काठमाडौँ । प्रभु क्यापिटलले आज (फागुन १८ गते) देखि प्रभु स्मार्ट फण्ड निष्काशन तथा बिक्री खुला भएको छ । क्यापिटलले ८० करोड रुपैयाँ बराबरको प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका ८ करोड इकाई निष्काशन गर्न लागेको हो ।
सोमध्ये १ करोड १२ लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १४ प्रतिशत इकाई कोष प्रबर्द्धक प्रभु बैंक लिमिटेडलाई सुरक्षित राखिएको छ भने १ प्रतिशत वा ८ लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडलाई सुरक्षित राखिएको छ । सर्वसाधारणले बाँकी ६ करोड ८० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् ।
प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो फण्ड एक बन्दमुखि योजना हो। यसको अवधि बाँडफाँट भएको मितिले १० वर्ष हुनेछ । निष्काशन बन्द छिटोमा फागुन २३ गते हुनेछ भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि चैत ५ गतेसम्म लम्बिनेछ। लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ८० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् ।
यस योजनाले औसत वार्षिक प्रतिफल २५.५८ प्रतिशत वितरण गर्ने लक्ष्य राखेको छ । १० वर्षमा कुल प्रतिफल २५५.७५ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
म्युचुअल फण्ड निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले योजना व्यवस्थापकलाई केयर एनपी एएमसी क्वालिटी ३ (एएमसी३) रेटिङ्ग प्रदान गरेको छ भने कोष प्रबद्र्धकलाई इक्रा नेपालले इक्रा एनपि इस्यूअर रेटिङ त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ । यसले इस्यूअरमा मध्यम कर्जा जोखिम रहेको र वित्तीय दायित्व बहन गर्ने मामलामा पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ ।
प्रतिक्रिया