काठमाडाैँ । एसियन हाइड्रोपावर लिमिटेडको आईपीओ आज (आइतबार) बाँडफाँड गरिएको छ ।
आईपीओ बाँडफाँड कार्यक्रम धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा गरिएको हो । आईपीओ बाँडफाँड कार्यक्रम बिहान ९ बजे राखिएको थियो ।
कम्पनीले गत माघ २७ गतेदेखि फागुन ३ गते सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो । कम्पनीले जारी पुँजी ३४ करोड रुपैयाँको २४.७१ प्रतिशतले हुन आउने १०० अंकित दरका कुल ८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको थियो । जसमा १० प्रतिशतले हुन आउने ८४ हजार कित्ता सेयर कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको थियो ।
अब बाँकी रहेको सेयरमा पनि ५ प्रतिशतले हुन आउने ४२ हजार कित्ता सामुहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १६ हजार ८०० कित्ता कर्मचारीलाई छुट्याएको थियो। बाँकी ६ लाख ९७ हजार २०० कित्ताका लागि सर्वसाधारणले खरिद आवेदन दिएका छन् ।
यो आईपीओमा निष्कासको अन्तिम साँझ ५ बजेसम्म १४ लाख ३२ हजार २२२ आवेदकबाट १ करोड ५५ लाख २५ हजार ४०० कित्ताका लागि खरिद आवेदन परेको थियो । जसमा १४ लाख २५ हजार ७२० आवेदकबाट परेको १ करोड ५४ लाख ४५ हजार ८२० कित्ता सदर भएको छ भने बाँकी ६ हजार ५०२ आवेदकबाट परेको ७९ हजार ५८० कित्ता बदर भएको छ ।
आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको थियो । जसमा भाग्यमानी ६९ हजार ७२० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् । १३ लाख ५६ हजार आवेदकको हात खाली भएको छ ।




















प्रतिक्रिया