोजिम बैंकलाई सचेत गराइएको छ ।

राष्ट्र बैंकका अनुसार प्रभु र माछापुच्छ्रे बैंक दुईवटा शीर्षकमा कारबाहीमा परेका छन्। यी सबै बैंकलाई दोस्रो त्रैमासमा प्रथमपटक कारबाही गरिएको विभागले स्पष्ट पारेको छ ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार १८:३३   :  बजे

303
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।