हेटौंडा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुक ठुलो आर्थिक संकटमा भएको बताएका छन् ।
शनिबार हेटौंडामा आयोजित नेपाल शिक्षक संघ बागमती प्रदेश कार्यसमितिको दोस्रो अधिवेशन उद्घाटन कार्यक्रममा उनले ‘मुलुकले भोगिरहेको चरम आर्थिक संकटबाट बाहिर निकाल्न सकेनौं भने हामी नालायक हुनेछौं । नालायकहरुले देश चलाइरहनुपर्छ, सिंहदरबारमा गैरहनुपर्छ भन्ने मलाई लाग्दैन ।’
अहिलेको १० राजनीतिक दललाई नेतृत्व गरेर ५ बर्षसम्म स्थायी सरकार चलाउने हिम्मत कांग्रेसले राखेको उनको भनाइ छ । सरकारमा गएपछि काम गर्न सकिएन भन्ने छुट अरु पार्टीलाई भएपनि कांग्रेसबाट मन्त्री बन्नेहरुलाई छुट नहुने उनले बताए ।
मुलुकमा आर्थिक समस्या भइरहेका बेला विदेशबाट आयात गरिएका खादा, माला प्रयोग नगर्न उनले अनुरोध गरे । कार्यक्रममा उनले माला लगाउन समेत मानेनन् । उनले भने, ‘केही समयपछि शिक्षक साथीहरुले तलब पाउनुहुन्छ कि हुन्न मलाई थाहा छैन । गुरुले व्यवहाररुपी ज्ञान पनि दिनुपर्छ । बाहिरबाट आएका माला/खादा लगाउदिन भन्ने प्रतिबद्धता गर्नुस् । आर्थिक संकट छ । मोचन गर्नुछ । फजुल खर्च गर्नुहुँदैन । त्यो ज्ञान मैंले तपाईंहरुबाट पाउनुपर्छ ।’
नमुना विद्यालय कस्तो हुनुपर्छ भन्ने उदाहरण दिंदै उनले भने, ‘ठ्याक्कै नाम लिनुपर्दा बुढानिलकण्ठ स्कुल जस्तो । त्यहाँ ३३ प्रतिशतले निशुल्क पढ्छन्, ६७ प्रतिशतले सशुल्क । सशुल्क कसले पढिरहेको छ, निशुल्क कसले पढिरहेको छ थाहा हुँदैन ।’ नेताहरुले पाठ्यक्रमबाट नैतिक शिक्षा झिकेर नथन्काइदिएको भए यति धेरै भ्रष्टाचार नहुने उनले बताए ।




















प्रतिक्रिया