काठमाडौँ । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ आज (शुक्रबार) बाँडफाँट गरिएको छ । काठमाडाैँ कमलपोखरीस्थित बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड गरिएको हो । आईपीओ बाँडफाँड कार्यक्रममा बिहान १० बजे राखिएको थियो ।
कम्पनीले गत फागुन ४ गतेदेखि फागुन १० गतेसम्म आईपीओ बिक्री गरेको थियो । कम्पनीले १०० अंकित दरका कुल २७ लाख २८ हजार ५०० कित्ता आईपीओ बिक्री गरेको थियो । जसमा १० प्रतिशतले हुन आउने २ लाख ७२ हजार ८५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गरिएको थियो । त्यस्तै ५ प्रतिशतले हुन आउने १ लाख ३६ हजार ४२५ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ५४ हजार ५७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी २२ लाख ६४ हजार ६५५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका छन् ।
सीडीएससीका अनुसार अन्तिम दिनसम्म मोलुङ खोलाको आईपीओमा करिब १४ लाख २४ हजार ३५१ आवेदकबाट कुल १ करोड ५५ लाख ७९ हजार ८०० कित्ताका लागि खरिद आवेदन दिएका छन् । जसमा १४ लाख १७ हजार ३४६ आवेदकबाट माग भएको १ करोड ५४ लाख ७८ हजार ८५० कित्ता सदर भएको छ भने ७ हजार ५ आवेदकबाट माग भएको १ लाख ९५० कित्ता बदर भएको छ ।
मागभन्दा ६.८८ गुणा बढी आवेदन परेकै कारण यो आईपीओ पनि गोलाप्राथबाट बाँडफाँट गरिएको छ । गोलाप्राथबाट भाग्यमानी २ लाख २६ हजार ४६५ जनाले १० कित्ताका दरले सेयर पाएका छन् । तिनै भाग्यमानीमध्ये २० कित्ताभन्दा बढी आवेदन दिने ५ जनाले थप १–१ कित्ता सेयर पाएका छन् । यस हिसाबले सदर आवेदकमध्ये ११ लाख ९० हजार ८८१ जनाको हात खाली भएको छ ।




















प्रतिक्रिया