काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथको प्राचीन, ऐतिहासिक तथा धार्मिक महत्व रहेको बताएका छन् ।
आज पशुपतिनाथ क्षेत्रमा श्री राधामाधव समिति नेपालद्वारा जगतगुरु श्री कृपालुजी महाराजको स्मृतिमा निर्माण तथा व्यवस्थापन हुँदै आएको ऐतिहासिक पौराणिक महत्वको वनकाली उद्यानको उद्घाटन गर्दै उनले पशुपतिनाथ मन्दिर नेपालको महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यस्थल भएको बताएका हुन् ।
पशुपति मन्दिर परिसरभित्रको सुरक्षा, सम्भार र विकासमा तल्लीन पशुपति क्षेत्र विकास कोषलाई वनकाली उद्यान हस्तान्तरण भएपछि अझ संरक्षण र विकास हुने उनले बताए ।
“पशुपतिनाथको प्राचीन, ऐतिहासिक तथा धार्मिक महत्व छ । स्वदेश तथा विदेशका तमाम हिन्दू धर्मावलम्वी तथा पर्यटकसमेत आउने यस पावन तीर्थस्थललाई यथोचित रुपमा व्यवस्थित गर्न यस वनकाली उद्यानको विशेष महत्व छ”, उनले भने ।
पशुपति क्षेत्रको विकासका लागि वृहत् गुरुयोजना निर्माण गरी यस क्षेत्रको विकास गर्नुपर्नेमा उनले सुझाव दिए । पशुपति क्षेत्रमा स्वच्छ पिउने पानी, व्यवस्थित शौचालय, पार्किङ्, इन्टरनेट, सूचना बोर्ड, सुरक्षा व्यवस्था जस्ता आधारभूत र अत्यावश्यक सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन सबैको ध्यान जान जरुरी रहेको राष्ट्रपति पौडेलले बताए ।





















प्रतिक्रिया