Logo

धर्म / संस्कृति

आज आमाको मुख हेर्ने दिन, मातातीर्थ कुण्डमा भक्तजनको घुइँचो



काठमाडौं । आज वैशाख कृष्ण औँसी अर्थात् मातातीर्थ औँसी । नेपाली समाजमा यो तिथि आमाको मुख हेर्ने दिनको रूपमा परिचित छ । श्रद्धापूर्वक छोराछोरीले बिहानै नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा दिने र मीठामीठा खानेकुरा खान दिएर आशीर्वाद थाप्ने चलन छ ।

हरेक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा आमाको मुख हेर्ने पर्व मनाइन्छ । दुःखकष्ट खेपेर ९ महिनासम्म कोखमा राख्ने, जन्मिसकेपछि अमृततुल्य दूध र वात्सल्य दिएर हुर्काउने आमाको सम्मानमा यो पर्व मनाइन्छ ।

आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड दिएर सम्झने गर्छन् । ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् भनी शास्त्रमा उल्लेख गरिएको छ ।

शास्त्रमा आमा र जन्मभूमिको महत्त्व दर्शाइएको र विशेषगरी आजका दिन आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभ-आशीर्वाद थाप्ने परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतम बताउछन् ।

त्यस्तै दिवङ्गत आमाका नाममा तर्पण, पिण्डदान र सिदादान गरिन्छ । यस अवसरमा काठमाण्डौको चन्द्रागिरि नगरपालिकामा रहेको मातातीर्थमा मेला लाग्ने गर्छ ।

मातातीर्थ कुण्डमा भक्तजनको घुइँचो

काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा स्नान गर्ने तथा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ ।

प्रत्येक वर्ष बैशाख कृष्णपक्ष औँशीका दिन जन्मदाता आमालाई सम्मान गरी मनाइने मातातीर्थ औँशीमा चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा स्नान गर्ने तथा आमाको प्रतिमाको दर्शन गर्ने भक्तजनको आज बिहानैदेखि घुइँचो लागेको छ । भक्तजन अघिल्लो दिन साँझदेखि नै आमाको सम्झनामा बत्ती बालेर जाग्राम बस्नुका साथै आज बिहान मातातीर्थ कुण्डमा स्नान गर्ने गर्दछन् ।

मातातीर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासले भक्तजनलाई व्यवस्थितरुपमा कुण्डमा स्नान गर्ने व्यवस्था मिलाइएको बताए । उनले यसपटक पाँच लाखभन्दा बढी भक्तजनले मेला भर्ने अनुमान गरिएको बताए ।

मन्दिरका पुजारी फणीन्द्र अधिकारीले मातातीर्थ कुण्डमा दर्शन गरेमा आमा दिवङ्गत हुने छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने विश्वास रहेकाले भक्तजन मातातीर्थ आउने गरेको बताए ।

मातातीर्थ मेलाका अवसरमा आज चन्द्रागिरि नगरपालिकाले आफ्नो नगरपालिकाभित्र सार्वजनिक बिदासमेत दिएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार ०६:२६   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।