Logo

टिप्पणी

कांग्रेसलाई अप्रत्यासित रुपमा यसरी प्राप्त भएको थियो प्रथम राष्ट्रपति पद



गणतन्त्र प्राप्तिपछि नेपालमा हुन गइरहेको राष्ट्रपतिको अबको निर्वाचन चौथो पटकको निर्वाचन हो । पहिलो निर्वाचन राजतन्त्र विधिवत अन्त्य भएको झण्डै दुई महिना अर्थात वि.स. २०६५ साउन ४ गते भएको थियो । तत्कालीन समयमा माओवादी सबैभन्दा ठूलो दल थियो भने कांग्रेस दोस्रो र एमाले तेस्रो स्थानमा थिए । माओवादी एक्लैले ५७५ मध्ये २२० सिट जितेको थियो भने कांग्रेसले ११० र एमालेले १०३ सिट जितेका थिए । त्यस्तै ६०१ जनामध्ये माओवादीका २२९, नेपाली कांग्रेसका ११५ र एमालेका १०८ जना सभासद थिए । मधेशी जनअधिकार फोरमको भने ५४ जना सभासद थिए ।

अन्य दलहरुमा तराई मधेश लोकतान्त्रिकका २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका ८, नेपाल कम्युनिष्ट पार्टी मार्कवाद लेनिनवादका ९, सद्भावना पार्टीका ९, जनमोर्चा नेपालका ८, नेपाल कम्युनिष्ट पार्टी एकीकृतका ५, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका ४, राष्ट्रिय जनमोर्चाका ४ लगायत सभासद थिए । एमाले र कांग्रेस मिल्दा पनि माओवादीकै बढी सिट थियो ।

त्यतिबेला माओवादीकाे समर्थनबाट रामराजाप्रसाद सिंह र नेपाली कांग्रेसबाट डा. रामबरण यादव राष्ट्रपतिका उम्मेदवार थिए । सिंहले २०६४ काे चुनाव भने हारेका थिए । सिंह ‘जनवादी माेर्चा’का अध्यक्ष थिए । यादवभन्दा सिंह धेरै चर्चित थिए । यादवलाई कमैले चिनेका थिए भने सिंह देशभित्र र बाहिर पनि प्रख्यात थिए । नेपालमा पहिलो पटक राष्ट्रपतिको निर्वाचन हुँदै थियो । उत्साह सबैतिर थियो । शंका पनि सबैतिर । नेपालका राजनीतिक दलहरुको तत्कालीन अवस्था अहिलेभन्दा विश्वासघात पूर्ण थियो ।

फेरि राजतन्त्र अन्त्य गरेको त्यो समय अनि १० वर्षको गृहयुद्ध मच्याएको माओवादी भरखर शान्तिपूर्ण राजनीतिमा ताँनिएको थियो । शक्ति राष्ट्रहरुको चासो त्यस्तै थियो । छिमेकी देश भारतको हस्तक्षेप अहिलेभन्दा अझ सशक्त थियो । कुनै दलले कुनैलाई पनि विश्वास गर्न सक्ने अवस्था थिएन । त्यही पनि माओवादी र केही मधेशवादी दल र अन्य दलहरुको एउटा गठबन्धन थियो भने कांग्रेस, एमाले र केही मधेशवादी दल र अन्य दलहरुको अर्को गठबन्धन बनेको थियो । २५ दलका व्यक्तिहरु सभासद थिए । राष्ट्रपति कसलाई बनाउने भन्ने निर्णायक भूमिका तत्कालीन मधेशी जनअधिकार फोरम नेपालसँग थियो । त्यतिबेलाको चौथो राजनीतिक शक्तिका रुपमा उदाएको फोरम नेपालको मत जता जान्थ्यो, त्यो नै शाक्तिशाली हुन्थ्यो ।

२०६५ साउन ४ गते शनिबार राष्ट्रपति पदका लागि निर्वाचन तोकिएको थियो । निर्वाचनमा संविधानसभामा रहने ६०१ जना सभासदमध्ये जम्मा रहेका ५९४ सभासदले मतदान गर्न सक्थे । २०६५ साउन ४ गते भएको चुनावमा कांग्रेसका उम्मेदवार डा.रामवरण यादवले २८३ मत र तत्कालीन माओवादीका उम्मेदवार रामराजाप्रसाद सिंहले २७० मत पाएका थिए भने २४ मत बदर भएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र नेकपा एकीकृतले त्यतिबेलाको राष्ट्रपति चुनाव नै बहिष्कार गरे । राष्ट्रपति हुनलाई बहुमत आवश्यक हुन्थ्यो । बहुमतका लागि २९८ मत आवश्यक हुन्थ्यो तर कसैको त्यति मत आएन ।

राष्ट्रपतिको दोस्रो चुनावको दिन अर्थात २०६५ साउन ६ गते कांग्रेस संसदीय दलको कार्यालयमा कांग्रेस नेता रामचन्द्र पौडेल, तत्कालीन एमालेका नेता माधवकुमार नेपाल, झलनाथ खनाल, तत्कालीन फोरमको तर्फबाट उपेन्द्र यादव, शरतसिंह भडारी र विजयकुमार गच्छदारको बैठक बस्यो । सो बैठकमा फोरम नेपालले डा.रामवरण यादवलाई राष्ट्रपतिमा सहयोग गर्ने सहमति जुटाइयो र विज्ञप्ति पनि जारी भयो । तत्कालै तत्कालीन तमलोपाका नेता हृदयश त्रिपाठीले विरोध गरे भने फोरम नेपालका कतिपय अरु नेताले पनि त्यो सहमतिको खुलेर विरोध गरे । फोरम नेपालका नेताहरु जेपी गुप्ता, विजयकुमार गच्छदार, अभिषेक प्रताप शाह, नन्दन दत्तलगायतले रामराजाप्रसाद सिंहलाई राष्ट्रपतिमा सहयोग गर्नुपर्ने अडान लिएका थिए ।

कांग्रेसका उम्मेदवार डा यादव नेपाली कांग्रेसबाट स्वास्थ्य राज्यमन्त्री, स्वास्थ्य मन्त्री, साथै पार्टीकाे महासचिव पनि भइसकेका थिए । २०६४ सालमा भने यादवले प्रतिकूलताका बीच पनि धनुषाकाे निर्वाचन क्षेत्र नम्बर ५ बाट चुनाव जिते । उता रामराजाप्रसाद सिंह भने राजा महेन्द्रकाे पालादेखि नै गणतन्त्रकाे वकालत गर्दै हिँडेका थिए । उनलाई सर्वस्वहरणसहित मृत्युदण्डकाे सजाय समेत सुनाइएकाे थियाे । क्युवाका नेता चे ग्वेवाराबाट प्रभावित सिंहले तत्कालीन राजसंस्थालाई नै हल्लाइरहेका थिए । उनले थुप्रै पटक जेल जीवन बिताए । ०६३ सालमा सिंहले तत्कालीन माओवादीको मधेसी मुक्ति मार्चाको सम्मेलनमा भाषण गरेपछि उनी माओवादी निकट भए। जनवादी मोर्चा र माओवादीबीच एकता भए पनि सिंह माओवादीमा गएनन् तर एकीकृत माओवादीको तर्फबाट राष्ट्रपति उम्मेदवार बने।

रामराजाप्रसाद सिंहमाथि षड्यन्त्र भएको आरोप

तत्कालीन माओवादीले आफ्नो उम्मेदवारलाई राष्ट्रपति हुन नदिन ठूलै षड्यन्त्र भएको गुनासो गरे । तर यसमा मुख्य भूमिका फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले खेलेका थिए । उपेन्द्र यादवले तीनटा कारणले कांग्रेसलाई समर्थन गरेको आंकलन माओवादीका नेताहरुले गरे । पहिलो– उपराष्ट्रपति पद, दोस्रो– जातीयता, र तेस्रो– भारतको दवावका कारण उपेन्द्रले डा. यादवलाई राष्ट्रपतिमा सहयोग गरेको आंकलन धेरैले गरे । उपेन्द्र यादवले तराई मधेशका यादव समुदायलाई आकर्षित गर्नका लागि डा.रामवरण यादवलाई समर्थन गरेको आरोप लगाउनेहरु प्रशस्त छन् ।

त्यस्तै, उनले राष्ट्रपतिमा सघाएपछि उपराष्ट्रपति पद आफ्नो पार्टीलाई चाहिन्छ भन्ने शर्त राखे । यो माग उनले तत्कालीन माओवादीका अध्यक्ष प्रचण्डसँग पनि राखेका थिए । तर प्रचण्डले रामराजा प्रसाद सिंह मधेशी समुदायबाटै भएकाले उपराष्ट्रपति पदमा भने पहाडी समुदायबाट प्रतिनिधित्व होस् भनि शान्ता श्रेष्ठलाई उम्मेदवार बनाएका थिए । प्रचण्डको कुरामा उपेन्द्र यादव सहमत भएनन् । कांग्रेसले उपेन्द्र यादवको माग पूरा ग–यो । कांग्रेस र एमालेले पनि तत्कालीन फोरमका उम्मेदवार परमानन्द झालाई उपराष्ट्रपतिमा सघाउन राजी भए । र, फोरमले राष्ट्रपतिमा डा.रामवरण यादवलाई सघायो ।

रामराजा प्रसाद सिंह यति पपुलर थिए कि तत्कालीन फोरम नेपालका सभासदहरु पनि डा.यादवको पक्षमा थिएनन् । जेपी गुप्ता, विजयकुमार गच्छदार, अभिषेक प्रताप शाह, नन्दन दत्तलगायत १७ जना फोरम नेपालका सांसदले रामराजा प्रसाद सिंहलाई मतदान गरेका थिए । त्यतिबेला फोरम नेपालले संसदीय दलको ह्वीप लगाएर कांग्रेसका उम्मेदवार यादवलाई मतदान गर्न भनेको थियो । तर त्यो ‘फ्लोर क्रस’ गरेरै उनीहरुले रामराजाप्रसाद सिंहको पक्षमा मतदान गरे ।

दोस्रो पटक भएको राष्ट्रपति चुनावमा भने कुनै मत पनि बदर भएन, न त पहिला चुनाव बहिष्कार गरेका कसैले चुनाव नै बहिष्कार गरे । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले भने चुनाव बहिष्कार गर्यो । उसका चार जना सभासद थिए । अन्ततः दोस्रो चुनावबाट साउन ७ गते डा.रामवरण यादव ३०८ मतका साथ नेपालको प्रथम राष्ट्रपतिमा निर्वाचित भए । उनका प्रतिद्धन्द्धी रामराजाप्रसाद सिंहले जम्मा २८२ मत पाए । गणतन्त्रको पहिलो राष्ट्रपति हुन नपाएकोमा रामराजा प्रसाद सिंहलाई गहिरो चोट लागेको थियो । राष्ट्रपतिको चुनावपछि उनी गम्भीर बिरामी भए । र, तीन वर्षपछि उनको निधन भयो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलवार १३:५७   :  बजे

636
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।